तीन महिनापछि नेपालमा रेल चल्छ : मन्त्री महासेठ


२० मंसिर २०७५, बिहीबार
Raghubir Mahaseth Dhanusha 4

काठमाडौं, २० मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले अबको तीन महिनापछि नै नेपालमा रेल चल्ने दावी गरेका छन् ।

Raghubir Mahaseth Dhanusha 4
फाइल फोटो

जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको रेलमार्गको काम लगभग सकिएको जानकारी दिंदै मन्त्री सेठले आउँदो फागुन महिनाभित्र नेपालमा रेल चल्ने दावी गरे ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा बिहीबार भएको छलफलमा मन्त्री महासेठले भने, ‘माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ, हामीले छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं ।’

जयनगर–जनकपुर रेल सेवा यही मंसिरभित्रै सञ्चालन गर्ने भनिएको थियो । तर, रेल भाडामा लिने कि सरकार आफैंले किनेर चलाउने भन्ने विषयमा अन्यौल देखिएको थियो ।

भारतको सरकारी निकायसँग रेल भाडामा लिएर रेल चलाउने प्रक्रिया अपनाइएकोमा रेलको गुणस्तर र लागत समेत बढी पर्न जाने देखिएपछि सरकारले रेल खरिद गरेर चलाउने निर्णय भएको थियो ।

भाडामा लिएर डिसेम्बरभित्रै रेल सञ्चालन गर्न यसअघि ५० करोड बजेट छुट्याइएकोमा यातायात मन्त्रालय र रेल्वे विभागले रेल किन्न थप रकम माग गरेका थिए ।

माग बमोजिम ५० करोड थप बजेट निकासा गर्न अर्थ मन्त्रालय तयार भएको यातायात मन्त्रालय स्रोतले बतायो । भाडामा लिँदा र आफैंले किन्दा बराबरीजस्तै देखिएपछि मन्त्रालय र विभाग रेल खरिद गर्ने निर्णयमा पुगेका थिए ।

हाललाई ७२ जनासम्म अट्न सक्ने १० डब्बाको रेल किन्ने सरकारको योजना छ । तर, नयाँ रेल किनेर ल्याउन समय लाग्ने भएकाले तत्काललाई भाडामै लिएर फागुनभित्रै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने मन्त्री महासेठको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७