१७ बर्षीय किशोरले पोखरामा पार्किङमा राखेको बस चोरेर चितवन पुर्याएपछि …
पोखरा । किशोर–किशोरीले सानातिना सामानमा हात लामो गरेका घटना सबैले सुने देखेका छौं । तर पोखरामा एक १७ वर्षीय किशोरले यात्रुवाहक बस नै चोरर अचम्मित बनाएका छन् ।
तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने एक १७ वर्षीय किशोरले मंसिर २२ गते पोखरा ९, पृथ्वीचोकमा पार्किङ गरिएको यात्रुवाहक बस नै चोरी गरेको कास्की प्रहरीले जनाएको छ । ती किशोरले ग १ ख ९६३८ नम्बरको बस चोरी मात्र गरेनन्, आफै चलाएर भरतपुर महानगरपालिकासम्म पुर्याए । प्रहरीले भरतपुर ११, आँपटारीमा चेकजाँच गर्ने क्रममा निजले बस चोरी गरेको पत्ता लागेको हो ।
ती किशोर अर्को एक बसको सहचालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए । किशोर अहिले प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले कास्की जिल्ला अदालतमार्फत् चोरी तथा डाँका मुद्दाको अभियोगमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
कास्की प्रहरीले पार्किङमा राखिएको स्कुटर चोरीमा संलग्न अर्को एक किशोरलाई पनि पक्राउ गरेको छ । पोखरा १६, दीपमा बस्ने ती किशोर पनि १७ वर्षकै रहेको प्रहरीको भनाइ छ । ती किशोरले यही मंसिर १९ गते पोखरा ३, नदीपुरमा पार्किङमा राखिएको ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १, बगरमा राखिएको ग ८ प ९९३ नम्बरको स्कुटर चोरी गरेका थिए ।
स्कुटर हराएको उजुरीपछि खोजतलासको क्रममा प्रहरीले किशोरलाई ग १४ प २०३४ नम्बरको स्कुटरसहित फेला पारेको थियो । सोधखोज गर्दै जाँदा उनले नै ग ८ प ९९३ नम्बरको स्कुटर समेत चोरी गरेको पुष्टि भएको थियो । ती किशोर यसअघि ३ पटक चोरी मुद्दामा नै पक्राउ परिसकेको प्रहरीको भनाइ छ ।