डिजिटल अभ्यासमै छैनन् स्थानीय तह


२२ मंसिर २०७५, शनिबार
1779 1

काठमाडौं, २२ मंसिर । कोहलपुर नगरपालिकाबाहेकका बाँकेका सात स्थानीय तह अझै डिजिटल अभ्यासमा अग्रसर हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिकै उदासिनताले ‘डिजिटल नेपाल’ नारामा मात्रै सीमित भएको हो ।

1779 1

कछुवा गतिमै भए पनि कोहलपुर नगरपालिका भने डिजिटल प्रविधिको अभ्यासमा जुटेको छ । मोबाइल एप्ससबाट आफ्नो तहको सूचना तथा गतिविधि आम नागरिकसम्म पुर्‍याउन उक्त नगरपालिका सक्रिय भए पनि नेपालगञ्ज उपमहानगरपालिकासहित अन्य सात स्थानीय तह भने यस बिषयमा अझै उदासिन छन् ।

सूचना प्रविधि विभागले स्थानीय तहलाई डिजिटल प्रणालीमा लैजान सहयोग गरिरहेको छ । सबै स्थानीय तहका लागि प्रयोग हुने गरी एउटै मापदण्डमा मोबाइल एप्स तयार पारिए पनि धेरैले लागू गर्न सकेका छैनन् । सबै स्थानीय तहका वेबसाइटको सर्भर राष्ट्रिय सूचना प्रविधि केन्द्रको डाटा सेन्टरमा राख्ने व्यवस्था मिलाइएको छ ।

सूचना तथा प्रविधि विभागले इण्टरनेट नपुगेका तहले पनि इण्टरनेट भएको ठाउँमा सूचना पठाएर वेबसाइट तथा मोबाइल एप्स अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।

मोबाइल एप्स नबनाएका स्थानीय तहले विभागमा पत्राचार गरी निःशुल्क बनाउन सक्ने भए पनि बाँकेका सात स्थानीय तहले अहिले पनि एप्स बनाउने विषयमा ध्यान दिनसकेका छैनन् ।

दुर्गममा इण्टरनेटको समस्या हुने भएका कारण मोबाइल एप्स सञ्चालनमा अप्ठ्यारो भइरहेको छ । स्थानीय तहका एप्सहरुको महत्व स्थानीयस्तरमा भन्दा पनि बाहिर बसोबास गर्दै आएकमा सो क्षेत्रका बासिन्दालाई बढी हुन्छ ।

एप्समार्फत बाहिर रहेका स्थानीयले गाउँपालिकाको काम कारवाही र सेवा सुविधाका बारेमा गुनासो तथा सुझाव पठाउँदै आएका छन् ।

गाउँमा बस्ने मानिसमा प्राविधक ज्ञानको कमी र स्रोत तथा साधन अभावका कारण गाउँका भन्दा अध्ययन र रोजगारीका लागि देशका अन्य स्थान र विदेशमा रहेकाले यस्तो प्रविधिको बढी प्रयोग गर्ने गरेको कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जुकुमारी थारूले बताइन् ।

स्थानीय तहका प्रविधि चुस्त छैन
जिल्लाका स्थानीय तह इण्टरनेट सञ्जालमा जोडिए पनि इण्टरनेट सेवा प्रभावकारी हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । इण्टरनेटकै समस्याका कारण बिहीबार खजुरा गाउँपालिकाको वडा नं ३ मा आएका अधिकांश सेवाग्राही फर्किन बाध्य भएका थिए ।

जन्म र विवाह दर्तालगायतका कामका लागि आएका सेवाग्राहीलाई इण्टरनेट समस्याका कारण फर्काउनुपरेको वडा नं ३ का वडासचिव थानेश्वर न्यौपानेले बताए । ‘अहिले गाउँमा पनि प्रविधि छन् तर इण्टरनेटको भरपर्दो गति नहुँदा सेवा प्रवाहमा कहिलेकाहीँ समस्या हुने गरेको छ’, उनले भने ।

गाउँपालिकामा एउटै आइटी अफिसर हुँदा तत्कालै प्रविधिलाई चलायमान गराउन नसकिएको गाउँपालिकाका कर्मचारीको भनाइ थियो । गाउँपालिका प्रविधिमैत्री भएपछि वेबसाइटमा सूचना राख्दा सर्वसाधारण र कर्मचारी दुवैलाई सजिलो भएको बैजनाथ गाउँपालिकाका सूचना प्रविधि अधिकृत अमरसिंह ठाकुरले बताए ।

‘सूचना लिन कार्यालय आउनु पर्दैन’, उनले भने, ‘धेरैलाई एउटै सूचना पटक पटक दिनु नपर्दा कर्मचारीलाई पनि सजिलो भएको छ ।’ निर्णय वेबसाइटमा हेर्न मिलेपछि सेवाग्राही पनि निकै खुशी छन् ।सूचना लिने÷दिने दुवैलाई सजिलो भएको छ ।

जिल्लाका आठ वटै स्थानीय तहमा सूचना प्रविधि अधिकृत छन् । इण्टरनेटबाटै सूचना लिने बढेपछि स्थानीय तहले छुट्टै शाखा र जनशक्ति राखेर काम थालेका हुन् । वेबसाइटमा स्थानीय तहका कार्यक्रम, कार्यपालिकाको निर्णय, योजना, नीति नियम, बजेट तथा कार्यक्रमका जानकारी राखिएका छन् ।

सूचना प्रवाहले कार्यालयमा सुशासन कायम गर्न मद्दत पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी प्याकुरेलले बताए । ‘सहजै सूचना पाउँदा नागरिकको निगरानी बढ्छ, ‘यसले काम प्रभावकारी बनाउँछ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७