जग्गा नहुनेलाई सरकारले जग्गा दिने, मन्त्री अर्यालले भनिन्, ‘अब कोही सुकुम्बासी हुनु पर्दैन’


२१ मंसिर २०७५, शुक्रबार
padma aryal

काठमाडौं, २१ मंसिर । सरकारले भूमिसम्बन्धी देखिएका विभिन्न समस्यालाई समाधान गर्न आयोग गठन गर्ने भएको छ ।

padma aryal

उक्त आयोगले भूमिहीन नागरिकलाई व्यवस्थित गर्ने अव्यवस्थित तथा जोखिमयुक्त बसोबासको न्यूनीकरण गर्ने, मोही र जग्गाधनीबीचका समस्या समाधान गर्ने र जमीनको वर्गीकरणलगायत विषयलाई समेट्ने छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले करीब तीन दशकअघिदेखि हालसम्म जमीनको भोगचलन गरी पूर्जा लिन नसकेका घरपरिवारलाई सामाजिक न्याय उपलब्ध गराउन उक्त आयोगले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

उनले भनिन्, ‘सुकुम्बासीहरुको समस्या समाधान गर्न पनि सरकार लागि परिरहेको छ । अब कोही सुकुम्बासी हुनु पर्दैन ।’

रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले गुठीको जमीन अतिक्रमण भई हिनामिना भइरहेको अहिलेको अवस्थामा त्यसको संरक्षण गर्न गुठीलाई प्राधिकरणमा लैजाने गृहकार्य भइरहेको जनाकारी दिइन् ।

हलिया र कमैयामुक्त भएको दुई दशक हुँदा पनि उनीहरुको समस्या समाधान नभएको बताउँदै उनले उनीहरुको व्यवस्थापन छिट्टै गरिने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री अर्यालले विगतमा युद्वकालका बेला अर्घाखाँची, अछाम, पाल्पालगायत जिल्लामा रहेका अभिलेख नोक्सान भएकाले त्यस क्षेत्रमा विशेष नापी शुरु गरिने जानकारी गराइन् ।

उनले आफ्नो मन्त्रालयसँग सम्बन्धित भू–उपग्रह खिच्ने तस्बीर चीनको सहयोगमा निःशुल्क प्रयोग गरिने व्यवस्था हालै मिलाइएकाले यस क्षेत्रमा हुँदै आएको अर्बौं रुपैयाँ बचत हुने बताइन् ।

सहकारीका माध्यमबाट स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने र देशलाई समृद्ध बनाउने बताउँदै उनले ललितपुर, काभ्रे, नुवाकोट, चितवन, मकवानपुर र धादिङका १८ स्थानीय तहमा सम्बद्ध सहकारीले उत्पादन गरेका वस्तुलाई बजारीकरण शुरु गरिएको बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७