नागढुंगा-नौबीसे सुरुङ मार्ग : ठेक्कामा मन्त्री महासेठको हस्तक्षेप

काठमाडौं, २२ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नागढुंगा–नौबीसे सुरुङ मार्गको ठेक्कामा हस्तक्षेप गरेका छन् ।

ठेकेदार छनौट निम्ति अन्तिम मूल्यांकन पूरा हुनै लाग्दा बुधबार उनले आयोजना प्रमुखलाई हटाएका छन् ।
जापान सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण हुन लागेको यो आयोजनाको ठेक्का उनले चिनियाँ कम्पनीलाई दिलाउने प्रयास गरेका छन् । महासेठले आयोजनाको ठेक्कासम्बन्धी सम्पूर्ण फाइल आफ्नो च्याम्बरमा झिकाएका छन् ।
आफ्नै रोहबरमा फाइल अध्ययन गराई चिनियाँ कम्पनीलाई ठेक्का दिलाउन उनले निर्देशन दिएको सडक स्रोतले बतायो । उनले आयोजना प्रमुख सञ्जय श्रेष्ठलाई हटाएका छन् । उक्त जिम्मेवारी सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर केशव शर्मालाई दिएका छन् । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
श्रेष्ठ आगामी चार महिनापछि सेवा निवृत्त हुँदैछन् । ‘मलाई हटाइएको भन्ने सुनेँ,’ श्रेष्ठले भने, ‘पत्र पाएको छैन ।’ आयोजनाले आगामी आइतबार (मंसिर २३) पूर्व योग्यता सूचीमा परेका ठेकेदारमध्येबाट आर्थिक र प्राविधिक रूपले सबैभन्दा उत्कृष्टलाई छनौट गर्दैछ ।
आयोजनाको ठेक्काका लागि पाँच चिनियाँ र एक जापानी कम्पनीको प्रस्ताव छ । जापानी ऋण भए पनि यो ठेक्कामा विश्वव्यापी प्रतिस्पर्धा हुन लागेको हो । गत साउन २४ गते विश्वव्यापी प्रतिस्पर्धा गराइएको थियो ।