भ्रष्टाचार गर्ने कर्मचारी, जनताको गाली खाने जनप्रतिनिधि


२० मंसिर २०७५, बिहीबार
suryabinayak

काठमाडौं, २० मंसिर । स्थानीय निकायको निर्वाचनपछि विकास निर्माणले गति लिने जनअपेक्षा पूरा हुन सकेको छैन । २०५८ देखि जनप्रतिनिधिविहीन स्थानीय निकायमा राज गरी स्रोत साधनमा एक्लौटी दोहन गरी भ्रष्टाचार गर्दैआएका कर्मचारीहरुकै हैकम चल्दैआएको छ ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको नाम परिवर्त भए पनि कर्मचारीको भ्रष्टाचार गर्ने बानीमा परिवर्तन आउन सकेको छैन ।

कतिपय स्थानीय तहका जनप्रतिनिधिहरुले कर्मचारीलाई आफ्नो जिम्मेवारीमा काम लगाउन सफल भएका छन् त कतिपय मेयर र अध्यक्षहरुलाई कर्मचारीले चलाउँदैआएका छन् । मेयरलाई ठेकेदारबाट कमिसन उठाएर भागबण्डा दिएर जनतालाई सास्ती दिने काम हुँदैआएको छ ।

suryabinayak
मेयर वासुदेव थापा र प्रशासकीय प्रमुख चिरन्जीवी तिमल्सिना

मेयरलाई खुसी पारेर जनतालाई सास्ती दिनाले गर्दा वडाध्यक्ष र सदस्यहरुले भने जनताको खप्की सधैं खानुपरेको छ । मेयर प्रशासकीय अधिकृतको कमिसनको लोभमा पर्दा भक्तपुरको सूर्यविनायक नगरपालिकाबासीहरु भने अत्यधिक मारमा परेका छन् । सूर्यविनायक नगरपालिकाका मेयर हुन् वासुदेव थापा । उनलाई घुमाएका छन् प्रशासकीय अधिकृत चिरन्जीवी तिमिल्सिनाले ।

तिमल्सिनाले मेयरलाई प्रभावमा पारी मनपरी गर्दा वडा वडाका निर्वाचित जनप्रतिनिधिहरुले दैनिक जनताको गाली खानुपरेको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर २ का एक वडा सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने–‘नगरबासीलाई निशुल्क नक्सा पास गर्ने भनेर प्रशासकीय अधिकृत तिमल्सिनाले प्रस्ताव ल्याए ।

स्वतन्त्र निर्माण ब्यवसायी संघ नामको संस्थाले निःशुल्क नक्सा पासको प्रस्ताव ल्याएकाले नगरबासीलाई राहत हुने ठानेर अनुमति दिइयो । तर त्यसभित्र ठूलो कमिसनको जालो रहेछ ।

नगरबासीले निःशुल्क नक्सापास गराएबापत संघले भनेको पसल र डिपोबाट सिमेन्ट, छड, बालुवा गिटी लगायतका सबै निर्माण सामग्री खरिद गर्नुपर्ने सर्त राख्ने गरिएको खुलासा भइसकेको छ ।

निःशुल्क नक्सापासका नाममा नगरबासीलाई घर बनाउन चाहिने निर्माण सामग्री भनेकै पसलबाट खरिद गर्न लगाएर दोब्बर तेब्बर मूल्य असुल्ने रणनीति प्रशासकीय अधिकृत तिमल्सिना र डकर्मीहरु रहेको संघले राखेको पाइएपछि नगरबासी थप आहत भएका छन् ।

नगरबासीको १५–२० हजार रुपैयाँ नक्सापासको रकम बचत हुने देखेपछि समर्थन गरेका जनप्रतिनिधिहरु पनि प्रशासकीय अधिकृत तिमल्सिनाले निर्माण सामग्रीमा लाखौं रुपैयाँ असुल्ने नीति बनाएको कुराबाट बेखबर थिए ।

जब घर बनाउनेहरुबाट गुनासो आयो, तबमात्र प्रशासकीय अधिकृतको निशुल्क नक्सपासाको ललीपपभित्र घुमाएर खाने काइदाबारे चाल पाए । यसरी नक्सापास निशुल्क भनी निर्माण सामग्री संघले भनेको पसलबाट खरिद गर्न लगाएर त्यसबाट आउने लाखौं कमिसन खानका लागि नगरपालिकाका प्रशासकीय अधिकृत तिमल्सिनाले यस्तो ललीपप जनप्रतिनिधिलाई देखाएर निर्णय गराएका थिए ।

नगरपालिकाले नक्सापासको नाममा संघलाई यस्तो ब्रम्हलुट मच्चाउने छुट दिएपछि जनप्रतिनिधि नगरबासीको विरोधको तारो बन्दैआएका छन् । ‘नगरबासीले दैनिक भेट्ने वडाध्यक्ष र सदस्यलाई गुनासो गर्छन्, मत माग्दा जनतालाई पारदर्शी सेवा दिन्छौं भनेको होइन भनेर हप्काउँछन्, कर्मचारीले गल्ती गर्ने गाली हामीले खाने भइरहेको छ’ ती वडा सदस्यले भने, मेयरलाई प्रशासकीय अधिकृतले मख्ख पारेका छन् ।

प्रशासकीय अधिकृत तिमल्सिनाले मेयरका छोरीदेखि नातेदार जागिर लगाइदिएका छौं भन्दै मनपरी गर्दैआएका छन् । जसका कारण जे जस्ता भ्रष्टाचार गर्दा पनि उनी मौन समर्थन गर्न बाध्य देखिएका छन् ।

नगरपालिकामा फर्निचरदेखि हरेक सामान खरिदमा सार्वजनिक खरिद ऐ नियम कुनै पालना हुन सकेको छैन । विनाप्रतिस्पर्धा जसले बढी घुस दिन्छ, त्यहीँबाट खरिद गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले पनि सूर्यविनायक नगरपालिकामा छानबिन गरिरहेको छ । जनप्रतिनिधिलाई प्रशिक्षणका नाममा अर्को ब्रम्हलुट भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७