अख्तियारको जेलमा अरबपति सुब्बा


२ पुष २०७५, सोमबार
laxman bhattarai

काठमाडौं, २ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले मालपोत र नापी कार्यालयमा भ्रष्टाचार ब्याप्त रहेको थाहा पाए पनि भ्रष्टाचारमा संलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था आउने सार्वजनिक अभिब्यक्ति दिए । उनले दिएको अभिब्यक्ति जस्तै छ, मालपोत र नापी कार्यालयहरुको अवस्था ।

laxman bhattarai

मालपोत कार्यालयका कर्मचारीहरुले २०६६ देखि पूँजीगत लाभकर छली गरी अरबौैं रुपैयाँ राजस्व नोक्सान पु¥याए । २०७४ साउनदेखि कित्ताकाट नगर्ने मन्त्रीस्तरीय निर्णयविरुद्ध प्रतिआना ५० हजारदेखि १ लाख रुपैयाँसम्म घुस असुली गर्दैआएका छन् । मालपोत र नापीमा भ्रष्टाचार बृद्धि हुनुमा निजामती सेवा ऐन अनुसार आवधिक सरुवा नहुनु पनि महत्वपूर्ण कारण मानिएको छ ।

निजामती सेवा ऐनमा प्रत्येक २ बर्षमा सरुवा हुने प्रावधान छ । तर मालपोत र नापी कार्यालयमा १५ बर्षदेखि कार्यरत कर्मचारी पनि छन् । सामान्य प्रशासन मन्त्रालयदेखि तालुक भूमिब्यवस्था मन्त्रालय र भूमिब्यवस्थापन तथा अभिलेख विभागसम्म मिलाएर सरुवा नहुने तिनै कर्मचारीका कारण भ्रष्टाचारले जरा गाडेको हो भन्ने कुरामा अख्तियारले छानबिन गरे खुल्नेछ । सरुवा भइहाले काठमाडौं उपत्यकाको भक्तपुर मालपोतबाट डिल्लीबजार, कलंकीबाट ललितपुर हुन्छ ।

डिल्लीबजार मालपोत कार्यालयमा १५ बर्षदेखि कार्यरत नायबसुब्बा लक्ष्मण भट्टराईले अरब सम्पत्ति कमाएर मात्र नपुगी झापा दमकको २ बिघा जग्गा कीर्ते जग्गाधनी खडा गरी रजिष्ट्रेसन पास गरेको आरोपमा केही दिनदेखि अख्तियारको हिरासतमा छन्, साँघु साप्ताहिकमा समाचार छ ।
२०६६ मा चितवन भण्डाराका लोकराज पाठकको नामको २० करोड रुपैयाँ मूल्यको जग्गा अर्कै कीर्ते लोकराज पाठक खडा गरी किनबेच गरिएको खुलासा भएपछि २०६९ मा बेजिल्ला पास नै बन्द गरेको थियो । तर डिल्लीबजार मालपोत कार्यालयका नासु भट्टराई र एक कानुन ब्यवसायी मिलेर झापा दमक ४ को २ बिघा जग्गा सक्कली जग्गाधनी टेकमाया आङहाङ भारतमा भएको बेला कीर्ते जग्गाधनी खडा गरी २०७५ मा पास गरे । तर मिति २०६९ को नै राखी त्यतिबेलाकै लिखतमा घुसाएका थिए ।

दमक मालपोतमा दाखाका लागि २०७५ मा कीर्ते जग्गाधनी फौदसिंह लिम्बुसहितको टोली गयो । ६ बर्षअघि डिल्लीबजार मालपोत कार्यालयबाट बेजिल्ले पास भएको जग्गाको यति ढिलो दाखा गर्न आएकाले बुझेर मात्र गर्ने भनेर दमक मालपोतका प्रमुख देवी भण्डारीले लेखे । ६ बर्षसम्म किन दाखा हुन आएन ? कैफियत छ भनेर उनले बुझेर मात्र गर्ने भनेर लेखेका थिए । तर कार्यालय प्रमुख भण्डारीले बुझेरमात्र लेख्ने भने पनि दमक मालपोतका नासु डिल्ली कोइरालाले २ लाख घुसको लोभमा दाखा गरिदिए । नासु कोइराला भ्रष्टाचार प्रकरणमा पटक पटक मुछिएका बदनाम मानिन्छन् । उनले घुस आएपछि दर्ता गरे । पछि सक्कली जग्गाधनीले जग्गाबारे बुझ्दा दृष्टिबन्धक राखेको चाल पाएपछि अहिले नासु भट्टराई अख्तियारको हिरासतमा छन् ।

नासु भट्टराईसँगै यस्तो कीर्ते काममा संलग्न कानुन ब्यवसायी फरार छन् । अख्तियारले उनको खोजी गरिरहेको छ । नासु भट्टराईले आफूले श्रेस्तामा नलेखी कानुन ब्यवसयीलाई लगाएका छन् । तर कीर्ते जग्गाधनीको नाममा बेजिल्ले पास गर्ने मुख्य दोषी नासु भट्टराई नै भएको निष्कर्षमा अख्तियार पुगिसकेको छ ।१५ बर्षदेखि डिल्लीबजार मालपोत कार्यालयको कमाउ मानिने रजिष्ट्रेसन फाँटमा कार्यरत नासु भट्टराई अरबपतिका रुपमा चिनिन्छन् । उनको बानेश्वरको भीमसेनगोला कात्यायानी चोकैमा आधा रोपनी जग्गामा सटरैसटरसहितको मासिक ५ लाख आउने विशाल बंगला छ । काठमाडौं उपत्यकामा २५ रोपनीभन्दा बढी जग्गा विभिन्न नातागोताका नाममा छ ।

उपत्यका बाहिरका बिराटनगर, इटहरी जस्ता सहरमा पनि उनले आफन्तको नाममा जग्गा खरिद गरेका छन् । खोटाङको लामिडाँडाका नासु भट्टराईको जागिरमा प्रवेश गर्दाको र अहिलेको सम्पत्ति हेर्ने हो भने उनी सिधै अकूत सम्पत्ति आर्जनमा पर्दछन् । उनले भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्तिले ५ देखि १० मेघावाटको हाइड्रोपावर नै निर्माण हुन्छ भन्छन् भूमिब्यवस्था मन्त्रालयका कर्मचारीहरु ।

सरुवा हुने सिजनमा सामान्य प्रशासन मन्त्रालयका सहसचिवदेखि मन्त्रीसम्मलाई लाखका बिटाले हिर्काउँदै १५ बर्षदेखि उनी एउटै फाँटमा कार्यरत छन् । डिल्लीबजार मालपोतको रजिष्ट्रेसन फाँट उनले बिर्ता नै पाएको जस्तो मानिन्छ । उनीसँग ७ बर्षअघि काम गरेका डिल्लीबजार मालपोत कार्यालयका प्रमुख भन्छन्–‘लक्ष्मण भट्टराई नेपालको निजामती क्षेत्रका एक बदनाम पात्र हुन् । उनी हाक्काहाक्की दिनमा १ लाख घुस नआए निद्रा नै लाग्दैन भन्थे ।’
महाराजगंज चक्रपथको कुष्ठरोग निवारण संघको ३ रोपनी १४ आना जग्गा पनि यिनै नासु लक्ष्मण भट्टराई, मीनबहादुर भट्टराईलगायतले बीसौं लाख रुपैयाँ घुस लिएर गैरकानुनी रुपमा मोहलक्ष्मी पाण्डेको नाममा दर्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७