रिसाएर बालुवाटारबाट किन फर्किए नेकपाका चार शीर्ष नेता ?


२३ मंसिर २०७५, आईतवार
bamdev madhav jn kaji

काठमाडौं, २३ मंसिर :  पार्टीको बैठक बोलाउने, पटकपटक स्थगित गर्ने र बैठक बस्ने दिन पनि पर्खाएर अपमान गर्ने परम्परा बसेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताले केन्द्रीय सचिवालय बैठक बहिष्कार गरेका छन् ।

bamdev madhav jn kaji

प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बोलाइएको बैठकमा पनि कुराएर अपमान गरिएको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बहिष्कार गरेका हुन् ।

 ‘३ बजे बैठक बोलाइएको थियो, तर साढे ३ बज्दासम्म पनि उहाँहरू (अध्यक्षद्वय) बैठक कक्षमा आउनुभएन, हामीलाई कुनै सूचना पनि गरिएन, १५ मिनेटभन्दा बढी नपर्खिने पहिल्यै गरिएको निर्णय पालना नगरिएकाले चारजना उठेर हिँडेका हौँ,’ वरिष्ठ नेता झलनाथ खनालले  भने, ‘नियम र निर्णयहरू पालना नगर्ने बेथितिका विरुद्ध हामीले कदम चालेका छौँ । बैठक बोलाउनेहरूले समय, नियमको ख्याल गर्नुपथ्र्यो, बोलाइसकेपछि बैठक समयमै राख्नुपर्थ्यो ।’

९ सदस्यीय सचिवालयमा ४ जना शीर्ष नेताले बैठक बहिष्कार गरेसँगै अध्यक्षद्वय ओली र प्रचण्डसहित ५ जनाको बहुमतले बैठक संचालन गरेको थियो । महासचिव पौडेल, सचिवालय सदस्यद्वय रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेलले बैठक संचालनका लागि अध्यक्ष ओली र प्रचण्डलाई साथ दिएका थिए । बैठकले २९ मंसिरमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

मकै र चिया खाएर पर्खिएका थिए नेता
३ बजे बोलाइएको बैठकमा सबैभन्दा पहिले वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका थिए । महासचिव विष्णु पौडेलले अध्यक्षद्वय २ बजेदेखि अर्को कक्षमा परामर्शमा रहेको जानकारी गराएका थिए । केहीबेरमा दुई अध्यक्ष आउने बताएर पौडेल कम्प्युटरमा प्राविधिक कामका लागि अर्को कक्षतिर गए । त्यहीबीचमा क्रमश : झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा‘बादल’ पुगेका थिए ।

अध्यक्ष आउन ढिलाई भएपछि नेताहरूलाई चिया र मकैको व्यबस्था गरिएको थियो । ढिलो हुँदै गएपछि उनीहरूले बैठकमा कुराउने र स्थगित गर्ने कार्यशैलीमा कुनै परिवर्तन नआएको भन्दै सामूहिक रुपमा बहिष्कार गर्ने सल्लाह गरे । आधा घण्टा ढिलाई भएपछि चार नेताहरू बाहिरिए । बैठक कक्षमा रहेका बादल भने बाहिरिएनन् । अर्का सचिवालय सदस्य ईश्वर पोखरेल भने चार नेता बाहिरिएपछि मात्र बैठक कक्षमा पुगेका थिए ।

समयमै बैठक सुरु गर्ने साउनको निर्णय उल्लंघन
नेकपा एकतापछि बैठक पटक–पटक स्थगित गर्ने, नेताहरूलाई कुराउने कार्यशैली ठीक नभएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन पहिलो साता बसेको सचिवालय बैठकमा जोडदार आवाज उठाएका थिए । यस विषयमा अध्यक्ष ओली र श्रेष्ठबीच भनाभनसमेत भएको थियो ।

आफूले उठाएको त्यही विषयमा साउनमै दुई पटक छलफल भएको स्मरण गर्दै श्रेष्ठले भने,‘तोकिएको समयभन्दा बैठक बस्न एक/डेढ घण्टा ढिलो हुन थालेपछि समयको पालना गर्ने, १५ मिनेटभन्दा ढिलाई नगर्ने विषयमा दुई पटक छलफल गरेर अबका दिनमा त्यसो नगर्ने समझदारीसहित पार्टीले निर्णय गरको थियो ।

तर, त्यसैले त्यो निर्णयको गम्भीरतापूर्वक पालना गराउन, पार्टी संचालनको विधि, प्रक्रियाबारे नेतृत्वलाई सचेत पारेर व्यबस्थित र विधिसम्मत ढंगले संचालन गराउनका लागि नै हामीले निर्णय लिएका हौं ।’

पार्टी संचालनमा विधि र प्रक्रियाबारे प्रश्न उठाउँदै बैठक बहिष्कार गरिएको नेकपाका वरिष्ठ नेता झलनाथ खनालको दाबी छ । ‘बैठकका लागि १५ मिनेटभन्दा बढि नपर्खिने हामीले पहिल्यै निर्णय गरेका थियौं, त्यसैले सल्लाह गरेरै हामी चार जना उठेर हिँडेका हौं,’ उनले नयाँ पत्रिकासँग भने ।

अर्को सचिवालय बैठक अनिश्चित
नेकपा सचिवालयमा केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्यूरो गठन, जिल्ला र जनसंगठनहरूको एकीकरण, सरकार र पार्टी संचालनसम्बन्धि समीक्षा, संसद संचालन, पार्टी कार्यालय व्यबस्थापनसहित झण्डै एक दर्जन एजेण्डा थाती छ । स्थायी समितिमा अनुमोदन नगरि प्रदेश सदस्यको नाम सार्बजनिक गरिएकोमा नेपालसहित चार नेता असन्तुष्ट छन् । तर, शनिबार ५ नेताको निर्णयले स्थायी समिति आह्वान भएपछि सचिवालय बैठक बस्ने÷नबस्नेबारे नेताहरू नै अनभिज्ञ छन् ।

बहिष्कार गरेका नेताहरूले थाँती रहेका सबै एजेण्डाको निर्णय एकै पटक स्थायी समितिमा प्रस्ताव हुने आशंका गरेका छन् । तर, महासचिव पौडेलले भने यसबीचमा सचिवालय बैठक बस्ने-नबस्ने टुंगो गर्न नसकिने बताए । ‘हामीले स्थायी समिति २९ गतेका लागि आह्वान गरेका छौं, पौडेलले भने,‘यसबीचमा सचिवालय बस्न पनि सक्छ, नबस्न पनि सक्छ, आवश्यकताले निर्धारण गर्ने कुरा हो ।’

-नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७