टप १२ बाटै शृङ्खला बाहिरिएपछि माल्भिकाले भनिन्, ‘अन फेयर भयो’

काठमाडौं, २१ मंसिर । चीनमा जारी मिस वर्ल्डको ६८ औँ संस्करणमा श्रृखला खतिवडा टप १२ बाटै बाहिरिएपछि पूर्व मिस नेपाल माल्भिका सुब्बाले मिस वल्र्डको मूल्याङ्कन ‘अन फेयर’ भएको दाबी गरेकी छिन् ।
सुब्बाले खतिवडा टप ५ का लागि योग्य भएको भन्दै तर नछानिएकोप्रति रोष प्रकट गरेकी हुन् ।
पूर्व मिस नेपाल माल्भिका सुब्बाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

माल्भिका सुब्बा
मिस वर्ल्ड २०१८ को प्रतिस्पर्धामा उत्कृष्ट १२ मा पुगेकी मिस नेपाल श्रृङ्खला अन्तिम चरणको उत्कृष्ट पाँचमा पर्न असफल भएकी थिइन् । तुलनात्मक रुपमा श्रृङ्खला अब्बल प्रतियोगी रहेको भन्दै उनले उपाधी जित्नेमा धेरैले आशा राखेका थिए । तर, श्रृङ्खला टप १२ बाटै बाहिरिएपछि माल्भिका जस्तै धेरै उनका शुभेच्छुक दुखी भएका छन् ।

उनी दुई छिमेकी देश भारत र चीनका सुन्दरीलाई उछिन्दै उत्कृष्ट १२ मा परेकी थिइन् । उनले मिस वल्र्डका दुई मुख्य उपाधि मल्टिमिडिया अवार्ड र ब्युटी विथ पर्पस भने जितेकी छिन् ।
श्रृखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

मिस वल्र्डमा यस पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।
तुलनात्मक रुपमा श्रृङ्खला यसपालीका सहभागीहरु मध्ये सबैभन्दा क्षमतावान् प्रतियोगी भएको बिश्लेषण भएको थियो । सामाजिक सञ्जाल र विदेशी अनलाइन मिडियाहरुमा उनले उपाधि जित्ने दाबी गरिएको थियो ।