जीपले मोटरसाइकललाई ठक्कर दिंदा दाजुभाइको मृत्यु
बारा । कलैया-वीरगञ्ज सडक खण्डको सिसहनीयास्थित विजय आयलस्टोर छेउमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ ।
प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया-५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको मृत्यु भएको हो । दुवै जनाको उपचारको लागि वीरगञ्ज अस्पताल लगिएको थियो ।
त्यहाँबाट थप उपचारको लागि वीरगञ्ज मेडिकल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दाजुभाइ हुन् । दुवै जना सिसहनीयास्थित आफ्नो राइसमिलबाट कलैयामा रहेको घरतिर फर्किँदै थिए ।
सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाइ चढेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीयातर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जीपले ठक्कर दिएको थियो । जीप चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।