राजदूत शेर्पामाथि छानबिन गर्न बन्यो समिति

काठमाडौं, २३ मंसिर । पछिल्लो समय विवादमा पर्दै आएकी अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि लागेको मानव तस्करीको आरोपबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयले एक समिति बनाएको छ ।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले शेर्पामाथि छानबिन गर्न मन्त्रालयको आन्तरिक समिति बनिसकेको जानकारी दिएएका छन् । उनले राजदूतमाथि लागेको आरोप गम्भीर रहेको बताउँदै भने, ‘मन्त्रालयको छानबिन समिति बनिसकेको छ । समितिले दुबै पक्षमाथि छानबिन गरेर वास्तविकता बाहिर ल्याउँछ ।’
यसअघि परराष्ट्रले घटनाबारे छानबिन गर्न राजदूत शेर्पालाई काठमाडौं बोलाएको थियो । शेर्पामाथि उनका पूर्वचालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा तानिएकी हुन् । मन्त्रालयले आरोपमाथि सत्य तथ्य बुझ्न मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाइसकेको छ ।
मोटो रकम असुलेर कामदारका रूपमा आफूलाई अस्ट्रेलिया ल्याएको र श्रीमतीलाई समेत यता ल्याउन थप पैसा मागेका वाड्चुले आरोप लगाएका छन् । वाङचुले आमा क्यान्सरले गुमाएको र अहिले श्रीमतीलाई समेत जेल हालेर मार्न खोजेपछि बाध्य भएर आफू मिडियामा सार्वजनिक हुनुपरेको बताएका छन् ।
अष्ट्रेलियास्थित नेपाली राजदूतावासले भने निकै बदमास रहेका वाड्चुले बहुमूल्य गरगहना चोरेर भागेको र यहाँ स्थायी बसोबासका लागि बिभिन्न बहाना बनाउँदै झूठा आरोप लगाएको बताएको छ ।