एमाले स्थायी कमिटी : अहिलेसम्म को कति पटक भए मन्त्री ?


७ फाल्गुन २०७४, सोमबार
cpn uml leader run to ministor

काठमाडौं, ७ फागुन, वाम गठबन्धनको तर्फबाट एमाले अध्यक्ष केपी शर्मा ओली २०७४ फागुन ३ मा प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि अब मन्त्री को को हुने हुन् भन्ने अड्कलबाजी सुरु भएको छ । पार्टीभित्र आन्तरिक दौडधुप पनि तिव्र भएको छ ।

१५ जना मन्त्रीमा एमालेको भागमा ९ जना पर्ने देखिन्छ । त्यसमा एमालेका प्रतिनिधिसभामा प्रत्यक्ष ८० र समानुपातिक ४१ गरी १२१ जनाको नै दाबी रहनु स्वभाविक छ । राष्ट्रियसभामा एमालेबाट निर्वाचित २७ र मनोनीत कम्तीमा २ एमालेको भागमा पर्नसक्ने भएकाले २९ जना पनि मन्त्रीका आकांक्षी हुन् ।

एमालेभित्र प्रतिनिधिसभा र राष्ट्रियसभा समेत गरी १ सय ५० जना मन्त्रीका दाबेदार छन् । एमालेमा पदाधिकारीहरु नै अधिकांश मन्त्रीका लागि लालायित छन् । एमाले स्थायी समितिमा चार पटक मन्त्री भएका भीम रावल र बिष्णु पौडेलदेखि एक पटक पनि नभएका योगेश भट्टराईसम्म छन् ।

cpn uml leader run to ministor

२०५१ मा पर्यटन राज्यमन्त्री हुँदै २०७० मा रक्षा मन्त्रालयसम्म गरी ४ पटक मन्त्री भइसकेका उपाध्यक्ष भीम रावलले सरकारमा समावेश हुने पदाधिकारीले पार्टीको जिम्मेवारी छाड्नुपर्ने नयाँ सूत्र प्रतिपादन गरेका छन् । भीम रावल जत्तिकै ४ पटक मन्त्री हुनेमा एमालेका उपमहासचिव बिष्णु पौडेल पनि हुन् । एमालेका पदाधिकारीमा एकपटक पनि मन्त्री नभएका सचिव योगेश भट्टराईमात्र हुन् ।

स्थायी समितिमा रहेकाहरु पनि सबैले एकपटक मन्त्री हुने अवसर पाइसकेका छन् । ७ स्थायी समिति सदस्य र ४ केन्द्रीय निकायका पुष्प कँडेल र सोमनाथ प्यासी बाहेक अरु सबै मन्त्री भइसकेका अनुहार हुन् । एमालेको १५ सदस्यीय पदाधिकारीमा २ जना बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पूर्व प्रधानमन्त्री हुन् । ओली २०७२ मा प्रधानमन्त्री भइसकेका हुन् भने दोस्रो पटक उनले मौका पाएका छन् । त्यसबाहेक १२ पदाधिकारीमा उपाध्यक्ष वामदेव गौतम चुनावमा पराजीत भइसकेका छन् ।

गौतमले २०५४, २०६५ र २०७० मा तीन पटक उपप्रधानमन्त्रीसहित गृहमन्त्री हुने अवसर पाएका छन् । उपाध्यक्ष युवराज ज्ञवाली सांसद नै हुन सकेनन् भने अष्टलक्ष्मी शाक्य प्रदेशसभाको सांसद भएकाले उनको दाबी रहने कुरै भएन । ज्ञवाली प्रतिगमन ठहरावमा पुगेको बेला २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले बनाएका शेरबहादुर देउवा सरकारमा स्थानीय विकास मन्त्री भइसकेका हुन् । शाक्य पनि देउवाको त्यही सरकारमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थिइन् । शाक्य पहिलो संविधानसभा चुनावपछि २०६५ मा प्रचण्ड सरकारमा उद्योग मन्त्री थिइन् । उनलाई मुख्यमन्त्री बनाउने भनेर प्रदेशमा पठाइयो । र, अपमानपूर्वक पराजीत गरिसकिएको छ । मन्त्रीमा दोहोर्याउनु नहुने कुरा उठिरहेकाले ४ पटक मन्त्री भइसकेका उपाध्यक्ष भीम रावल पर्ने संभावना देखिंदैन ।

उपाध्यक्ष रावल स्व. मनमोहन अधिकारी नेतृत्वमा २०५१ मंसिर १४ मा गठित एमालेको ९ महिने सरकारका पर्यटन राज्यमन्त्री थिए । राज्यमन्त्री भए पनि उनी क्याविनेट मन्त्री नै थिए । त्यसपछि २०५५ पुस ८ मा बनेको र २०५५ पुस १० मा विस्तार भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री थिए । त्यसपछि माधव नेपालको नेतृत्वमा २०६६ जेठ ११ मा बनेको सरकारमा गृहमन्त्री थिए । त्यसपछि २०७२ असोज २५ मा बनेको केपी ओली सरकारमा उपप्रधान तथा रक्षामन्त्री भएका थिए ।

एमालेका महासचिव इश्वर पोखरेल २ पटक मन्त्री भएका छन् । उनी प्रतिगमन ठहरावमा पुगेको भन्दै २०६१ जेठ २८ को शेरबहादुर देउवा सरकारमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएका थिए । देउवाको मन्त्रिमण्डल २०६१ माघ १९ मा बर्खास्त भएको बेला राजबिराजमा रहेका पोखरेललाई शाही सत्ताले त्यहीँ पक्राउ गरी जेलमा राखेको थियो । त्यसपछि २०६८ मा गठित बाबुराम भट्टराईको सरकारमा १५ दिन उपप्रधान तथा परराष्ट्र मन्त्री भएका थिए ।
उपमहासचिव बिष्णु पौडेल २०५३ फागुन २९ मा लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारका युवा तथा खेलकुद मन्त्री भएका थिए । त्यसपछि पहिलो संविधान निर्वाचनपछि २०६५ भदौ २० मा गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जलस्रोत मन्त्री भए । २०६७ माघ २३ मा बनेको झलनाथ खनाल नेतृत्वको सरकार तेस्रो पटक २०६८ बैशाख २१ मा पुनर्गठन हुँदा पौडेल रक्षामन्त्री भएका थिए । खनाल नेतृत्वको सरकारमा सुरुमा उनी विनाविभागीय नै थिए । अर्का उपमहासचिव घनश्याम भूसाल झलनाथ खनाल सरकारमा विनाविभागीय मन्त्री भएका थिए । उनले मन्त्रालयको जिम्मेवारी भने पाएनन् ।

एमालेका पाँच सचिवमध्ये योगेश भट्टराईबाहेक अरु सबै एकपटक मन्त्री भइसकेका छन् । मन्त्री हुने चारमध्ये तीन सचिवले पर्यटन मन्त्रालयकै जिम्मेवारी पाएका थिए । प्रदीप ज्ञवाली जनआन्दोलन २०६२/०६३ पछि गठित गिरिजाप्रसाद कोइरालाको मन्त्रिपरिषद्मा पर्यटन मन्त्री भएका थिए । पृथ्वी सुब्बा गुरुङ लगत्तै बनेको सरकारमा पर्यटन मन्त्री नै भए । यद्यपि उनी मन्त्रीका दाबेदार होइनन् । उनी ४ नम्बर प्रदेशको मुख्यमन्त्री भइसकेका छन् । गोकर्ण बिष्ट झलनाथ खनाल नेतृत्वको सरकारका ऊर्जामन्त्री भएका हुन् । भीम आचार्य संविधानसभाको दोस्रो चुनावपछि सुशील कोइराला नेतृत्वको सरकारमा पर्यटन मन्त्री भएका थिए । तर पार्टी अध्यक्ष केपी ओली र झलनाथ खनाल मिलेर उनलाई ६ महिनामै फालेर दीपक अमात्यलाई मन्त्री बनाइएको थियो ।

स्थायी समिति सदस्यमध्ये मुकुन्द न्यौपाने २०५३ फागुन २९ मा बनेको लोकेन्द्रबहादुर चन्द सरकारका श्रम मन्त्री भएका थिए । शंकर पोखरेल माधव नेपाल सरकारमा सूचना तथा संचार मन्त्री भए भने सुरेन्द्र पाण्डे पनि त्यही सरकारमा अर्थमन्त्री भएका हुन् । स्थायी समिति सदस्य किरण गुरुङ २०६५ को प्रचण्ड सरकारमा वनमन्त्री भएका थिए । यद्यपि उनी ४ नम्बर प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै प्रदेशसभामा सांसद भएका थिए । तर उनी मुख्यमन्त्री हुन सकेनन् ।

स्थायी समिति सदस्य सुवास नेम्वाङ मनमोहन अधिकारी नेतृत्वको एमालेको पहिलो सरकारमा कानुन राज्यमन्त्री भएका थिए । तर न्यायपरिषद बैठकमा राज्यमन्त्रीले भाग लिन नपाउने भएपछि तत्कालै फूलमन्त्रीमा बढुवा भएका भाग्यमानी हुन् । उनी २०६२/०६३ पछि लगातार ८ बर्ष सभामुख भएको खबर साँघु साप्ताहिकमा उल्लेख छ ।।

छविलाल विश्वकर्मा २०६३ मै गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा कृषि विकास मन्त्री भएका थिए । अर्का स्थायी समिति सदस्य सत्यनारायण मण्डल संविधान जारीपछि २०७२ को केपी ओली सरकारमा युवा तथा खेलकुद मन्त्री भएका थिए । मण्डल केन्द्रीय मन्त्रीको रेसमा नै छैनन् । उनी २ नम्बर प्रदेशको संसदीय दलको नेता निर्वाचित भइसकेका छन् । एमालेको अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल पनि एक एक पटक मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७