सरकारको नौ महिनाको गतिविधिले जनतामा नैराश्य : थापा

जनकपुरधाम, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एउटा धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिता रहनु आपत्तिजनक भएको बताएका छन् ।

मिडिया नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सो कुरा बताउँदै धर्म प्रचारक संस्थाको कार्यक्रममा सरकारको तामझामपूर्ण सहभागिताले बहुसंख्यक हिन्दू आस्थावानप्रति प्रहार भएको बताए ।
सरकारको नौ महिनाको गतिविधिले जनतामा नैराश्य, अनिश्चितता सिर्जना गरेकाले राष्ट्र अराजकताको दल–दलमा फस्ने खतरा देखिएको उनले धारणा राखे ।
विदेशीको दबाब र प्रभावमा धर्म निरपेक्षता लादिएकाले पुनः हिन्दू राष्ट्र घोषणाका लागि राष्ट्रिय जनता पार्टीले आगामी फागुन ७ गतेदेखि जनसंघर्षको अभियान थालनी गर्ने उनले जानकारी दिए ।
उनले जनसंघर्ष शान्तिपूर्ण, गाउँ–गाउँदेखि शुरू भई काठमाडौँ केन्द्रित हुने जानकारी दिए । जनसंघर्ष कुनै राजनीतिक दल, सरकारको विरूद्ध नभइ नेपाली पहिचान र राष्ट्रिय एकताको सुदृढीकरणमा केन्द्रित रहने पनि उनले बताए ।