नाराबाजीपछि कांग्रेस महासमिति वैठक केहिबेरका लागि स्थगित

‘लञ्च’ समयमा विधान मस्यौदामा सहमति खोजिंदै


२ पुष २०७५, सोमबार
Congress metting 1

काठमाडौं, २ पुस । नेपाली कांग्रेसले पार्टीको विधान मस्यौदालाई पारित गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

Congress metting 1

केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि आज बिहान शुरु भएको कांग्रे्रस महासमिति बैठक केही समयका लागि स्थगन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेसले संघीयताअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न तयार गरेको विधान मस्यौदा प्रतिवेदनमा शीर्ष नेताबीच सहमतिको प्रयास जारी छ ।

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि कांग्रे्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टी पदाधिकारी बैठक जारी रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।

पदाधिकारी बैठकमा सहमतिपश्चात् विधान मस्यौदाको प्रतिवेदन केन्द्रीय समितिबाट पारित गराई आजै महामन्त्री एवं विधान संशोधन मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले महासमिति बैठकमा पेश गर्नेछन् ।

विधान मस्यौदामा पदाधिकारी संख्या र पदाधिकारीको चयन प्रक्रियाबारे कांग्रेसमा बहस जारी छ । संस्थापन पक्ष पदाधिकारी संख्या बढाउन नहुने र बढाए पनि सभापति, एक महामन्त्री र एक कोषाध्यक्षबाहेक अन्य पदाधिकारी सभापतिबाट मनोनयन हुनुपर्ने पक्षमा छ ।

संस्थापन इतर पक्ष भने केन्द्रीय कार्यसमितिको संख्या बढाएसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने र सबै निर्वाचित हुनुपर्ने अडानमा छ । विधान मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउने लगभग सहमति भइसकेको छ ।

महासमिति बैठकमा अन्य विभिन्न चार विषयका प्रस्तावमाथि महासमिति सदस्यले आ–आफ्ना धारणा राख्नेक्रम जारी छ । शुक्रबारदेखि यहाँ शुरु भएको महासमिति बैठकको बन्दसत्रमा राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रस्तावमाथि छलफल जारी छ । शनिबार उद्घाटनपछि बन्द सत्र शुरु भएको हो ।

ती प्रस्तावमध्ये राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधिले शनिबार बैठकमा पेश गरेका थिए । अन्य तीन प्रस्ताव क्रमशः महामन्त्री डा. शशाङ्क कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत र कोषाध्यक्ष सीतादेवी यादवले आइतबार प्रस्तुत गरेका थिए ।

‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ शुरु भएको महासमिति बैठक पुस ३ गतेसम्म चल्नेछ ।

प्रवक्ता शर्माका अनुसार बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् ।

पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय महासमिति बैठक भएकाले यसले पार्टीको नीतिगत सुधार र पार्टीलाई नयाँ ऊर्जावान् बनाउने कांग्रे्रसजनको अपेक्षा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७