श्रृङ्खला खतिवडा मिस वर्ल्ड उपाधिको नजिक
काठमाडौं, २१ मंसिर । मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्ड–२०१८ को उपाधीको नजिक पुगेकी छिन् । प्रतियोगिताको अन्तिम नतिजा शनिवार सार्वजनिक हुदैछ । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी हुन् ।
चीनको सान्या शहरमा भइरहेको प्रतियोगितामा श्रृङ्खलालाई उत्साह प्रदान गर्न श्रृङ्खलाका आमा मुनु सिग्देल र बुवा बिरोध खतिवडान सान्या पुगेका छन् । बुवा खतिवडा सङ्घीय संसद्मा र आमा सिग्देल प्रदेश नम्बर ३ को प्रदेशसभामा सदस्य छन् ।
मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् ।
यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् । चीनमा हुँदै गरेको प्रतियोगितामा १२० देशका सुन्दरीहरू प्रतिस्पर्धा गर्दैछन्।
श्रृङ्खलाले मिस वल्र्ड २०१८ को अनलाइन भोटिङमा ३० प्रतिशतभन्दा बढी मत पाएकी छिन् । नेपाली प्रतियोगीले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा गरेको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनी भन्दै उनको प्रशंसा भइरहेको छ ।
श्रृङ्खलाले उपाधी जित्नेमा धेरैले आशा राखेका छन् । सामाजिक सञ्जालमा नेपालका बिभिन्न क्षेत्रका अगुवाहरुले शुभकामना दिएका छन् ।
तुलनात्मक रुपमा श्रृङ्खला यसपालीका सहभागीहरु मध्ये सबैभन्दा क्षमतावान् प्रतियोगी भएको बिश्लेषण छ । सामाजिक सञ्जाल र विदेशी अनलाइन मिडियाहरुमा उनले उपाधि जित्ने दाबी गरिएको छ ।
आर्किटेक्टमा स्नातक उत्तीर्ण उनले २०१६ मा भएको एसियन पेन्ट्स डिजाइन कम्पिटिसनमा आर्किटेक्चर स्टुडेन्ट एवार्डसमेत जितेकी थिइन्।