चक्रपथमा मोनोरेल चल्ने निश्चित, चिनियाँ कम्पनीसँग डीपीआर सम्झौता


४ पुष २०७५, बुधबार
mono rail

काठमाडौं, ४ पुस । सार्वजनिक यातायातमा सकस भोग्दै आएका काठमाडौं उपत्यकाबासीले अब मोनोरेल चढ्न पाउने भएका छन् ।

mono rail

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनीसँग आज सम्झौता गरेका छन् ।
चाइना रेलवे २५ औं ब्युरो ग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) लाई डीपीआर तयार पार्ने जिम्मा दिइएको छ ।

राष्ट्रिय सभागृहमा आज (बुधबार) महानगरपालिका र कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अबको एक वर्षभित्र कम्पनीले डीपीआर तयार गरिसक्ने छ । चक्रपथमा मोनोरेल निर्माणका लागि एक खर्ब १६ अर्ब लागत लाग्ने प्रारम्भिक अध्ययनले देखाएको थियो । चिनियाँ अधिकारीहरुले यसको लागत केही घट्न सक्ने बताएका छन् ।

mono rail samjhauta
चिनियाँ कम्पनीका प्रतिनिधि र काठमाडौं, ललितपुर महानगरपालिकाका प्रमुख सम्झौता पत्रमा हस्ताक्षर गर्दै ।

सीआरसीसी चीन सरकारको स्वामित्व रहेको कम्पनी हो । मोनोरेल सञ्चालनका लागि भौगोलिक वातावरण समेत सबै प्रकारले उपयुक्त हुने चिनियाँ कम्पनीको दावी छ । प्रारम्भिक प्रतिवेदन अनुसार आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्ने भनिए पनि एक वर्षको अवधि राखेर सम्झौता भएको छ ।

त्यसको ३ वर्षपछि मोनोरेल बनाउन सकिने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । अब फटाफट योजनाअनुसार काम भए मात्रै पनि ४ वर्ष समय लाग्नेछ । चिनियाँ रेल्वे अधिकारीले डीपीआर सहित ५ वर्ष समय लाग्ने बताएका छन् ।

नागरिकको अपेक्षा अनुसार काम गर्न नसकिरहेको आरोप खेप्दै आएका काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यका लागि पनि मोनोरेल आफ्नो काम देखाउने माध्यम बन्न सक्ने देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७