डोरमणि पौडेल : मेयरदेखि मुख्यमन्त्रीसम्मको यात्रा
काठमाडौं २६ माघ, कम चर्चामा आएका हेटौंडाका डोरमणी पौडेल प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्ने पक्का भएको छ । पार्टी उपाध्यक्ष तथा प्रदेश नम्बर तीनका इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई पराजित गदै उनले मुख्यमन्त्रीको लागि बाटो तय गरेका हुन् । पौडेल प्रदेश सभाका लागि मकवानपुरको क्षेत्र नम्बर एकको ‘ख’ बाट निर्वाचित हुन् ।
शुक्रबार ललितपुरस्थित सिद्धिलाल स्मृति प्रतिष्ठानमा भएको निर्वाचनबाट ३४ मत ल्याएर पौडेल संसदीय दलको नेता चयन भएका हुन् । प्रतिद्वन्दी अष्टलक्ष्मी शाक्यले २४ मत ल्याइन् ।
को हुन् पौडेल ?
पौडेल तत्कालिन हेटौंडा नगरपालिकाको २०४८ र २०५४ मा निर्वाचित मेयर हुन् । उनी पौडेल नेपाल नगरपालिकाका संघको २०५४ अध्यक्ष समेत हुन् ।
राज्य पुनर्संरचना उच्च स्तरीय सुझाव आयोगमा सदस्य भएर काम गरिसकेका पौडेल, अन्तराष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष र शहीद स्मारक बिकास समितिको अध्यक्ष समेत हुन्।
काठमाडौंको तत्कालिन फपिङ्ग गाबिसमा बि.सं. २००२ साल चैत्र १५ गते जन्मिएका उनको स्थायी ठेगाना मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११, नवलपुर हो। मायानाथ पौडेल र कुलकुमारी पौडलका सुपत्र डोरमणिले मानविकी संकायमा स्नातक(बी.ए.)सम्मको औपचारिक अध्ययन गरेका छन्।
बि.सं. २०३० सालदेखि बिद्यार्थी राजनीति सुरु गरेका उनी २०३६ सालदेखि राजनीतिमा सक्रिय भएका थिए। उनले २०३२ देखि १० बर्ष शिक्षक भएर शिक्षण समेत गराएका थिए। उनले लामो समय अर्धभूमिगत र भूमिगत जीवन समेत बिताएका थिए ।
लामो समय अर्धभूमिगत जीवन बिताएका उनको २०४६ सालको जनआन्दोलन ताकामा तत्कालिन सरकारले टाउकोको मुल्य तोकेपछि ५६ दिन भारतमा बसेका थिए । चार पटक कैद सजाय तोकेर जेल परेका उनी १८ पटक प्रहरीको हिरासतमा बसेका थिए ।