के छ राजपा नेपालको घोषणापत्रमा ?


८ मंसिर २०७४, शुक्रबार
rajapa nepal 2

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।rajapa nepal 2

प्रदेश २ को जलेश्वरमा बिहीबार एक कार्यक्रमका बिच राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो लगायतको सहभागितामा सार्वजनिक गरिएको घोषणापत्रमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने मुख्य चुनावी नारा तय गरिएको छ ।
१५ बुँदे चुनावी प्रतिबद्धता सहितको घोषणापत्रमा ‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपा नेपालले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयमा केन्द्रित भएको छ ।
मधेस, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह एवं आन्दोलनका क्रममा शहादत दिएका र घाइते भएका हरेक जीवित र मृत शहिदहरुको सपना साकार पार्न नेपालबाट सबैखाले विभेदको काुननी अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने जनाएको छ ।
सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सिमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैंका लागि अन्त्य गर्दै मुलुकलाई शान्ति, समृद्धि र सफलताको पथमा डोर्याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको संकल्प लिएको छ ।
घोषणापत्रमा अति आवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचिमा राजपा नेपालले राखेको छ । पहिचान, स्थान, अधिकार र स्वाभिमानको सङ्घर्षलाई जारी राख्दै देशको चौतर्फि विकास द्रुत गतिमा हुनुपर्ने भन्दै राजपाले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रूपमा बेवास्ता गरेको मधेस र थरुहट क्षेत्रको विकासलाई अबको सर्वाधिक प्राथमिकताको विषय बनाऊ लक्ष्य लिएको छ ।
बाढी पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक सञ्जाल र रेल सेवाको विस्तार, काठमाण्डौं– तराई मधेस द्रुतमार्ग, बारा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर–अन्तर्राष्ट्रिय पर्यटन स्थल एवंंं विश्व हिन्दु केन्द्र, विरगंजलाई नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्बिनी–अन्तर्राष्ट्रिय बुद्धिष्ट केन्द्रसूचिना प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिब मैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन, सहिद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता राजपाले जनाएको छ ।

हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, बर्षायामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको जनतालाई प्रकोपबाट सर्धैका लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाले जनाएको छ ।

जनकपुर अन्तर्राष्ट्रिय पर्यटन स्थल एवं विश्व हिन्दु केन्द्रलाई प्राथमिकता दिँदै जनकपुरको बृहत् र चौतर्फि विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र अध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तर्राष्ट्रिय आधुनिक विमानस्थलको रूपमा स्तरोन्नती गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ ।

वीरगन्जलाई आधुनिक सहरको रूपमा विकास गर्दै यसलाई वैकिङ्ग, बिमा, शेयर कारोबार र अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने, नयाँ उद्योगहरु खोल्न निजी क्षेत्रलाई आकर्षित गर्ने सेवा, सुविधा र छुटको योजना बनाईने, वीरगन्जलाई विश्वका अन्य व्यापारिक र आर्थिक कारोबार हुने सहरहरुसँग सरकारी स्तरमै जोडिने घोषणापत्रमा समावेश गरिएको छ ।

विराटनगर, भैरहवा र नेपालवगन्ज नेपालको आर्थिक विकासको मेरुदण्डका रहेको भन्दै राजपा नेपालले निर्वाध विद्युत् आपूर्ति, औद्योगिक विकासको व्यवस्थापन, औद्योगिक सडकको निर्माण एवं स्तरोन्नती, श्रमिक विकास, प्राविधिक प्रशिक्षण र राजनीतिक हस्तक्षेपको समाप्ति लगातका दिशामा ठोस कार्य गर्दै उद्योगहरुको सम्बन्धन र थप विस्तारको कार्यक्रमहरू बनाउने जनाएको छ ।
कलैया, राजविराज, सिराहा, जलेश्वर, मलङ्गवा, गौर, नवलपरासी, तौलिहवा, नेपालगन्ज, तुलसीपुर, गुलरीया र महेन्द्रनगरमा एकीकृत सहरी विकास कार्यक्रम लागु गरी आधुनिक सहरको निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।

लुम्बिनी विकास गुरुयोजनालाई तत्काल थप प्रभावकारी बनाउने, ढिलो भएमा योजना र निर्माण कार्यहरुलाई यथाशिघ्र सम्पन्न गर्ने, सुरु नभएका कार्यक्रमहरुलाई अविलम्ब प्रारम्भ गर्ने, राजनीतिक हस्पताक्षेपलाई निरुत्साहित गर्ने, सुस्त गतिमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई शीघ्र सम्पन्न गरी सञ्चालनमा ल्याउने राजपाको प्रतिबद्धता व्यक्त गरेको छ ।

सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका वा गुणस्तरीय नभएका ठाउँहरूमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनिक रूपमा सञ्चालित माध्यमिक, उच्च माध्यमिक एव व्यवासायीक शिक्षा केन्द्रहरुमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ ।

उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटी सहित ऋण उपलब्ध गराउने, बैङ्क र वित्तीय संस्थाहरूलाई कुल ऋण प्रवाहको कम्तीमा १ प्रतिशत युवाहरूको नयाँ कारोबारमा लगानी गर्नुपर्ने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा आधुनिक क्रिकेट मैदानको निर्माण गर्ने, त्यसमध्ये कुनै दुईलाई अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने रङ्गशालाको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको छ ।

‘महिलाको लागि हरेक उच्च शिक्षा निःशुल्क गर्ने, हरेक नवजात बालिका जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा बालिकाको नाममा १० हजार रुपैंया अनुदान दीर्घकालीन मुद्धती खाता खोली बैङ्कमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार ब्याजसहितको एक मुस्ट रकम प्रयोग गर्न सक्नेछन्’ घोषणापत्रमा भनिएको छ ।

कम्तीमा १० जोड २ सम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका विवाहयोग्य महिलालाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गर्ने समेत राजपाले प्रतिबद्धता जनाएको छ ।

किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपालो कृषि क्षेत्रको आधुनिकिकरण, नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता, उत्पादन वृद्धि र विविधिकरण, सरलीकृत कृषि ऋण तथा नयाँ बजार विस्तार आदि उपायहरू अवलम्बन गर्दै किसानको जीवन सुखद बनाउनुको साथै देश विकासमा कृषि क्षेत्रको योगदानलाई वृद्धि गर्ने उल्लेख गरेको छ ।

नेपालको कुल जनसङ्ख्याको लगभग एक चौथाई गरिबीको रेखामुनि रहेका अति विपन्न नेपालीको जीवनलाई थप कस्टकर हुनबाट बचाउन त्यस्ता हरेक नेपालीको पहिचान गरी तिनलाई सहुलियत मूल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

वैदेशिक लागनी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन दिन विधिको शासन, नीतिगत स्थिरता, प्रभावकारी अनुगमन, वैदेशिक लागनीको वातावरण निर्माण, राजनीतिक हस्तक्षेपबाट मुक्ति र यथेष्ट प्रोत्साहन प्रदान गर्दै निजी क्षेत्रको विकास, विस्तार र राष्ट्र निर्माणमा योगदान गर्ने सहज स्थितिको सिर्जना गर्ने प्रतिबद्धता पनि राजपाले जनाएको छ ।

मधेस आन्दोलन, थरुहट आन्दोलन र अन्य आन्दोलनहरुमा आफ्नो ज्यानको आहुति दिने अमर शहिदहरुलाई श्रदाञ्जली अर्पण गर्न, तिनको त्यागलाई प्रेरणाको श्रोतको रूपमा रूपान्तरण गर्न र तिनको योगदानलाई चिर स्मरणीय बनाउन शहादत दिएका हरेक ठाउँमा सहिद स्तम्भ र शहादत भएका हरेक जिल्लामा सहिद स्मारकको निर्माण गर्ने, सहिदको लागि गरिएको हरेक प्रतिबद्धता पुरा गर्ने, सहिद परिवारको उचित हेरचाह, घाइते र अंगभंग भएकाहरुको उपचार र रोजगारीको व्यवस्था गर्ने राजपा नेपालको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

हरेक क्षेत्र, विशेष क्षेत्र भन्दै राजपाले मिथिला, भोजपुरा, अवध र थारु समुदायको इतिहास, भाषा, संस्कृति र कलालाई संरक्षण गर्ने उदेश्यले उपयुक्त स्थानहरुमा संग्रहालय र अनुसन्धान केन्द्रहरुको स्थापना गर्ने, प्रदेश नम्बर–२ मा निर्माण गरिने पहिलो दुईवटा पाँचतारे होटेललाई करमा पूर्ण छुट दिने, एक अर्ब भन्दा बढी लगानीको अन्य कुनै पनि उद्योगलाई करमा ५० प्रतिशत छुट दिने प्रतिबद्धता घोषणापत्रमा गरेको छ ।

घोषणासभामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संविधानको पूर्णता, समावेशिताको व्यवहारिक सुनिश्चितता, नागरिकता र भाषिक अधिकारको प्राप्ति एवं समग्र मधेस र थरुहटको द्रत विकासको चाहनासँग आफूहरूले कुनै सम्झौता नगरेको र कदापि नगर्ने स्पष्ट गरेका छन् ।

दोस्रो संविधानसभाको निर्वाचनपछि अनेकौँ अवसर, प्रलोभन र दबाबका बाबजुद राजपा नेपाल स्वयम वा यसको गठन हुनुभन्दा पहिले यसको कुनै पनि घटक दल सरकारमा नगएको स्मरण गराउदै ठाकुरले त्यो आफूहरुका लागि सत्ताभन्दा माथि मुद्दा रहेको कुराको प्रमाण रहेको बताए ।

आसन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन पनि आफूहरुको जारी सङ्घर्षको एउटा महत्त्वपूर्ण कडी रहेको उल्लेख गर्दै उनले पहिचान, सम्मान, स्थान र स्वाभिमान प्राप्तिको निर्वाचन रुपी लडाइमा मतदाताहरुको मत आफूहरुका लागि सबैभन्दा ठुलो हतियार हुने बताए ।

मधेस आन्दोलनमा शहीदलाई ५० लाख दिने

घोषणासभा कार्यक्रमलाई सम्बोधन गर्दै राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेस आन्दोलनमा शहादत दिएका परिवारलाई ५० लाख रुपैयाँ दिने गरेका छन् । महतोले प्रदेश २ मा राजपा–फोरम गठबन्धनको सरकार बन्ने दाबी गर्दै मधेस प्रदेशको सरकारद्वारा सहिद परिवारलाई ५० लाख दिने बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको आहवान गरे सँगै आन्दोलनमा शहादत दिने लाई ५०–५० लाख रुपैयाँ दिने विवादास्पद निर्णय गर्दा निकै आलोचना भएको थियो ।

राजपाको चुनावी घोषणापत्रमा ५० लाख दिने कुरा उल्लेख नभएपनि प्रदेश २ मा आफ्नो सरकार बन्ने निश्चित भएको र प्रादेशिक सरकारद्वारा उक्त रकम उपलब्ध गराउने नेता महतोले बताए ।

सहिद परिवारलाई आर्थिक सहयोग बाहेक प्रादेशिक सरकार अन्तर्गत आउने सरकारी जागिर उपलब्ध गराउने, सहिद परिवारक बच्चाहरूको निःशुल्क अध्ययनको व्यवस्था गरिने, सहिद परिवारलाई स्वरोजगारको लागि छुट्टै आर्थिक सहायता उपलब्ध गराउने पनि नेता महतोले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मधेस आन्दोलनमा शहादत दिएका कारण नै देशमा सङ्घीयता आएको र आफ्नै प्रदेशमा आफ्नै सरकार बन्ने सपना साकार हुने बताउँदै उनले सहिदको सम्मानमा कुनै आँच आउन नदिने र सहिद परिवारको सम्पूर्ण जिम्मेवारी मधेस सरकारले लिने बताए ।

राजपा नेपालको घोषणापत्रमा राजनीतिक दल
नेपाली काँग्रेस
नेपाली काँग्रेस नेपालको सबैभन्दा पुरानो, धेरै हदसम्म ठुलो, लोकतन्त्रको हरेक संघर्ष र आन्दोलनको क्रममा अग्रपंक्तिमा रहेको र बहुदलीयताको प्राप्तिपछी सबैभन्दा लामो समयसम्म सत्तासंचालन गरेको राजनीतिक दल हो । आन्तरिक रूपमा यो दल अन्त्यन्तै अलोकतान्त्रिक भए पनि यसको दर्शन, अवधारणा र घोषणापत्रहरुमा लोकतन्त्रले पर्याप्त स्थान पाई नै रहन्छ ।

परम्परागत रूपमा मध्यम धारको अगुवाई गर्दै लोकतान्त्रिक समाजवादलाई अंगालेको राजनीतिक दल भए पनि नेपाली काँग्रेसले राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, धर्म निरपेक्षता, माओवादीको मुलधारमा प्रवेश र संविधानसभाको निर्वाचन आदि कार्यमा नेतृत्वदायी भूमिका खेलेकोले यसको प्रशंसा गरिनु पर्छ ।

तर जब जब कुरा मधेसी, दलित र शिल्पी, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वन्चितिकरणमा परेका र पारिएकाहरुको अधिकार र अवसरको कुरा गरिन्छ काँग्रेस एक जिम्मेदार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै एक सङ्कीर्ण, अनुदारवादी र जातीय दलको रूपमा आफूलाई संकुचित गर्छ ।
अनेकौँ पटक जनताले बहुमत दिए पनि राष्ट्रिय र दुरगामी सोचको कमी, असक्षम र अदुरदृष्टि नेतृत्व र दल भित्र रहेका गुट–उपगुटको कारणले आफूलाई दिइएको भूमिका र अवसरलाई काँग्रेसले सदुपयोग गर्न सकेको छैन ।

नेपाली काँग्रेस सजग, सचेत र समझदार भइदिएको भए अनेकौँ पटकको मधेस आन्दोलन र ती आन्दोलनहरुमा दर्जनौं निर्दोष नेपालीहरूले ज्यान गुमाउनु नपर्ने राजपा नेपालले जनाएको छ ।

नेपालको दलीय र संसदीय अभ्यासको क्रममा देखिएका परिवारवाद, नातावाद, सांसद खरिद–बिक्री, चुनावमा पैसा र बलको अत्याधिक प्रयोग, जनप्रतिनिधिहरुको असंस्कारी र अलोकतान्त्रिक आचरण, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन र राजनीतिक र कर्मचारी वृतमा देखिएको व्यापक भ्रष्टाचार आदि विसंगतिहरुको ठुलो भागीदार पनि काँग्रेस नै हुनु पर्छ ।

नेकपा एमाले

नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि एमालेले आफ्नो औचित्य साबित गर्न नसकेको दलको रूपमा रहेको छ । एमालेले नश्लीय सोचको आधारमा आफ्नो विचार, कार्यक्रम र मुद्दाहरुको चयन गर्छ । यस पार्टीले दलको चुनावी रणनीति अन्तर्गत र साथै केही नेताको व्यक्तिगत महत्वाकांक्षा पूरा गर्न आफ्नै देशको एक तिहाई जनसङ्ख्यालाई विदेशी, बिखण्डनकारी र अन्तर्राष्ट्रिय भन्न सक्छ त्यस पार्टीले राष्ट्रियता जस्तो अति सम्बेदनशील शब्दलाई पनि आफ्नो सुविधाको लागि गलत व्याख्या गरेर विभाजनको विषय बनाउन सक्छ । चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि बिथोल्न पछि पर्दैन त्यो संगठन राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?

एमाले स्वरूपमा राजनीतिक दल देखिएता पनि यो विचार, आचरण र व्यवहारले आफूलाई एक सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकारमा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने पहाडी मूलको उपल्लो जातिहरुको सङ्गठन हो ।

पार्टीको माथिल्लो नेतृत्व पंक्तितमा रहेका २० जना नेताहरूको अनुहार हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ कि यो केही जाति विशेषका पुरुषहरुको बाहुल्यता र वर्चस्व भएको पार्टी हो । त्यहाँ मधेसी, दलित, मुस्लिम, महिला आदिको शुन्यप्रायः अपस्थितिले यो सङ्गठनको जातीय र नश्लीय सोंच आफैमा पुष्टि हुन्छ ।

एमाले राष्ट्रिय विकासमा तगारो हाल्ने सबै भन्दा अग्रणी पार्टी हो । अत्यन्तै महत्वको अरुण–तेस्रो जलविधुत आयोजना बन्ने क्रममा हुँदा विश्व बैङ्कलाई पत्र लेखेर रोकेको वास्तविकता हो ।

काठमाडौँ–मधेस द्रुतमार्ग निर्माणको सबै तयरी पूर्ण हुन लागेको अवस्थामा विभिन्न बखेडा झिकेर अवरुद्ध गरेको अवस्था होस् अथवा नेपालमा बन्दै गरेका राष्ट्रिय महत्वका आयोजनाहरुमा दलिय र व्यक्तिगत फाइदाको आधारमा समर्थन वा विरोध गर्ने स्थायी रणनीति होस, एमाले मुखले विकास भने पनि विकासलाई सधैँ अलपत्र पर्दै आएको दुई जिब्रे सङ्गठन हो ।

नेपाली जनताको गरिबी, अशिक्षा, सचेतनाको अभाव, राज्यले प्रदान गर्ने सेवा र सुविधामा पहुँचको कमी र परम्परागत रूपमा रहँदै आएको जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्नुको साटो त्यो भित्र खेल्दै विपन्न वर्गलाई सम्पन्नताको झुठो सपना बाँड्दै आफ्नो राजनीतिक स्वार्थ सिद्धिमा लागेको सङ्गठन हो एमाले । नेपालको कुनै पनि संसदीय निर्वाचनमा कहिल्यै बहुमत नल्याएको एमालेलाई सम्झँदा यो सरकारमा नगएको वा सरकारको नेतृत्व नै नगरेको समयको सम्झना कमै हुन्छ ।

तसर्थ, एमाले विशुद्ध सत्ताको लागि राजनीति गर्ने र सत्ता प्राप्ति वा सत्तामा रही रहनको लागि जोसँग पनि जुनसुकै मूल्यमा जतिबेला पनि तालमेल गर्न तयार रहेको पार्टी हो । त्यसै गरीकन हरेक निर्वाचनमा गरिब र धनीको बिचमा फाटो ल्याएर विपन्न वर्गबाट प्रशस्त मत ल्याए पनि ती गरिब दशकौं पछि पनि गरिब नै रहेको कुराले एमाले जनतालाई मतको लागि मात्र प्रयोग गर्ने र कसैको पनि हित गर्न नसक्ने पार्टी हो भनेर प्रमाणित हुन्छ ।

कुनै पनि तहको कुनै पनि निर्वाचनमा एमालेको समर्थनमा दिएको हरेक मत समावेशिताको विरोधमा, विकासको विरोधमा, राष्ट्रियताको विरोधमा, राष्ट्रिय अखण्डताको विरोधमा र सामाजिक सद्भावको विरोधमा स्वतः जाने निश्चित छ ।

माओवादी केन्द्र

यो घोषणा–पत्र नेपाली जनताको हातमा पुग्दासम्म नेकपा माओवादी केन्द्र कुन नामले चिनिने, कुन स्वरूप वा आकारमा भेटिने वा नभेटिने वा फेरि कुनै अर्को पार्टीमा विलय नै हुने हो कि निश्चित छैन ।

आफ्नो जन्मदेखि नै अनेकौँ पटक सङ्गठनको नाम र नेतृत्वमा परिवर्तन गरेको, कुनै पनि मुद्दामा टिक्न नसकेको, पटक पटक आन्दोलनमा जाने तर बिनाकारण फेरि पर्किने, द्रुत गतिमा सहयात्री दलहरू फेरिरहने, स्वरमा ठुलो तर शासनकालमा अत्यन्त फितलो भइदिने र हालका दिनमा आफ्नो अस्तित्व नै मेटेर अर्को दलमा समाहित हुने तयारीमा रहेको अत्यन्तै अस्थिर, अच्चमको र लोपोन्मुख दल हो माओवादी केन्द्र ।

माओवादीको नाममा सुरुमा चिनिएको यो दलले नेपालमा गणतन्त्रको प्राप्तिमा, जनताको विचारोदयमा, समावेशिताको मुद्दा उठान गर्ने क्रममा र केही हदसम्म पहिलो संविधानसभामा सकारात्मक र परिवर्तनका मुद्दाहरूमा मजबुत योगदान दिएको पार्टी हो ।

तर पछिल्लो क्रममा विशेष गरीकन दोस्रो संविधानसभामा यसको उपस्थिति कमजोर भएपछि माओवादी केन्द्र सिद्धान्त बिर्सिएर दिग्भ्रमित भएको, आफ्नो अस्तित्व बचाउन विचलित भएको र जायज–नाजायज सबैसँग सहकार्य गर्दै हिंडेको अत्तालिएको र अविश्वासलो सङ्गठनको रूपमा देखिएको छ । त्यसैले होला अहिले आएर कैयौँ पक्षबाट माओवादीलाई राज्यको कम्तीमा दुई दशकको समय र सत्र हजार भन्दा बढी नेपालीको जीवन व्यर्थ गुमाएको आरोप लगाउन थालिएको छ ।

वाम गठबन्धन (कम्युनिस्टहरूको अवसरवादी मिलन) चुनावको मुखैमा आएर अत्यन्तै कटु सम्बन्ध भएका कम्युनिस्ट नामधारी दुई संगठनहरुको मिलनलाई वाम गठबन्धन भनेर भनिएको छ ।

यसले वाम शब्दको नै अपमान गरेको छ । वामपन्थी ती दलहरू हुन् जो समाजको तल्लो वर्गको प्रतिनिधित्व गर्छ, तिनको अधिकार र अवसरको लागि माग उठाउँछ, जसले परिवर्तन र अग्रगामी यात्राको कुरा गर्छ, जसले सबैलाई समेटर विकासको बाटो पहिल्याउने कार्य गर्छ, जसले ओझेलमा परेका कमजोर र अल्पसंख्यक समुदाय, विपन्न वर्ग लगायत बहिष्करण तथा वन्चितिकरणमा परेका र पारिएकाहरुको उठानको कुरा गर्छ ।

तर व्यक्ति हत्याबाट उठेर आएका, एकले संसद् र अर्कोले जंगलबाट देशलाई दशकौं पछाडि धकेलेका, गरिबको मत प्राप्त गरेर तिनलाई झनै गरिब बनाएका, केही मतकालागि देशलाई विदेशीहरुको क्रिडास्थल बनाउन पनि पछि नपरेका र तथाकथित उपल्लो जाति र वर्गका नेताहरूको मात्र हालीमुहाली भएका संगठनहरुको गठजोडलाई कसरी वाम गठबन्धन भन्ने ? यो एउटा नेताको फेरी प्रधानमन्त्री बन्ने सपना र अर्को नेताको राष्ट्रपति बन्ने महत्वाकांक्षाका कारणले कुनै पनि सिद्धान्तको लेसमात्र पनि उपस्थिति नभएको अत्यन्तै अल्पकालीन र अवसरबादी राजनीतिक हथकण्डा मात्र हो ।

जुन नक्कली चरित्र नेपालका कम्युनिस्ट पार्टीहरूले देखाएका छन् त्यस्तो चरित्र भएका अन्य कुनै पनि देशको कम्युनिस्ट पार्टीहरूले आफ्नो मुलुक र जनताको भलो गरेको उदाहरण छैन । नेपालका आम जनता यो विषयमा पूर्ण सचेत र सजग छ ।

सामान्य बहुमतको आधारमा मात्र गणतन्त्र नेपालको पहिलो प्रधामन्त्री बन्दा पुष्पकमल दाहालले सेना प्रमुख परिवर्तन गर्ने, प्रधानमन्त्रीबाट हटेपछि वाईसीएलको प्रयोग गरेर काठमाडौँ उपत्यकालाई घेरावन्दीमा पार्ने र आम जनतामा सर्वत्र त्रास फैलाउने प्रयास लाई जनताले अझै बिर्सिएका छैनन् ।

त्यसै गरी हालैका दिनमा केपी ओलीले ६ जना उप–प्रधानमन्त्री बनाएर दोस्रो ठुलो राजनीतिक दलको नेता हुँदा–हुँदै पनि प्रधानमन्त्रीको रूपमा देखाएको दम्भ, बोलेको बोली र अन्य राजनीतिक दलहरूसँग गरेको व्यवहारले के पुष्टि गर्छ भने तिनीहरूले मौका पाए भने फेरि पनि तानाशाही लाद्ने वा अधिनायकबादको अभ्यास गर्ने दुस्साहस गर्न पछि पर्ने छैनन् ।
तसर्थ, देशमा यस्तो कुनै पनि अवस्थाको सिर्जना हुनबाट जोगाउने सबैभन्दा ठुलो अभिभारा अहिले नेपाली जनताको काँधमा आइपुगेको छ । वाम गठबन्धन देशलाई दशकौं पछि धकेल्ने मेसो हो । यसको बहिष्कार गरौँ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७