भक्तपुरमा सडक अतिक्रमण गरी बनाइएका संरचना भत्काउन थालियो

सडकलाई आठ मिटर चौडा बनाई कालोपत्रे गरिने


१ पुष २०७५, आईतवार
dojar bhaktapur

भक्तपुर, १ पुस । सडक विस्तार कार्यलाई महाअभियानको रूपमा लिएको सूर्यविनायक नगरपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन शुरु गरेको छ ।

dojar bhaktapur

सूर्यविनायक नगरपालिकाले सिर्जनानगरबाट नगरपालिका कार्यालयतर्फ जाने सडक विस्तारको क्रममा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना आइतबार भत्काउँदै । तस्विर : रासस

आज भक्तपुरको सिर्जनानगर चोकबाट नगरपालिका जाने सडकको दायाँ–बायाँ रहेका सडक अतिक्रमण गरी बनाएका घरका पर्खाल एवं टहरा हटाउन शुरु गरेको हो ।

नगरपालिकाका प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सदस्य दीपक बिसुङ्खेलगायतको प्रत्यक्ष अनुगमनपछि सडक सीमाङ्कन गर्दै डोजर लगाएर सडकको संरचना हटाउन थालिएको हो ।

स्थानीय पूर्वाधार लागत साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सांसद महेश बस्नेतको सांसद् कोषको रु २० लाख र नगरपालिकाको रु ३० लाख गरी कूल रु ५० लाखको लागतमा सडक विस्तार कार्य शुरु भएको नगर प्रमुख थापाले बताए ।

सडकलाई आठ मिटरको चौडा बनाउने र त्यसमा ढल, खानेपानीको पाइप, फुटपाथ र कालोपत्र गर्ने गरी विस्तार कार्य शुरु गरिएको र आगामी दुई महिनाभित्र सबै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिएको उनले बताए ।

वडाअध्यक्ष जोशीले यसअघि नै पटक–पटक घर टहरा भत्काउन सूचना जारी गरे पनि नहटाउनेको नगरपालिकाले डोजर लगाएर भत्काउन शुरु गरेको बताए । अहिले घर नभत्काउने तर मापदण्डभित्र परेको पर्खाल, पेटी र टहरा भने भत्काउने योजना अनुरूप डोजर लगाउन थालिएको उनको भनाइ छ ।

नगरपालिकाका इञ्जिनियर जनक न्यौपानेका अनुसार सडक विस्तारका क्रममा गुणस्तरीयता कायम राख्न दैनिक इञ्जिनियरसहितको टोलीले अनुगमन एवं निरीक्षण गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७