राष्ट्रवाद र देशप्रेम सर्बथा विपरित कुरा हाे, सबै राष्ट्रवादीहरु नश्लवादी हुन्


राष्ट्रवादले आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तबाट बाहिर राख्छ

म पनि कुनै बेला एक फिटको होचो राष्ट्रवादी थिए । मैले जीवनका अनुभव सिक्दै मलाई अहिले के लाग्यो भने म राष्ट्रवादी रहिन । जे जे धारणाको आधारमा राष्ट्रवादी हुन्छ । म त्यस्तो हुन सकिँन । अब म राष्ट्रवाद रहिन । जुनबेला म राष्ट्रवादी थिएँ, मेरो एउटा राजनीतिक पाठशालाले दुई तीनवटा कुराका आधारमा मलाई राष्ट्रवादी बनायो। पहिलो नेपाली कांग्रेस, राजा र राजाको बीचमा कम्युनिस्टहरुको सम्बन्धबाट राष्ट्रवाद सुरु भयो। कम्युनिस्ट आन्दोलनमा के भनिन्थ्यो भने ‘कांग्रेस दिल्लीको दलाल हो। वीपी कोइराला लेन्डुप हुन्।’

गणतन्त्र नयाँ मुल्य प्रणाली हो । गणतन्त्रमा आफ्नो भाग्यको निर्माता जनता आफै हुन्छन् । राजतन्त्रमा भावीले छैटीमा लेखिदिएको हुन्छ, ‘तिमि राजा हुने ।’ उ सबैको लागि योग्य हुन्छ । अहिले गणतन्त्र छ, यो गणतन्त्र राष्ट्रवादसँग मिल्दैन, यो सर्बथा विपरित कुरा हो । राजतन्त्रमा केही यस्ता मुल्यहरु हुन्छन्, जसमाथि प्रश्न उठाउन पाइन्दैन । राजा संबिधान र कानुनभन्दा माथि हुन्छ । सबै प्रजाहरु उनको अन्तरगत वंशिभुत हुन्छन् ।

खगेन्द्र संग्रौला



राष्ट्रवाद पनि लगभग त्यस्तै छ । राष्ट्रवाद माथि प्रश्न उठाउन गाह्रो हुन्छ । राष्ट्रवादमा प्रश्नहरु बर्जित हुन्छन् । एक हिसाबले यो अघोषित रुपमा बर्जित बिषय हो । प्रश्न गर्न, विवाद गर्न र विमति जनाउन बर्जित बिषय हो । राष्ट्रवाद नश्लसँग जोडिन्छ । इतिहासभरी सबै राष्ट्रवादीहरु नश्लवादी देखिएका छन् । समकालिन विश्वको कुरा गर्ने हो भने ट्रम्प नश्लवादी राष्ट्रवादी हो । ट्रम्पको राष्ट्रवाद : आप्रवासी बिरोध, अश्वेत बिरोधी, महिला बिरोधी अमेरिकी गौरव ।

मोदी पनि नश्लवादी राष्ट्रवादी हुन् । राष्ट्रवादले शत्रु खोज्छ । मोदीले दुईवटा शत्रुको रचना गरेका छन्, एउटा मुस्लीम अर्को पाकिस्तान । अब नेपालको कुरा गर्ने हो भने खड्कप्रसाद ओलीको राष्ट्रवाद नश्लवादी राष्ट्रवाद हो । यो नश्लवादी राष्ट्रवादले आफूलाई श्रेष्ठ देखाउन शत्रुको निर्माण गरेको छ । एउटा शत्रु भारतीय विस्तारवाद हो, अर्को शत्रु मधेसी । नश्लको आधारमा वर्ण, भाषा, धर्म, भूगोलका आधारमा केही श्रेष्ठ हुन्छ कोही तुच्छ । नेपालमा ओलीको राष्ट्रवादले खस आर्य, पहाडवासी, हिन्दू धर्म मान्नेलाई श्रेष्ठ मान्छ । थारु, मधेसी महिला समेतलाई तुच्छ मान्छ । तेश्रो कुरा यो राष्ट्रवादले अखन्ड नेपालको कुरा गर्छ । तर, सारमा बिखन्डनकारी छ । राष्ट्रवाद आफ्नै देशका बन्धुहरुलाई राज्यको वृत्तबाट बाहिर राख्छ ।

संविधान निर्माण प्रक्रियाको बारेमा अलिकति चर्चा गरौं । संविधान कसरी बन्यो ? एउटा जात वा नश्लले अर्को समुदायमाथि हिंसा थोपर्दै, मान्छे मार्दै, रगतको खोलो बगाउँदै संविधान बनेको थियो । पृष्ठभुमिमा भूकम्प थियो । भूूकम्पले हल्लिएको नेपाली थियो । त्यसलाई पाखा वारियो । संबिधान निर्माण दुईवटा ज्यादतिको आधारमा निर्माण गरियो । पहिलो, टिकापुर घटना घट्यो । टिकापुरको त्यो भूगोलमा अखण्डको नारा थियो । एउटा नश्लले अखण्डको नारा लगायो । त्यो पृष्ठभूमिमा टिकापुरमा हिंसा भयो र केही प्रहरी अफिसर, एक बालक मारिए । उनीहरु सबै पहाडी थिए । त्यसपछि थारु समुदायमाथि राज्यले जघन्य हिंसा थोप र्‍ यो । तिनका पसल लुटिए । घरमा आगो लगाइयो । महिलाहरुमाथि अपमान गरियो ।

तर, हामीले काठमाडौंबाट के देख्यौं ? पहाडी मारिँदा मिडियामा कोलाहल मच्चियो किनकी तिनीहरु श्रेष्ठ थिए । हाम्रो सम्पूर्ण मिडियाको निम्ति ठूलो समाचार बन्यो । तर, थारुहरुमाथि थोपरिएको हिंसाको कहिँ पनि चर्चा भएन । किनकी उनीहरु खस आर्य थिएनन् । उनीहरु नेपाली भाषी होइनन् । सनातनी शाकसहरुको सदस्य समुदाय पनि त्यो होइन ।

मधेसीको लाशमा टेकेर रक्तरञ्जित संविधान
मधेसको कुरा गरौं । संविधान निर्माण भइरहेका बेलामा मधेसका केही असहमति थिए । अन्तरिम संविधानका स्थापित मानक र मादण्डको आधारमा संबिधान बन्नुपर्छ भन्ने आग्रह र दाबी थियो । गरियो के ? एउटा नश्लले, एउटा समुदायले संविधान निर्माण ग¥यो । मधेसलाई बाहिर राखियो । संविधान निर्माण प्रक्रियामै संलग्न गराइएन । संबिधान निर्माणप्रति असहमति राख्ने मधेसी नागरिक मारिए । झण्डै ६० जना मधेसीको लाशमा टेकेर रक्तरञ्जित संविधान निर्माण गरियो । झण्डै देशको आधा जनसंख्यामाथि जघन्य हिंसा थोपरेर संविधान बनाइयो ।

संघीय संबिधानको अर्थ के हो, अवसरबाट बञ्चित, अपमानितहरुलाई संबिधानको फोल्ड भित्र ल्याउने थियो । त्यसले समावेशिताको कल्पना गरेको थियो । झन्डै जनसंख्याको आधालाई बाहिर राखेर संबिधान बनाइयो । राष्ट्रवाद अतितमुखी हुन्छ । यसले भविष्यको कल्पना गर्र्दैन । यसमा अतितका मूल्यहरुको गौरवगान गरिन्छ । जस्तो, ‘असली हिन्दूस्ताना’ । पृथ्वीनारायणले केही भूगोलका टुक्रा जोडेपछि ‘असली हिन्दूस्ताना’ को नारा अलापियो ।

हिन्दूत्वलाई राज्यको धर्म र पहिचान बनाइयो । दोस्रो, ‘हाम्रा साना दुखले आज्र्याको मुलुक होइन’ हाम्रा भनेका कसका ? राणाजीहरुका, शाहाजीहरुका । मधेसीहरुको पूर्खा थिए, थारुहरुका पूर्खा थिए । तर, राज्य कसले बनायो ? राज्यले तिनले बनायो जसको हातमा राज्य थियो । बर्चस्व थियो । बन्दुक थियो । कत्रा दुखले आज्र्याको भन्दा कस्तो लाग्छ भने ती पृथ्वीनारायण तीनै हुन् जो गोर्खादेखि जंगल फाँड्दै आवादी गरेका हुन् ? हाम्रा बाँकी पुर्खा जुम्रा मारिरहेका थिए ? मदिरा पान गरेर लठ्ठीएका थिए ? वा कुम्भकर्णजस्तो ६ महिने के तिनिहरु निद्रामा थिए ?

नेपाललाई बहुजाति देश भनिन्छ, प्रत्येक जातिहरुको योगदान फरक छ । यो देश निर्माणमा सबैको योगदान छ । मधेस आवाद गरेको पहाडीले हो ? होइन मधेसीले हो । आदिवासी भन्न लायकको थारु समुदाय नै हो । नेपालको ईतिहास, सभ्यता, संस्कृतिको निर्माणमा तीनको पनि योगदान छ । तर, यो सम्पूर्ण निर्माण प्रक्रियामा एउटा जात, धर्मलाई श्रेष्ठ मानियो, बाँकीलाई डाँडा कटाइयो । र मैले अघि पनि भने राष्ट्रवादले भन्छ, ‘साम्राज्य दुई हारे हारेन सान हाम्रो’ । कुन–कुन साम्राज्य कसरी हारे ? तपाईंको सान कसरी हारेन ? काल्पनिक श्रेष्ठता स्थापित गर्न केही यस्ता चिज बनाइए । केही मिथकहरु रचना गरिए । केही प्रतिकहरु बनाइयो । एउटा शिष्ट भनिन, अर्कालाई अशिष्ट बनाइयो ।

राष्ट्रवाद र देशप्रेम सर्बथा विपरित
राष्ट्रवाद र देशप्रेम सर्बथा विपरित कुरा हुन् । तपाई कुनै भुगोलमा जन्मिनुहुन्छ, तपाईले त्यहाँको माटो टेक्नुहुन्छ । आमाको दुध चुस्नुहुन्छ । कसैले तपाईलाई डोहोराएर आगनको पल्लो छेउ पुराईदिन्छ । कसैले ठुलो जंघार तारीदिन्छ । त्यो परिवेश, संस्कृतिले एउटा सम्बन्धको निर्माण गर्छ । तर, आफूलाई जन्माउने आमाप्रति सबैलाई ममता हुन्छ । आफूले टेकेको माटोप्रति सबैको ममता हुन्छ । त्यो भूमि जसले तपाईलाई अन्न दियो । त्यो आकाश जसले तपाईलाई हावा दियो, त्यो प्रकृति जसले तपाईको सौन्दर्य चेतनाको निमार्ण गरीदियो ।

त्यसप्रति तपाईम स्वभाविक रुपमा अपनत्व हुन्छ । ममता हुन्छ । त्यो ममता र अपनत्वको प्रतिउत्तरमा एउटा कृतज्ञ नागरिकले आफ्नो देशको निम्ती, समाजको निम्ती केही न केही चेष्ट गर्छ । देश प्रेम नश्लीय छैन । यो श्रेष्ठ त्यो तुच्छ भन्ने हुदैन । भुगोलको चौहत्ती भित्र जति बसेको हुन्छ, माटो प्रति सबैको माया हुन्छ । मलाई पनि माया छ । माटोप्रतिको, आमाप्रतिको, आफ्नो सभ्यताप्रतिको कृतज्ञता भाव हो ।

सिंगो मिडिया सत्तामा विलय
जुनबेला संविधान निर्माण भइरहेको थियो, मधेस आन्दोलन र टिकापुर घटना भइरहेको थियो, बिडम्बना सिंगो मिडिया सत्तामा विलय भएका थिए । मिडिया यतिधेरै राष्ट्रवादी भएको थियो । की अहिलेका राष्ट्रवादी नायकहरु जो हुन्, उत्पाती, वित्पादी । आकाशको जुन खासाइदिने राष्ट्रवादीहरुको रचना मिडियाले गरेको हो । टनकपुरमा पहाडी मारिए, तीनको श्रेष्ठताको गाथा गाइयो । थारुहरुमाथि दमन भयो, तिनको तुच्छताको चर्चा भएन । मधेसमा त्यति धेरै मानिसहरु मारिँदा मिडियाले आपत्ति गरेनन् । ती घटनालाई यस्तरी प्रस्तुत गर्यो, मानौं संविधान निर्माण प्रक्रियामा मधेसी मारिनु गौरवको, पौरखको विषय हो ।

त्यस्तो किन गरिाये होला ? किनभने सनातनी दृष्टिकोणबाट यो देश खस आर्यले बनाएका हुन् । लामो समयदेखि सत्तामा खस आर्य थिए । अख्तियारमा, साधन–स्रोतमा, परम्परागत शक्तिमा, राज्यका यावत उपकरणमा तीनको एकलौटि वर्चश्व थियो ।

अहिलेसम्म मधेसमाथि विदेशी जस्तो व्यवहार गरिन्छ । मेरो बाल्यकालमा महेन्द्रीय शासनको जगजगी थियो । त्यही शासनमा पढेँ । पढाएँ । कम्युनिष्ट आन्दोलनले पनि त्यही कुरा सिकाएका थिए । हामी वीर पृथ्वीनारायणका सन्तान भनेर । मधेसी कायर हुन् भनेर ।

६० जना मानिस मारिँदा मिडियाले मान्छे मरेको कल्पना गरेन । कोही विदेशको दलाल मरो भन्ने भयो । मधेसको भूमि बिदेशीलाई बुझाउने पात्र मरो भन्ने भयो । त्यो अपराधको बीचमा संविधान बनाइयो । एक किसिमले यो संविधान एउटा अपराधिक दस्तावेज हो ।

राष्ट्रवादले संघीयताको सारतत्व झिकिदियो ।राष्ट्रवादले विभेद गर्छ । कसैले कसैमाथि विभेद, घृणा नगरिकन राष्ट्रवाद बन्दैन । यसमा अखन्ड नेपालको कुरा गरिन्छ । यसका निम्ति थारुमाथि हिंसा थोपरियो । मधेसीमाथि हिंसा थोपरियो । परिणाम यो चिन्तनले यो संविधानले नेपाललाई खन्डित ग र्‍ यो । संविधानले विखण्डनतिर लगिरहेको छ ।

 शीतलनिवासमा अहिले कम्युनिष्ट पार्टीको सदस्यले एक जना महिला हुनुहुन्छ। राष्ट्रपतिको चरित्र, दिनचर्या र आकांक्षामा राजतन्त्रकालीन राजाभन्दा केही फरक छैन। धर्मनिरपेक्ष देशमा राष्ट्रपति हिन्दू चाडपर्वमा मन्दिरको दर्शन गर्दै हिँड्छिन्। यो धर्मनिरपेक्षता विरोधी आचरण हो।

नेपाल गरिबहरुको देश हो। धेरै मानिस कुपोषण र महिलाहरु सुत्केरी हुन नसकेर मर्छन्। कतिपय ठाउँमा मानिस जीवनजल नपाएर मर्छन्। दुईतिहाइको कम्युनिस्ट राष्ट्रपतिलाई १८ करोडको गाडी चाहिन्छ। डेढ अर्बको त हेलिकोीटर आइसक्यो। हामीले आलोचना र खिस्सिटियुरी गरिएपटि यो राष्ट्रपतिको विलासिताका लागि किनिएको होइन् भनियो। दुर्गमबाट सुत्केरी बोक्न र विशिष्ट पाहुना आउँदा बोक्न किनिएको हो भनियो। यसले राष्ट्रपति राजाजस्तो हुनुभो।

कांग्रेस कांग्रेसजस्तो रहेन्। कम्युनिस्ट कम्युनिस्टजस्तो रहेन। नेकपाका नेताको चरित्र, संस्कार, जीवनशैली, सम्बन्ध कांग्रेस र मण्डले भनिने राप्रपाको भन्द भिन्न भएन। यसको मुख्य समस्या भनेको राज्यको चरित्र बदलिएन। राज्यको चरित्र बदल्नका लागि जसले आँधीबेहेरी उठाएका थिए। त्यसका नायक पुष्पकमल दाहाल आफूले उठाएका मुद्दा भुलेर ओलीमा बिलय भए।

सारमा यो राष्ट्रवाद नश्लवादी, गणतन्त्र र समाजवादविरोधी, असमावेशी, विभेदपूर्ण छ। परम्परका सबै रोगहरु यसले बोकेर हिँडेको छ। त्यसैले माफ गर्नुहोला, म चाहिँ राष्ट्रवादी होइन।

(लेखक संग्रौलाले मंगलबार (१० पुस २०७५) पोखरामा लिटिरेचर फेष्टिवलमा दिएको मन्तव्यको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar