बाबुले लिएको १० हजार ऋण तिर्न साहुकोमा सात वर्ष हलिया बस्न वाध्य अपाङ्गता भएका दम्पती

कञ्चनपुर, २३ मंसिर । कमैयाबाट मुक्त ४० वर्षीय अपाङ्गता भएका रामबहादुर चौधरी २०५० को दशकमा साहुबाट लिएको ऋणको ब्याजस्वरुप झण्डै सात वर्ष हलिया बस्न बाध्य भएका छन् ।

बुबा विसरामले साहुबाट लिएको रु १० हजार ऋणको ब्याजस्वरुप आफूले काम गरेको बताउँदै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी मुक्तकमैया शिविरका चौधरीले हलियामुक्त भए पनि दुःखको भारी बिसाउन नसकिएकोमा निरासा व्यक्त गरे ।
आफूसँग भएको जमीन मछेली नदीमा बालुवा भरिएपछि गत वर्षदेखि अधिँया गर्नेले पनि छाडेको उनले बताए । ‘खेत पनि गत वर्षदेखि बाँझै छ’, उनले भने, ‘अहिले परिवारको छाक टार्न पनि समस्या हँुदैछ ।’
चार छोरीका बाउ रामबहादुरकी श्रीमती मुन्नी पनि अपाङ्ग नै छिन् । दुवै जनाको हिँड्डुलको सहारा ह्विलचियर छ । गरीबीले च्यापेका दुवै जना घरको दुःख सम्झेर डाँको छाड्ने गरेका छन् ।
गत वर्ष हरियो वन कार्यक्रममार्फत १५ दिन मुडा बनाउने तालीम लिएकी मुन्नी चौधरी घरको वेदना सुन्ने समेत कोही नभएको बताउँछिन् । ‘अस्ति मात्रै दुई वटा मुडा बेचेर ११ किलो चामल किनेर ल्याएको छु’, उनले भावुक हुँदै भनिन्, ‘आफूसँग एक हजार होला र ३० किलोको चामलको कट्टा किनौलो सोचेको धेरै भइसक्यो ।’
उनले चामल किन्नसमेत गाउँमा ऋण नपाएको दुखेसो पोखिन् । शारीरिक अवस्था मध्यमखालको हुँदा भीमदत्तनगर बजारस्थित एक होटलमा केही वर्ष मजदुरी गरेका रामबहादुर विगत पाँच वर्षयता पूर्णरुपमा अशक्त भएपछि श्रीमती मुन्नीसँगै मुडा बनाउने काममा सघाउँदै आएका छन् ।
‘मुडा पनि गाउँमै बिक्दैन, सस्तोमा खोज्छन्’, उनले भने, ‘मुडा बनाउने बासको समेत समस्या हुन थालेको छ ।’
पूर्व–पश्चिम राजमार्गको छेउमा मुडा बनाउने व्यवसाय थालेका चौधरी दम्पतीलाई छोरीहरुको परीक्षा शुल्क बनाउन पनि कठिन छ । दुवै जनालाई मासिक रु ६०० अपाङ्गता भत्ता मिल्ने गरेको छ । शिविरकै स्थानीयवासी विष्पति चौधरीले अपाङ्ग दम्पतीको परिवार गरीबीका कारण भोक बस्नुपर्ने अवस्थामा रहेको बताए ।