चालकको लापर्वाहीले दुर्घटना धेरै, कुन प्रदेशमा बढी दुर्घटना ?


२२ मंसिर २०७५, शनिबार
bus accident 1

काठमाडौं, २२ मंसिर । चालु आर्थिक वर्षको चार महिनामा मुलुकभर भएको सवारी दुर्घटनामा परी ८६५ को ज्यान गएको छ ।

bus accident 1

साँघुरो सडक र तीव्र गतिका कारण देशभर दुर्घटनाको संख्यामा वृद्धि भएको हो । प्रहरीका अनुसार चार महिनामा सात हजार २३७ दुर्घटना भएका थिए । उक्त दुर्घटनाबाट साउनमा १९२, भदौमा २०५, असोजमा २८५ र कात्तिकमा २९८ को ज्यान गएको छ । आव २०७४÷०७५ मा देशभर सवारी दुर्घटनाबाट दुई हजार ३१८ ले ज्यान गुमाएका थिए ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले चालकको लापर्वाहीका कारण धेरै दुर्घटना हुने गरेको बताउँछन् । ‘चालकको लापर्वाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउनु, यात्रुको गल्ती, एकापसमा उछिन्ने प्रवृत्ति, तीव्रगति, यान्त्रिक गडबडीका कारण बढी दुर्घटना हुने गरेको छ’, उनी थप्छन् ।

सवारी दुर्घटनाबाट ६२२ पुरुष, १५७ महिला, ५३ बालक र ३३ बालिकाले ज्यान गुमाएका छन् । मोटरसाइकल, ट्रक, टिपर, जीप, कार ट्रयाक्टर र टेम्पो बढी दुर्घटना हुने गरेका छन् ।

सोही अवधिमा दुर्घटनामा एक हजार ४८८ गम्भीर र तीन हजार ७२७ सामान्य घाइते भएका थिए । लामो समयदेखि मुलुकको यातायात क्षेत्रमा रहेर काम गरेका नेपाल प्रहरीका पूर्व प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन् ।

उनले २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापर्वाहीका कारण हुने गरेको बताए । श्रेष्ठ तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने बताउँछन् ।

‘मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा २० देखि २५ प्रतिशतसम्म दुर्घटना हुने गरेको छ’, उनी भन्छन् । काठमाडौँ उपत्यकामा हाल साना ठूला ११ लाख तथा देशभर झण्डै ३२ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।
उपत्यकामा ८१ को मृत्यु

काठमाडौँ उपत्यकामा चार महिनाको अवधिमा ८१ को सवारी दुर्घटनामा ज्यान गएको छ । यसैगरी प्रदेश नं १ मा ९६, प्रदेश नं २ मा १६९, प्रदेश नं ३ मा १७३, गण्डकी प्रदेशमा ७७, प्रदेश नं ५ मा १७४, कर्णाली प्रदेशमा ५० र सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनाबाट ४४ ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वसन्तकुमार पन्त साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताउँछन् । ‘लापर्वाही र चालकले ट्राफिक जानकारीबारे ध्यान नदिँदा उपत्यकामा दुर्घटना बढेको हो’, उनी भन्छन् ।

दुर्घटना घटाउन आरामस्थल निर्माण

चालकको लापर्वाहीका कारण दुर्घटना बढ्न थालेपछि प्रहरीले गृह मन्त्रालयको सहयोगमा देशभरका १४ स्थानमा चालक र सहचालकका लागि आरामस्थल बनाउन लागेको छ । जसमध्ये छ स्थानमा आरामस्थल सञ्चालनमा आइसकेको छ । बाँकी आठ स्थानमा पनि चाँडै सञ्चालनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रालयबाट जारी गरेको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनलाई मजबुत तथा विश्वसनीय बनाउन जारी गरेको १० बुँदे प्राथमिकताको आधारमा सात प्रदेशमा आरामस्थल निर्माण गर्न लागिएको हो ।

प्रदेश नं २ को तीन स्थान, प्रदेश नं ६ को एक स्थान र अन्य पाँच प्रदेशको दुई÷दुई स्थानमा आरामस्थल स्थापना हुन लागेको छ ।

जसमा प्रदेश नं १ मा सुनसरीको कोशी कटान र इलामको कटेनी सडकखण्ड, प्रदेश नं २ मा बाराको पथलैया, धनुषाको लालगढ र सप्तरीको शम्भुनाथ, प्रदेश नं ३ मा सिन्धुलीको खुर्कोट र धादिङको मझिमटार, गण्डकी प्रदेशमा नवलपरासीको कावासोती र तनहुँको दुलेगौडा, प्रदेश नं ५ मा दाङको लमही र बर्दियाको बाँसगढी, कर्णाली प्रदेशको सुर्खेत छिन्चु र सुदूरपश्चिम प्रदेशको कैलालीको घोडाघोडी र डोटीको बुढर रहनेछ ।

गृह मन्त्रालयले प्रत्येक आरामस्थल निर्माण गर्न रु ४० लाख ५० हजारका दरले बजेट विनियोजन गरिसकेको छ ।

सुनसरीको कोशी कटान, सिन्धुलीको खुर्कोट, नवलपरासीको कावासोती, दाङको लमही, सुर्खेतको छिन्चु र कैलालीको घोडाघोडीमा आरामस्थल सञ्चालनमा आइसकेको छ । प्रहरी प्रवक्ता सुवेदी आरामस्थल सञ्चालनमा आएसँगै सवारी दुर्घटनामा कम आउने बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७