धनगढीमा ओलीको प्रश्न, ‘झोलाभरी पैसा ल्याएर घर किन्दैमा स्थानीय भइन्छ ?’


९ मंसिर २०७४, शनिबार
kp oli 5

धनगढी : एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री आरजु देउवा राणाप्रति कटाक्ष गर्दै निर्वाचनको मुखमा घर किन्दैमा स्थानीय नभइने बताएका छन् । वाम गठबन्धनले धनगढीमा आयोजना गरेको आमसभामा ओलीले क्षेत्र नम्बर ५ बाट कांग्रेस उम्मेदवार राणाप्रति प्रश्न गर्दै भने,‘काठमाडौंका केही मान्छे पैसाको थैला बोकेर यहाँको बासिन्दा बन्न घर घडेरी किन्न थालेका छन् । चुनावका बेला एक झोला पैसाले घर किन्दैमा स्थानीय भइन्छ ?’

kp oli 5 

टुरिष्ट उम्मेदवारको आरोप लागेपछि प्रधानमन्त्री पत्नीसमेत रहेकी राणाले धनगढीमा ३ करोडको घर किनेकी थिइन् । ‘चुनाव जित्न काठमाडौंबाटै आउनु पर्छ । यहाँका थारु, रानाथारुले चुनाव जित्नु हुन्न ?’ ओलीले भने, ‘मतदाताले घर देखे तर मान्छे देखेको छैन, कसरी स्थानीय भइयो ?’

कैलाली क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले नेता नारदमुनी राना उम्मेदवार छन् । जित–हार जे भए पनि राना यहीं बस्ने उल्लेख गर्दै ओलीले भने, ‘अरु जितेर गएपछि फर्किन्छन भन्ने के ग्यारेण्टी छ ?’

२०७० देखि हरेक चुनाव जितेको कांग्रेसले धनगढीको विकासका लागि केही पनि गर्न नसकेको ओलीको आरोप छ । प्रश्न गर्दै ओलीले भने,‘चार वर्षको अवधिमा यहाँ एउटा पनि गोरेटो बाटो बन्यो ? के विकास भयो ?’

वाम गठबन्धनका उम्मेदवारलाई जिताएर ‘पैसा ठूलो होईन, इमान ठूलो हो’ भन्ने सन्देश दिन धनगढीका मतदातासँग ओलीले आग्रह गरे । ‘थोरै होइन, भारी मतले जिताएर पैसा ठूलो होइन भन्ने दिनुहोस् ।’

प्रधानमन्त्री देउवामाथि पनि खनिए ओली
प्रधानमन्त्री देउवाले ज्योतिषीले सात पटक प्रधानमन्त्री बन्ने भनेर गरेको भविश्यवाणीप्रति व्यंग्य गर्दै ओलीले भने–‘उहाँहरुलाई ज्योतिषीले प्रधानमन्त्री बनाउँछ । हामी तपाईहरुको मतले प्रधानमन्त्री बन्छौँ र देशको विकास गछौँ । त्यसैले वाम गठबन्धलाई भोट हाल्नुहोला ।’

चुनावपछि एमाले र माओवादी एउटै पार्टी बन्ने ओलीले जिकिर गरे । ‘एकीकरणका लागि समय नपुगेर तालमेल गर्नु परेको हो । हामी एउटै घोषणापत्र बनाएर अघि बढेका छौं । चुनावपछि एक हुन्छौं ।’ अध्यक्ष ओलीले भने–‘हाम्रो एकतालाई कसैले रोकेर रोकिदैन । एकता भयो भयो ।’

सभामा माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलले कांग्रेसलाई लक्षित गर्दै भने,‘वाम गठबन्धनले मुलुकमा भुइँचालो गएको छ । मानसिक सन्तुलन गुमाएका छन् ।’ थापाले भने, ‘कम्युनिष्ट सरकार आए रुन पनि पाईदैन भनेर बर्बराउन थालेका छन् ।’

यसअघि वामपन्थीको बहुमत भए पनि सरकारमा गैरवामपन्थी हावी भएको बताएका बादलले स्थिर सरकार गठन गरि देशलाई समृद्धिको बाटोमा लैजान वामपन्थी एक ठाउँमा उभिएको जिकिर गरे ।

उनले भने,‘ निर्वाचनपछि वामपन्थी सरकार बन्नबाट कसैले रोक्न सक्दैन । आगामी १० वर्षभित्र मुलुकमा २० हजार मेगावाटको विद्युत उत्पादन हुन्छ, कृषिको आधुनिकीकरण गरी औद्योगिक क्रान्ति हुन्छ । वामशक्तिको योजना अनुसार मुलुकमै रोजगारीको सृजना भई देश विकासतर्फ लम्किन्छ ।’

सभामा माओवादी नेता एवं कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले काँग्रेसबाट देशको विकास सम्भव नभएको बताए । २०७० सालयता हरेक निर्वाचन जितेको कांग्रेसले विकासका लागि सिन्कोसमेत नभाँचेको भट्टको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७