रवि ओड बने दोस्रो नेपाल आइडलकाे विजेता


६ पुष २०७५, शुक्रबार
रवि ओड

काठमाडौं, ६ पुस : चर्चित गायन रियालिटी सो नेपाल आइडलको दोस्रो नेपाल आइडल विजेता रवि ओड भएका छन् ।

रवि ओड



शुक्रबार पुल्चोकस्थित इन्जिनियरिङ कलेजको चौरमा भएको फिनालेमा ओड विजेता घोषित भएका हुन् । भोट र निर्णायकको छनौटको आधारमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारी तथा कञ्चनपुरका रवि ओड फाइनलमा पुगेका थिए । दर्शकको भोटको आधारमा ओडले उपाधी जितेका हुन् ।

उपाधि उचालेपछि रविले सबैको जित भएको बताए । उनले भने, ‘मसँग शब्द छैन्। यो जित हामी शीर्ष चारमा परेका हरुको हो। मैले जित्नु भनेको तपाईहरुको जित हो। हामी चारजना नै विजेता हो यो नेपाल आइडलको।’


बिक्रम बराल पहिलो रनअप बन्दा सुमित पाठक दोस्रो रनरअप बने भने अस्मिता अधिकारी तेस्रो रनर अप बनिन्। 

यो उपाधीसँगै उनले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एउटा एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाएका छन् ।

साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणका प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशक एलिन श्रेष्ठ र लोकेश वज्राचार्य हुन् । निर्णायकका रूपमा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् । यो सोलाई रीमा विश्वकर्मा र आसिफ शाहले होस्ट गर्दै आएका छन् ।

को हुन् रवि ओड ?

उत्कृष्ट चारमा परेका अर्का प्रतिस्पर्धी हुन् सुदुरपश्चिमका रवि। उनी नेपाल आइडल आउनुअघि दोहोरी साँझमा गाउँथे। धनगढी अडिसनमा ’जाउँला रेलैमा’मा गाएपछि उनले नेपाल आइडमा आफ्नो स्थान बनाएका थिए। रवि लोकदोहोरी, पप हिन्दी, पप सबै विधामा गाउन सक्छन।

’र्पायौ भुतुकै’ बोलको गीतबाट निर्णायक न्ह्यू बज्रचार्यको नजरमा परेका थिए रवि। उनको स्वर पार्श्व गायनमा रुचाइन्छ। ’देउडा’, ’म मौनता’, ’सम्बोधन तिमीले’,’मायाले बाध्यो लौ रेसम’,’फेवा तालमा साइँली’ उनले प्रस्तुत गरेका उत्कृष्ट प्रस्तुति थिए।

बिक्रम बराल : पहिलो रनअप बने

bikram baral

गोल्डेन माइक विजेता हुन् बिक्रम बराल। उनले पोखरा अडिसनमा ’मर्न बरु गाह्रो हुन्न’बोलको गीत गाएर दर्शकको मन जितेका थिए। ’लैजा चरी’बाट उनी निर्णायकको नजरमा परेका थिए। बिक्रमले पछिल्लो समय नेपाली फिल्ममा पार्श्व गायनमा स्वर पनि दिए। बिक्रम पहिलेदेखि नै गीत संगीतमा सक्रिय छन्। बिक्रम नेपाल अडिसन दिनुअघि विदेशिने सोचमा थिए।

अहिले गीतसंगीतमै भविष्य देखेका छन्। उनले गाएका गीतहरुमा ’अलि अलि भन्दा भन्दै’बोलको गीतलाई निर्णायकले निकै रुचाएका थिए।

लोक दोहोरी विशेष कार्यक्रममा उनको गायनको निकै प्रशंसा पनि भयो। उनी नोटेसन मिलाएर गीत गाउने प्रतिस्पर्धी रहेको निर्णायकको दाबी छ। ’वसन्त’ उनले प्रस्तुत गरेका गीतहरुमा उत्कृष्टमध्यकै एक हो। पहिलो नेपाल आइडल बुद्ध लामा पनि पोखराकै हुन्।

सुमित पाठक : दोस्रो रनरअप

sumiot pathak

पहिलो दिन गितार बोकेर नेपाल आइडलको काठमाडौं अडिसनमा आएका थिए सुमित। निर्णायकबाट उनले गोल्डेन माइक प्राप्त गरे। बिस्तारै दर्शकको मन जित्दै उनी फिनालेसम्म आइपुगेका छन्। झापाका उनी सानैदेखि गितार बजाउने रुचि राख्थे। ’कुन माया सदर भो’बाट उनले धेरै दर्शकको मन जिते।

उनलाई एक सोमा निर्णायक इन्दिरा जोशीले भर्सटाइल गायक भनेर सम्बोधन गरेकी थिइन्। उनका प्रस्तुतिहरुमा ’गुराँसको फेद मुनि’, ’बोल्नै पर्छ’, ’क्षमा आमा’ उत्कृष्ट थियो।

अस्मिता अधिकारी : तेस्रो रनर 

Ashmita Adhikari

’मेरो प्यारो मान्छे’ बोलको गीत गाएर झापाकी प्रतियोगी अस्मिता फिनालेकी एकमात्र महिला प्रतिस्पर्धी हुन्। थियटर राउण्ड, पियानो राउण्ड, गाला राउण्डमा उनले दर्शकको मन जितिन्। नेपाल आइडलमा आएर उनले झनै आफ्नो गायन प्रतिभा निखारेकी छिन्।

’न देखेको भए हुन्थ्यो’, ’छाएछ बसन्त’, ’चाहन्छु तिमीलाई’, ’हरियो डाँडामाथि’, ’सय थरी बाजा एउटै ताल’ आइडलमा अस्मिताले प्रस्तुत गरेका उत्कृष्ट प्रस्तुतिहरु हुन्।

नेपाल मेडिकल कलेज जोरपाटीबाट नर्सिङ अध्ययन सकेकी उनी पनि झापाकै हुन्। उनले गायनसँगै नर्सिङमा पनि सक्रिय रहने बताएकी छिन्। अस्मिताले हालै भनेकी थिइन् ’मेरो सानै देखिको चाहना नर्स र गायिका बन्ने थियो। आज दुवै पुरा भएको छ। म नर्सिङ पेसा र गायन क्षेत्रलाई सँगसँगै अगाडी बढाउने छु।’ अस्मिता पहिला भजन गाउँथिन्। इस्टर्न र वेस्टर्न विधाको संयोजन गाउन उनी माहिर छिन्।

तस्बिहरु : अन्नपूर्ण

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७