पैसा अभावले साङ्लोमा बाँधिएका उमाकान्त चौधरीकाे दारुण कथा


२१ मंसिर २०७५, शुक्रबार
28 Shares
उमाकान्त चौधरी


नानीमैया कटवाल
सप्तरी, २१ मङ्सिर
। पूरै जवानी फलामे साङ्लो (जञ्जिर) मा बाँधिएरै बित्यो । उनकै अगाडि बाँधिएका पशुचौपायालाई चर्न दिन बेला–बेलामा खोलिन्छ तर, १२ वर्षअघि बाँधिएका सप्तरीको अग्नीसाइर कृष्णसवरण–१, घोघींदाहा भवानीपुरका ४७ वर्षीय उमाकान्त चौधरीले त्यस्तो अवसर पाएका छैनन् ।

घोंघीदाहाकी ४१ वर्षीया सुशीलादेवी चौधरीले नै आफ्ना श्रीमान्लाई १२ वर्षदेखि फलामे साङ्लोको हतकडी लगाएर राखेकी हुन् ।

उमाकान्त चौधरी
उमाकान्त चौधरी, जाे १२ वर्षदेखि फलामे साङलोमा छन्। तस्बिरः नानीमैया कटवाल, सप्तरी, रासस


क्षणभरमै रिसाउने, कराउने, मान्छेलाई देख्नासाथ छोप्ने, कुट्ने, मान्छेमाथि ढुङ्गा फ्याक्ने, जे भेट्यो त्यसैले हिर्काउने गर्न थालेपछि आजित भएर श्रीमतीको आग्रहमा गाउँलेहरुले नै हतकडी लगाएको र त्यो नखोलिएको सुशीलाले बताइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT


मानसिक रोगबाट पीडित बनेका उमाकान्तले एकपटक आफ्नी आमाको हात नै भाँचिदिए । एकपटक घाँस काट्ने हँसियाले खसीको गर्दन रेटे र कान काटेर पोलेर खाए । बाटो हिँड्नेलाई लाठी, ढुङ्गाले हिर्काउने, छरछिमेक र परिवारमै पनि दुःख दिने गर्न थालेपछि परिवारले नै उनलाई २०६३ सालमा बन्धक बनाएको भतिजी ललिता चौधरीले जानकारी दिइन् ।

उमाकान्तलाई राख्न घर अगाडि फोहर बग्ने नालामाथि टिनको पाताले छाएको सामान्य टाँटीले बेरेको खुला कटेरो बनाइएको छ । हतकडीमा बाँधिएका उमाकान्तको शरीरमा जुनसुकै मौसममा पनि एउटा कट्टु बाहेक केही हुँदैन ।

जाडो मौसममा पनि नाङ्गै शरीरमा रहनुपर्ने उनलाई ओढ्नका लागि एउटा मैलो सिरक छ । घरबाहिर एउटा खाट अट्ने खुला सानो कटेरोमा रहेको चिसो खाली खाटमा उनी बस्छन्, सुत्छन् । हथकडीले गर्दा उभिन भने सक्दैनन् ।

त्यही छाप्रो नै उनको संसार हो । दिसापिसाब पनि छाप्रोभित्रै गर्छन् तल बग्ने गरेको फोहर नाली छिमेकीले बन्द गरिदिएका छन् । कपाल, दाह्री, नङ्ग १२ वर्षदेखि काटिएका छैनन् । हातमा लगाइएको हतकडी पनि १२ वर्षदेखि खोलिएको छैन जसले गर्दा उनको बायाँ हातमा गहिरो घाउको दाग नै बनेको छ ।

jagdamba.cement
rbbbb


कसैले भनेको नमान्ने, बाटोमा हिँड्ने, छरछिमेकी देख्नासाथ पिट्ने, ढुङ्गामुढा गर्ने, परिवारका सदस्यलाई देख्नै नहुने, जे भेट्यो त्यसैले आक्रमण गर्ने भएपछि १२ वर्ष अघिदेखि उनलाई घरअगाडि कटेरोमा बाँधेर राखिएको हो । उनकै अगाडि बाँधिएका खसीबाख्रा बेलाबेलामा खोलिए पनि उनको हातमा लागेको हतकडी १२ वर्षदेखि खुलेको छैन ।

छाप्रो नजीक रहेको उनको घरमा श्रीमती र तीन छोरी बस्छन् । घोघींदाहाका टुरन र पल्टीदेवी चौधरीका दुई छोरामा उमाकान्त जेठा हुन् । बुबाआमा छुट्टै घरमा कान्छा रमाकान्तसँग बस्छन् । ठिक हुँदासम्म सगोलमै रहेका उनको मानसिक सन्तुलन गुमेपछि उमाकान्तकै ढिपीले अलग भएका हुन् । खेत रुग्न बस्दा रातभरी आँखा नझिम्काई जाग्राम बस्ने गरेका उनी विस्तारै बिरामी पर्दै गएको आमा पल्टीदेवीले बताइन् ।

शुरुका दिन साङ्लो चुँडालेर भाग्ने प्रयत्न असफल भएपछि उनी श्रीमतीलाई बेलाबेला हतकडी खोली दिन आग्रह गर्छन् । कुनै बेला त खोलिदिउँ झै पनि लाग्छ रे सुशीलालाई तर, खोल्नासाथ कुनै अप्रिय घटना हुने डर छ । साङ्लोको डाम देब्रे हातमा मज्जैले गढेर घाउ नै भएको छ  । सुशीलाले बिहान–बेलुका पाकेको भात लगिदिन्छन् । खान मन नलागे झिङ्गा भन्किरहेका हेर्छन्, भोक लागे खान्छन् ।

सामाजिक परम्पराअनुसार २०५४ सालमा विवाह हुनु अगावै उमाकान्तमा मानसिक समस्या देखिइसकेको रहेछ । एकहोरो टोलाएर बस्ने, भाैतारिएर हिँड्ने, एक्लै कुरा गर्ने, रिसाउने, कराउने गर्थे ।

आमाबुबाले थाहा पाएर ‘माइतमै बस, घर जानुु पर्दैन, अर्को विवाह गरिदिउँला’ पनि भनेका थिए तर, सुशीलाले ‘एकपटक जोसँग विवाह भयो उसैसँग जीवन बिताउने’ भन्दै आँट गरिन् । सुशीला भन्छिन्, ‘बुबा बनेर कमाएर ल्याउँछु, आमा बनेर पकाएर खुवाउँछु ।’

ज्याला मजदुरी गरेर नै सुशीलाले तीन छोरी हुर्काइन् । तीनै छोरी घरनजीकैको विद्यालयमा पढ्छन् । कक्षा १० मा अध्ययनरत कान्छी छोरी १३ वर्षीया दिपीकालाई त उनका बुबाले बोक्न पनि पाएका छैनन् । दिपीका जन्मेलगत्तै जञ्जिरमा बाँधिएकाले दिपीकाले बुबाको माया अनुभव गर्न पाइनन् । कक्षा ३ मा पढ्दादेखि नै उनी पनि आमासँगै जङ्गलबाट दाउरा बोकेर ल्याई बेच्ने गर्थिन् ।


तीन छोरी हुर्काएकी सुशीलाको घरपरिवारमा पुरुष मान्छे अभिभावक नहुँदा घरपरिवार र व्यवहार धान्न उनलाई समस्यै समस्या छ । ‘छोरीहरुको आमा पनि मै, बुबा पनि मै,’ सुशिला भन्छिन्, ‘मजदुरीका सबै काम पुरुषले झै गरे पनि ज्याला भने कम पाइन्छ ।’ सङ्घर्षपूर्ण जीवनले सुशीलालाई सबै काम गर्न सिकाएको छ । उनी खेतीको कामदेखि निर्माण मजदुरको कामसमेत गर्छिन् । सबै काम पुरुषले झै गरेपनि ज्याला भने कमै पाउँछिन् ।

धान रोप्ने, काट्ने गर्दा दैनिक तीन सय र निर्माण मजदुरी गर्दा चार सय रुपैयाँ मात्र पाइने गरेको उनी सुनाउँछिन् । बाँदरले हैरान गरेपछि आफ्नो तीन कठ्ठा खेतमा यसै वर्ष आँपको बिरुवा लगाएकी सुशीलाले शम्भु साहको चार कठ्ठा खेत बटिया (अँधिया) गर्छिन् ।

घरपरिवारले उपचार गराए, धामीझाँक्री पनि देखाए । उपचार गर्न लगेको अस्पतालबाटै भाग्ने, डाक्टरको सल्लाहबमोजिम औषधि नखाने र रातभरी सुत्न छाडेपछि उनको मानसिक अवस्था गम्भीर बन्दै गयो ।

युवावस्थामा बलिया र सुन्दर रहेका उमाकान्त मानसिक रोगबाट पीडित भएपछि पशु झै जीवन बिताउँछन् । ‘युवा उमेरमा घरखेतको सबै काम गर्ने बलिया र गाउँकै सुन्दर युवक थिए,’ उनका ठूलो बुबा ढोढन दास सम्झनुहुन्छ, ‘उपचार हुन नसकेपछि उमाकान्तको पूरै जवानी बन्धनमै बित्यो ।’ ‘लामो समय भएकाले उपचारमा निकै खर्च हुन्छ होला’ वडाध्यक्ष सुशीलकुमार चौधरीले भने, ‘उपचार गराउन आर्थिक समस्याका साथै कहाँ लैजाने, कसले लैजाने भन्ने विषयमा पनि समस्या छ ।’

चार कठ्ठा खेत अँधियामा गरी बाँकी समय ज्याला मजदुरी गरिरहेकी सुशीलालाई घरखर्च चलाउनै हम्मे छ । उपचारका लागि आफ्नो सामथ्र्य नभएको सुशीलाको भनाइ छ । ‘आफ्नो त जीवित भएर पनि बुबा नभए झै छ’ जेठी छोरी अस्मिताले अनुरोध गरिन्, ‘पशुभन्दा नारकीय जीवन बिताइरहेका बुबाको उपचारका लागि कुनै उपाय भए सहयोग गरी दिनुहोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७