हङकङमा ल्होसार : फुट्न होइन जुट्नलाई मनाऊ


९ पुष २०७५, सोमबार
Narendra Gurung

महान चाड ल्होसार, ल्होछार नजिकिंदै छ । गुरुङ, तामाङ, शेर्पा जातिले ल्होसार चाड विशेष रुपमा मनाउने गरेका छन् । उनीहरुले फरक–फरक समयमा ल्होसार मनाउने गरेको भए पनि पर्वको उद्देश्य एकै रहेको छ ।

Narendra Gurung

नरेन्द्र गुरुङ


उसो त ल्होसार एकै दिन मनाउने वातावरण सिर्जनाका लागि राष्ट्रियस्तरमा समेत छलफल र बहस चलेका हुन् । तर, त्यो अझैसम्म व्यवहारिक रुपमा कार्यान्वयन हुन सकिरहेको छैन । जसका कारण उनीहरुले फरक–फरक समयमा ल्होसार मनाउँदै आएका छन् । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका अगुवाहरु बताउँछन् ।


‘तमु संस्कृति अनुसार पुस १५ गते खुशीसाथ सामुहिक भोज, सांस्कृतिक कार्यक्रम एवम् नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको नेपालको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व विशेष रहेको जानकार बताउँछन् । नेपालमा मात्र होइन वौद्ध धर्मावलम्बीहरु पुगेको र बसोबास रहेको विदेशी भूमिमा पनि यो चाड मनाइने गरेको छ ।

सदाको वर्षझै यो वर्ष पनि हङकङलाई ल्होसारको रौनकले छोएको छ । ङ्हि ह्युलरी मुबा…. आगुई ह्युलरी मुवा तमु मै तानलाई फो ल्हो, ल्होसारै आँसिमाला….
ल्होसार पर्वलाई विशेष चाडको रुपमा मनाउने गरेका छन् । गुरुङ समुदायले पनि ल्होसार (ल्होछार) लाई महान पर्वको रुपमा मनाउँदै आएको छ ।
नेपालमा मात्र होइन, विदेशी भूमिमा पनि वौद्ध धर्मावलम्बी नेपालीहरुले ल्होसार पर्व मनाउने गरेका छन् । ल्होसार पर्वका बारेमा वौद्ध धर्मावलम्बीहरु पनि केहि कुरामा विभाजन जस्तो देखिए पनि यो पर्व सद्भाव र एकताको पर्वका रुपमा विकास भइरहेको छ ।

वौद्ध समुदायमा पुस १५ लाई गुरुङ समुदायले विशेष दिनका रुपमा लिने गरेका छन् । पुस १५ गते तमु ल्होसार पर्वका रुपमा गुरुङ समुदायले मनाउने गरेका छन् । हङ्कङमा पनि नेपाली समुदायको बसोबास ठूलो संख्यामा रहेको छ । विशेष गरी जनजाति समुदायका नेपाली हङ्कङमा ठूलो संख्यामा छन् । त्यहि जनजाति समुदायमध्येको गुरुङ जातिहरु पनि ठूलो संख्यामा हङ्कङमा बस्दै आएका छन् ।

त्यहि भएर पनि हङ्कङमा गुरुङ जातिले ल्होसार पर्वलाई विशेष रुपमाले मनाउँदै आएका छन् । हङ्कङमा गुरुङ जातिका अगुवा र युवाहरुले नेतृत्व लिइरहेका संस्थाहरु, गाउँ, टोललगायत धर्म अनि आफ्नै गोत्रभित्रका स–साना गरी झण्डै दुई दर्जन विभिन्न संघ संस्था क्रियाशिल छन् । तर, दुःखको कुरा ल्होसार पर्व मनाउने सवालमा अझै यी संस्थाहरु एक हुन सकिरहेका छैनन् । उसो त तमु ल्होसारलाई सबै गुरुङ जाति एक ठाउँ भेला भएर संयुक्त रुपमा मनाउनु पर्छ भनेर छलफल र बहस नचलेका होइनन् । तर, ती छलफलहरु अहिलेसम्म सार्थक बन्न सकिरहेका छैनन् । फलस्वरुप यो वर्षको फोल्होसार र ल्होछार आफ्नै–आफ्नै तरिकाले मनाउन ती संघसंस्थाहरु जुटेका छन् । तर, कसैले कसैसँग कार्यक्रम नजुधाउने अनौपचारिक सहमति जस्तो देखिएको छ । यसरी अलग–अलत रुपमा ल्होसार पर्व मनाए पनि नेपाली सँस्कृति र चाड विदेशी भूमिमा पनि चलेको छ । तर, यसलाई सबै गुरुङ समुदाय एकैथलोमा भेला भएर संयुक्त रुपमा मनाउने वातावरण अबका दिनहरुमा बनाउनु पर्छ ।
एकै जाति, एकै उद्देश्य, आखिर किन फरक कार्यक्रम ?

Gurung article
Gurung
Gurung Hongkong
Tamu


हङ्कङका गुरुङ समुदायलाई ल्होसारको रौनकले छपक्कै छोएको छ । अहिले हङ्कङका अधिकांश बिबिक्यु खान मिल्ने होटल, ठूला पार्कहरु र रेष्टुरेन्टहरु बुक भइसकेका छन् । होटल र पार्क बुकिङ गर्ने काम डिसेम्बर २५ तारिखदेखि लगातार जनवरी महिनाभर रहन्छ ।

व्यस्त जीवन शैली भएकाहरुले समेत यो चाडमा आफ्नो कामको व्यवस्थापन गरी खुलेर खर्च गरी ल्होसार पर्व मनाउने गरेका छन् । विभिन्न संघसंस्थामा आवद्ध गुरुङ समुदायले ल्होसारलाई संयुक्त रुपमा मनाउनु पर्छ भन्ने आवाज निकाल्ने गरेको भए पनि अहिलेसम्म त्यो काम व्यवहारमा देखिन सकेको छैन । त्यसैले कतिपयलाई छुट्टाछुट्टै रुपमा आफ्नै चाड मनाउनु पर्दा खल्लो महसुस समेत हुने गरेको पाइएको छ ।

गएको वर्ष तमु ल्होसार संयुक्त रुपमा मनाउनु पर्छ भन्ने ध्येयले तमु समाज हङकङ र प्रदेश नम्बर–१ गुरुङ समाज हङकङले हङकङका गुरुङ संस्थाहरुबीच अन्तरक्रिया चलाएको थियो । अन्तरक्रियामा सहभागीहरुले तमु ल्होसार संयुक्त रुपमा मनाउने प्रतिवद्धता पनि जनाए । तर, तर, यो वर्षको ल्होसारको मुखमा आईपुग्दा समेत हिजोको प्रतिवद्धता कार्यान्वयन भएको पाइएन् । बरु सबै संघसंस्था आ–आफ्नो तरिकाले ल्होसार मनाउने तयारीमा जुटेको पाइयो ।

आफ्नो जातीय पहिचान बोकेको पर्वलाई संयुक्त बनाउनुको सट्टा कसले कसरी मनाउने भन्ने होड चलेको देखियो । विदेशी भूमिमा आफ्नै चाडप्रति एकै जातिका मानिस विभाजित हुनु विडम्बना जस्तो देखिएको छ ।

यहि हप्ताको आइतबार (डिसेम्बर २५ तारिख) हङकङको पहिलो ल्होसार पूर्वका १४ वटा जिल्लाका गुरुङहरुको छाता संगठन तमु समाज हङकङले नेपालबाट कलाकारहरुलाई बोलाएर मंकिहिलमा मनाउँदैछ । यस संस्थाले हङ्कङमा तमु भवनको आवश्यकता महसुस गरी सोही चाडलाई अर्थ जुटाउने छलफलका रुपमा पनि लिएको छ ।

तमु समाज हङकङले बिशेष कार्यक्रमहरुसहित नेपालबाट कलाकार र चर्चित खेलाडीहरुलाई बोलाएर २६ डिसेम्बरमा मंकिहिलमै ल्होसार कार्यक्रम आयोजनाको तयारी गरिरहेको छ । हङकङमा गुरुङहरुकै सबै भन्दा पूरानो संस्था तमु ट्योहुलाले पनि मंकिहिलमा नै डिसेम्बर ३० तारिख नेपालबाट कलाकारसहित प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कार्यक्रममा निमन्त्रणा गरी ल्होसार मनाउँदै छ ।

यस्तै गुरुङहरुकै धार्मिक संस्था तमु प्येल्हु संघले जनवरी १ तारिख ताइतोङ कन्ट्रीपार्क यङलुङमा नेपाल र हङकङमा रहेका धर्मगुरुहरु (चिवा, पच्यु, घ्याब्री) हरुका साथै कलाकार बोलाएर ल्होसार कार्यक्रम मनाउने भएको छ । गाउँ तथा जिल्लास्तरीय संस्थाहरुले पनि आ–आफ्नो तरिकाले कार्यक्रम तय गरी जनवरी महिनाभर नै पार्क तथा रेष्टुरेन्टहरुमा ल्होसार पर्व मनाउन गइरहेका छन् ।

एकता र सद्भावको पर्वले एक बनाओस्
तमु समुदायले मनाउने ल्होसार पर्व एकता, सदभा्वको पर्व हो । यो दिन एकापसमा मनमुटाव र वैमनश्यहरुलाई बिर्सेर खुशीयालीका साथ ल्होसार चाड मनाइने गरिन्छ । विदेशी भूमिका आफ्नो चाडको महत्व अझ बढी लाग्ने गर्छ । जुन कुरा हङकङमा बसोबास गरिरहेका वौद्ध धर्मावलम्बीहरुले मनन् गरेका छन् ।

विदेशी भूमिमा रहेका आफ्ना सन्ततीहरुलाई आफ्नो मौलिक कला, सँस्कृति, भाषा, भेषका बारेमा जानकारी दिन पनि ल्होसार जस्ता मौलिक चाडपर्वहरुको महत्व धेरै हुन्छ । विदेशी धर्म, सँस्कृतिको प्रभावका कारण आफ्नो मौलिक भाषा, धर्म र सँस्कृतिबाट विमुख बन्दै गइरहेका हाम्रा सन्ततीहरुलाई आफ्नो सँस्कृति बुझ्ने र नजिकबाट अवलोकन गर्ने माध्यम पनि ल्होसार बन्ने गरेको छ । यस्तो वातावरण गुरुङ समुदायका अगुवा र युवाहरुले गर्नु पर्दछ ।

एउटै जातिको एकै उद्देश्यको चाडलाई छरिएर नभई एकत्रित भएर मनाउने वातावरण आउँदा दिनहरुमा बनाउँदै आफ्ना भावी सन्ततीलाई असल ज्ञान, असल सँस्कृतिको बारेमा जानकार गराउँदै लैजानु सबै सचेत तमु समुदायको दायित्व र कर्तव्य हो । विदेशी भूमिका अरुका अगाडि फुटेर होइन जुटेर मौलिक रुपमा आफ्नो चाड मनाउने सद्बुद्धि यो ल्होसार पर्वले सबैमा दिन सकोस् । शुभकामना ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७