निर्मला हत्या प्रकरण : काठमाडौंबाट पक्राउ परेका युवा थुनिए, कञ्चनपुरमा समातिएका ३ जना छाडिए


२० मंसिर २०७५, बिहीबार
Nirmala panta

काठमाडौं, २० मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाबारे सोधपुछका लागि काठमाडौंबाट पक्राउ परेका एक युवालाई थुनामा राखिएको छ ।

Nirmala panta

हिजो काठमाडौंबाट पक्राउ परेका ती युवाको बयान लिने काम र प्राविधिक जाँच भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यता घटनाबारे सोधपुछका लागि भन्दै कञ्चनपुरबाट पक्राउ गरिएका तीन युवा भने छुटेका छन् । हिजो सोधपुछका लागि प्रहरी कार्यालय बोलाइएको जानकारी दिंदै कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कठायतले भने, सोधपुछपछि तीन जनालाई हिजै साँझ छोडेका छौं ।’

ती युवाले नाम लिएका अन्य मानिसहरूसँग पनि प्रहरीले बयान लिने प्रहरी स्रोतले जानकारी दिएको छ ।

‘संकेतहरू प्रशस्त छन् तर यसअघि पनि नेपाल प्रहरी चुकेकाले यसपालि अनुसन्धान पूरा भएर एकीन नभएसम्म बाहिर नभन्ने गरी काम गरिरहेका छौं, ’ सोतले भन्यो ।

शंकाष्पद गतिविधिका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ती युवालाई समातेको थियो ।
४ महिना पुग्दा पनि निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा को संलग्न थिए भन्ने पत्ता लगाउन प्रहरीले सकेको छैन ।

जसका कारण निर्मला हत्याको घटना प्रहरी प्रशासन र सरकारलाई समेत पेचिलो बनेको छ । जसका कारण सर्वसाधरणमा प्रहरीप्रतिको विश्वास समेत गुम्दै गएको अवस्था छ ।

निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले गरी आधा दर्जन समिति गठन गरे । ती समितिले उक्त घटनाको अनुसन्धानमा प्रहरी लापर्बाही भएको मात्र निष्कर्ष दिएका छन् ।

त्यसैका आधारमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त गरियो। यसअघि निर्मला पन्तको हत्यारा भन्दै प्रहरीले भिमदत्त नगरपालिकाकै दीलिपसिंह विष्टलाई पक्राउ गरेको थियो ।

निर्मलाको भजाइनल स्वाबको रिपोर्टसँग उनको डिएनए नमिलेपछि थुनामुक्त गरियो । साउन १० गते आफ्नी साथी रोशनी बमको घरमा होमवर्क गर्न भन्दै गएकी निर्मला घर फर्केकी थिइनन् ।

भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो । घटनाको दोषी पत्ता लगाउन दवाव दिंदै अहिले राजधानी र कञ्चनपुरमा विभिन्न दवावमुलक कार्यक्रमहरु भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७