निर्मलालाई सामुहिक बलात्कार, चार महिनापछि घटनाको रहस्यको नजिक प्रहरी


२१ मंसिर २०७५, शुक्रबार
Nirmala panta

काठमाडौं, २१ मंसिर । बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा महेन्द्रनगरका चार युवालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

Nirmala panta

प्रारम्भिक आधार भेटिएको भन्दै सिआइबीको टोलीले उनीहरूलाई धनगढी हुँदै हवाइजहाजबाट बिहीबार साँझ काठमाडौं ल्याएको हो ।

घटना लगत्तै महेन्द्रनगर खटाइएका सिआइबीका अंगुर जिसी निलम्बनमा परेपछि अनुसन्धानमा पठाइएका डिएसपी कमल थापाको टोलीले महेन्द्रनगर भगतपुरका दिनेश चौधरी र विशाल चौधरीसहित चार जनालाई पक्राउ गरेको हो । समूहका एक सदस्यका रूपमा प्रदीप रावल मंगलबारदेखि नै प्रहरी वृत्त महाराजगञ्जको थुनामा छन् ।

‘अहिलेसम्मको अनुसन्धानमा सामुहिक बलात्कारपछि नै निर्मलाको हत्या भएको देखिन्छ । त्यसैले पाँच जनालाई हिरासतमा लिएका छौँ । अनुसन्धानको प्रगतिबाट हामी आशावादी छौँ,’ एक प्रहरी अधिकारीले भने ।

यद्यपि, डिएनएलगायत प्राविधिक परीक्षणको रिपोर्टबाट मात्र वास्तविकता पत्ता लाग्ने प्रहरी अधिकारीहरू बताउँछन् । डिएनए रिपोर्ट पर्खनकै लागि प्रहरीले प्रदीपलाई सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा म्याद थप गरेर थुनामा राखेको छ ।

पक्राउ परेकाहरू लागूऔषध दुर्व्यसनी रहेको र विगतमा पनि अपराधमा जोडिएको प्रहरी स्रोतको दाबी छ । घटनाको दिन निर्मलाको शव भएकै क्षेत्रमा उनीहरूको उपस्थिति देखिएको र घटनापछि शंकास्पद गतिविधि देखाएकाले पनि उनीहरूलाई पक्राउ गरेरै अनुसन्धानको दायरामा ल्याइएको प्रहरीको भनाइ छ । 

त्यस्तै काठमाडौंमा पक्राउ परेका प्रदीपले निर्मलासँग चिनजान भएको भन्दै हिंडेको पत्ता लागेको पनि प्रहरीले जनाएको छ । निर्मला आफ्नो गर्लफ्रेन्ड भनेर आफूले केही ठाउँमा गफ दिएको उनले प्रहरीसँग पनि स्विकारेका छन् ।

पक्राउ परेकामध्ये केहीले अपराध स्वीकार गरे पनि नतिजा भने डिएनए रिपोर्टमै निर्भर हुने स्रोत बताउँछ । अभियुक्तले साबिती बयान नै दिए पनि डिएनए रिपोर्ट नमिलेमा मुद्दा नचल्ने प्रहरी अधिकारीहरू बताउँछन् । प्रहरीले छिटो प्रक्रियाबाट उनीहरूको डिएनए परीक्षण गराउँदैछ ।

यसअघि दिलीपसिंह विष्टले पनि सुरुमा प्रहरीसँग साबिती बयान दिएका थिए । विष्टलाई प्रहरीले अभियुक्तका रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । तर, पछि डिएनए रिपोर्ट नमिलेपछि नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्किएको थियो । त्यसैले पक्राउ परेका व्यक्तिहरूविरुद्ध बलियो प्रमाण संकलन भए मात्र औपचारिक रूपमा बोल्ने प्रहरी तयारी छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७