प्रदेश १ को राजधानी कहाँ ? हेर्नुस् प्रतिवेदन के भन्छ ?


९ मंसिर २०७४, शनिबार
state of Nepal प्रदेश

धनकुटा : एउटा अध्ययनले प्रदेश नम्बर १ को राजधानी धनकुटा उपयुक्त हुने देखाएको छ । पूर्वका मुख्य चार शहरले संघीय राजधानी दावी गर्दै आएकामा भौतिक संरचनाको अबस्था अध्ययन गर्दा धनकुटा उपयुक्त हुने देखिएको हो । प्रदेशको अस्थायी राजधानीको लागि विराटनगर, धरान, इटहरी र धनकुटा चर्चामा छन् ।

state of Nepal प्रदेश

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटा र बिराटनगरले चार वटै शहरका सरकारी भौतिक संरचनाको अध्ययन गर्दा धनकुटा उपयुक्त हुने देखिएको हो । अध्ययनले प्रादेशिक राजधानीका लागि पर्याप्त भौतिक संरचना र कम खर्चिलो हुने भएकाले धनकुटा उपयुक्त हुने देखाएको अध्ययनमा संलग्न शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख राजेन्द्र खतिवडाले बताए । अध्ययन प्रतिवेदन शहरी विकास मन्त्रालय पठाइएको छ ।
१५ करोड २५ लाख खर्च गरे राजधानी बस्ने
मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभा, आवास लागयतका लागि धनकुटाका १५ वटा सरकारी भवनको नाम केन्द्रमा पठाएको खतिवडाले जानकारी दिए । प्रदेशको अस्थायी राजधानी धनकुटामा राख्दा तत्कालका लागि अनुमानित ५ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने देखिएको छ । पर्याप्त भौतिक संरचना विद्यमान रहेकाले हालका लागि बाउन्ड्री पर्खाल, रंगरोगन र मर्मतसंभार मात्र गर्दा धनकुटामा राजधानी बसाउन सकिने देखिएको हो ।
विराटनगरमा राजधानी राख्दा तत्काल साढे २१ करोड खर्च लाग्ने
बिराटनगरमा प्रदेश राजधानी बसाउँदा धनकुटामा भन्दा चार गुणा बढी खर्च लाग्ने देखिएको छ । बिराटनगरका ११ वटा सरकारी भवन प्रदेश कार्यालयका लागि सिफारिस गरिएको छ । ती भवन मर्मतमा करिब २१ करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको डिभिजन कार्यालय विराटनगरका सूचना अधिकारी विनोद सिंहले जानकारी दिए । उनले भने, ‘शहरी विकास मन्त्रालयले पत्र पठाएपछि हामीले इटहरी र धरानमा पनि भौतिक संरचनाको अध्ययन ग¥यौं । तर, त्यहाँ आवश्यक भौतिक संरचना भेटिएन ।’

अस्थायी राजधानीका लागि ७ देखि १० वटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, मुख्य मन्त्रीको कार्यालय, प्रदेशसभा लगायत कम्तिमा १५ वटा भवन आवश्यक पर्ने देखिएको छ । तर, इटहरीमा ५ वटा र धरानमा ६ वटा मात्र उपयुक्त भवन भेटिएको डिभिजन कार्यालय बिराटनगरले जनाएको छ । इटहरी र धरानमा पर्याप्त भौतिक संरचना नहुनु, विराटनगरमा भौतिक संरचना भएर पनि मर्मतमा बढी खर्चिलो हुँदा प्रादेशिक राजधानीका लागि धनकुटा नै उपयुक्त हुने अध्ययनले देखाएको हो ।
धनकुटामा सरकारी भवन धेरै

तीन सय ९१ वटा सरकारी भवन रहेको धनकुटामा राजधानीका लागि केन्द्रमा सिफासिर गरिएका बाहेक पनि स्तरीय सरकारी भवन धेरै रहेका छन् । मन्त्रालय तथा आवासका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, लोकसेवा आयोगको कार्यालय, सरकारी वकिलको कार्यालय, घरेलु कार्यालय, नगरपालिकाको व्यापारिक भवन लगायत २० भन्दा बढी उपयुक्त भवन छन् ।

वि.सं. १९४० देखि प्रशासनिक गौंडा हुँदै यस अघि पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम समेत रहेको धनकुटालाई प्रादेशिक राजधानी बनाउन हरेक हिसाबले उपयुक्त हुने स्थानीयबासी बताउँछन् । राजधानी बनाउन खर्च कम लाग्ने, ४८ हजार ६ सय रोपनी सरकारी जग्गा भएको, प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा रहेको, उपयुक्त हावापानी, मजबुत सुरक्षा व्यावस्था लगायतका कारणले धनकुटालाई प्रादेशिक राजधानी बनाउनुको विकल्प नरहेको एमालेका स्थानीय नेता उठान मादेनले बताए ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७