करको दायरा वृद्धि गरिएको छ : अर्थमन्त्री


७ पुष २०७५, शनिबार
youraj khatiwada

राँझा, ७ पुस । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएको छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिवार उद्घाटन गर्दै उनले सरकारले करको दर नभई दायरा वृद्धि गर्नेतर्फ अग्रसर भएको उल्लेख गरे ।

youraj khatiwada

“करको दायरा फराकिलो छैन भनेर कर बढाउने होइन व्यवसायीलाई करको दायरामा ल्याउने हो ।”, अर्थमन्त्री खतिवडाले भने, “भौगोलिक रुपमा पनि करको दायरा बढाइँदैछ, त्यसैको उदाहरण हो सुर्खेतमा राजश्व कार्यालय स्थापना हुनु ।”

उनले करदाता सेवा कार्यालयलाई राजश्व कार्यालयका रुपमा विकास गर्ने र भौगोलिक रुपमा नयाँ करदाता सेवा कार्यालय स्थापना गर्नतर्फ सरकार अग्रसर भएको बताए ।

कर लिँदा वा दिँदा निरुत्साहित वा दुरुत्साहित भएको खण्डमा गुनासो सुन्ने निकायमा सम्पर्क गर्न अनुरोध गर्दै अर्थमन्त्री खतिवडाले भने, “कानून, विधि र नियमसङ्गत काम गर्नुहोला, राजनीतिक दबाब आए मलाई भन्नुस्, पछि तपाई उन्मुक्ति पाउनुहुन्न ।”

उनले सङ्क्रमणकालमा केही महीना द्विविधा भए पनि आगामी दिनमा सबै कुरा सहज हुने बताउँदै करको दायरा बढाउन र बक्यौता उठाउनतर्फ ध्यान दिन कर्मचारीलाई आग्रह गरे ।

विगतमा खुम्चिएको राजश्व सङ्कलनको दायरा बढाउन छोटी भन्सारलाई सक्रिय बनाउँदै व्यवस्थित गर्ने र नयाँ नाकामा छोटी भन्सार स्थापना गर्नेतर्फ पनि आफूले ध्यान दिएको उनको भनाइ छ ।
सो अवसरमा आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको चारतले भवन रु चार करोड ४५ लाखमा निर्माण भएको आन्तरिक राजश्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७