मेनपावरको लुट-१ : कामदारबाट १५ गुणा बढी रकम असुल्दै मदरल्याण्ड ओभरसिज


२३ मंसिर २०७५, आईतवार
Mother Land

काठमाडौं, २३ मंसिर :  सरकारले २०७२ सालदेखि ‘फ्रि भिसा, फ्रि टिकट’को प्रावधान लागू गरेको छ । तर, मेनपावर कम्पनीहरुले भने मनलाग्दी पैसा उठाएर लुट मच्चाइरहँदा पनि सरकार र सम्बन्धित निकाय भने मौन छ ।

Mother Land


श्रम, रोजगार तथा समाज कल्याणमन्त्री गोकर्ण विष्टले ठगी गर्ने मेनपावर कम्पनीबिरुद्ध निर्मम ढङ्गले प्रस्तुत हुने बताए पनि मेनपावर कम्पनीहरुले खुल्लेआम १५ गुणा बढीसम्म रकम ठगी गरिरहेका छन् ।

काठमाडौंमा रहेका मेनपावर कम्पनीहरुको कार्यालय पुग्दा मन्त्री विष्टको लोकप्रिय नाराले नराम्ररी हावा खाइरहेको भेटिन्छ । मेनपावर कम्पनीहरुले कसरी लुट मच्चाइरहेको छ ? यो बारेमा जान्न काठमाडौंको बसुन्धरामा रहेको मदरल्याण्ड ओभरसिज प्रा.लि गए पुग्छ । टेकराज पौडेल अध्यक्ष रहेको मदरल्याण्ड ओभरसिज प्रालिले मनपरी रकम असुली रहेको जानकारी पाएपछि नयाँ पेज टोली मदरल्याण्ड ओभरसिज प्रालिमा पुगेको थियो ।

मदरल्याण्ड ओभरसिज प्रालिको कार्यालमा पुग्दा भिडभाड थियो । दुबई र टर्की जानका लागि नेपाली कामदारहरु त्यहाँ पुगेका थिए । सरकारले दुवईका लागि १० हजार सेवा शुल्क तोकेको छ । तर, मदरल्याण्ड ओभरसिज प्रालिले एक जना कामदारबाट ८० देखि १ लाख ५० हजार रुपैंयाँसम्म लिइरहेका छन् ।

युएई स्काफोल्डरका लागि जान लागेका एक कामदारले १ लाख १० हजार बुझाएको बताए । मासिक एक हजार दिराम तलबमा जान लागेका ती कामदारले १ लाख १० हजार सिधैं कार्यालयमै बुझाएको बताए । नयाँ पेज संवाददाताले आफू पनि विदेश जान लागेको भनेर बुझ्दा ती कामदारले कार्यालयमै १ लाख १० हजार बुझाएको बताए । यतिसम्मकी एजेन्ट र मेनपावरले बुझाएको रकमबारे नबोल्न समेत निर्देशन दिएका हुन्छन् ।

यस्तै अर्का एक कामदारले एजेन्टमार्फत युएईका लागि १ लाख २० हजार बुझाएको बताए । अहिले पनि मदरल्याण्ड ओभरसिज प्रालिको कार्यालयमा पुगेका कामदारहरुसँग बुझ्न गए ८० देखि १ लाख ५० हजारसम्म बुझाएका कामदारहरु प्रशस्त भेटिन्छन् ।

यसैगरी ३ मंसिर २०७५ गते मदरल्याण्डले टर्कीका लागि ८७ जना महिला कामदार माग भएको विज्ञापन खुलाएको थियो । मासिक ५७ हजार तलब भएको टर्कीका लागि मदरल्याण्ड ओभरसिज प्रालिले १ लाख ८० हजार असुलेको छ । टर्कीको लागि मदरल्याण्ड ओभरसिज प्रालि कार्यालयले नै १ लाख ८० हजार असुलेको हो । बाहिर एजेन्टले भने तीन लाखसम्म असुलेका छन् ।

ओभरसिज प्रालि परिसरमा भेटिएका लामा थरका एक एजेन्टका अनुसार मेनपावरले १ लाख ८० हजार लिंदै आएको छ । १ लाख ८० हजारदेखि ३ लाख रुपैंयाँसम्म लिएको आफूलाई थाहा भएको लामाले बताए । उनले भने, ‘उनीहरु विदेशमा गएर टन्न पैसा कमाउँछन्, हामी चाहीँ यहाँ खाली हात ? त्यसैले उनीहरुले पनि कामाउँछन् हामीलाई पनि केही दिनु पर्छ नि ।’

खाडी मुलुकमा चाँही १० हजारदेखि माथि जति लिन सक्यो त्यति नै नाफा हुने उनको भनाई थियो । उनले भने, ‘मेनपावरहरुले चाँही खाँडी मुलुक जाँदा ८० हजार भन्दा माथि दिने गरेको छ ।’
यता मदरल्याण्ड ओभरसिज प्रालिले घरायसी कामदारका लागि माग भएकोमा ब्युटीपार्लरका लागि भन्दै झुक्काउने समेत गरेको छ ।

टर्कीका लागि नै ब्यूटीपार्लरका लागि भन्दै काभ्रे पाँचखालबाट आएकी बिमला घिमिरे र शर्मिला दुलाल अन्तरवार्ता दिने तयारीमा थिए । तर, ब्युटीपार्लरका लागि नभई घरेलु कामदारका लागि अन्तरवार्ता लिन लागेको थाहा पाएपछि अन्तरवार्ता नै दिन मानेनन् । उनीहरुले पासपोर्ट माग्दा समेत मेनपावरले सजिलो गरी दिएनन् । उनीहरुको राहदानी लिएर म्यानपावरलाई बुझाउने एजेण्ट पनि राहदानी लिएपछि सम्पर्कविहीन बनेको उनीहरुले बताए । यसैगरी रसुवाबाट आएकी मिङमा शेर्पालाई पनि त्यसरी गरी झुक्याइएको थियो ।

Main Power
मदरल्याण्ड ओभरसिजका अध्यक्ष टेकराज पौडेल



किन कार्बाही गर्दैन सरकार ?
सरकारले २०७२ सालदेखि शुरु गरेको निःशुल्क भिसा र टिकटको प्रावधानपछि पनि कामदारले चर्को शुल्क तिर्नु परेको छ । मेनपावर कम्पनीहरुले खुल्लेआमा लुट मच्चाइरहँदा समेत श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभाग भने मौन छ । ‘उजुरी आए कार्बाही गरिन्छ’ भन्ने हल्का औपचारिक प्रतिक्रिया दिएर वैदेशिक रोजगार विभाग भने बसिरहेको छ ।

मेनपावर कम्पनीहरुले भने कामदारबाट पैसा असुलेर रसिद समेत दिने गरेका छैनन् । रसिद माग्ने कामदारहरुलाई उल्टै ‘रसिद चाहिए हामी पठाउँदैनौं’ भनेर धम्क्याउने गरेका छन् । विभागका प्रवक्ता भोलनाथ गुरागाईले युएईका लागि १० हजार तोकिएको र त्यो भन्दा बढी लिएको प्रमाण भेटिए कार्बाही गरिने बताउँछन् ।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार मेनपावर कम्पनीहरुले कामदारबाट अहिले पनि सरकारले तोकेको भन्दा पाँच गुणा बढी रकम असुल गरिरहेका छन् । तर, मदरल्याण्ड ओभरसिजले १५ गुणा बढी रकम असुल्ने गरेको छ ।

बढी रकम नदिए मेनपावर व्यवसायीले विदेश नपठाउने, सरकारी निगरानीको अभाव, नगए अर्को व्यक्तिले तिरेर जाने (रोजगारीमा जाने प्रतिष्पर्धा), धेरै तलब सुविधा र सजिलो काम भएकाले बढी रकम तिर्ने गरेको बताउने गरेको पाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७