१० दिनभित्र कर्मचारीले समायोजन पत्र बुझ्नु पर्ने, मन्त्रालयले गर्‍यो निर्देशन


२५ मंसिर २०७५, मंगलवार
karmachari samyojan

काठमाडौं, २५ मंसिर । कर्मचारीको विरोधका वावजुद आएको कर्मचारी समायोजनको पत्र अब कर्मचारीले नबुझी नहुने भएको छ ।

karmachari samyojan

घुमाइरो बाटोबाट मन्त्रिपरिषदबाट स्वीकृत हुँदै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित समायोजन अध्यादेश अब कडाइका साल लागू गर्ने पक्षमा सरकार पुगेको छ । अब १० दिनभित्र संघ, प्रदेश र स्थानीय तहका कर्मचारीले समायोजनको पत्र बुझ्नु पर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई १० दिनभित्र आफ्नो मातहतका स्थायी कर्मचारीलाई समाजोजन भएको पत्र थमाई त्यसको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिइसकेको समाचार स्रोतले जानकारी दिएको छ ।

मन्त्रालयले सोमबार सबै स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपािलका) लाई पत्र पठाउँदै उक्त निर्देशन दिएको जनाइएको छ । सरकारले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश, २०७५ आइतबार जारी गरेको छ ।

अध्यादेशको दफा ६ को उपदफा ४ मा साविकको स्थानीय निकायबाट स्थायी नियुक्ति पाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम समायोजन भएका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले अध्यादेश प्रारम्भ भएको मितिले १० दिनभित्र समायोजन भएको पत्र दिई सोको जानकारी मन्त्रालयलाई दिनुपर्ने उल्लेख छ ।

‘अध्यादेशको दफा ६ को उपदफा ४ बमोजिम आफ्नो कार्यपालिकाबाट निर्णय गराई सम्बन्धित कर्मचारीहरुलाई निजहरुको स्थायी नियुक्तिपत्रको सक्कल प्रति रुजु गरी १० दिनभित्र समायोजन भएको पत्र दिई सोको जानकारी यस मन्त्रालयलाई समेत दिनु हुन २०७५ मंसिर २४ गतेको सचिवस्तरीय निर्णय अनुसार अनुरोध छ’, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सबै स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ ।

कर्मचारी समायोजन अध्यादेश जारी नहुँदा कर्मचारी समायोजन अन्योलमा परेको थियो । सरकारले आइतबार अध्यादेश जारी गरेपछि कर्मचारी समायोजनको बाटो खुलेको हो ।

यसैअनुसार संघीय मामिला मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाई समायोजन भएको पत्र १० दिनभित्र बुझ्न भनेको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले पनि पुस महिनाभरमा सबै स्थानीय निकायमा कर्मचारी पुर्‍याई सक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७