प्रदेशलाई अधिकार दिने कानून नल्याए सिंहदरबार घेर्छौं : महामन्त्री शर्मा
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् ।
आज (शनिबार) बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले कांग्रेसको प्रदेश सम्मेलन भइरहँदा हरेक ठाउँमा प्रदेशलाई अधिकार सम्पन्न बनाउनु पर्ने माग उठेको भन्दै प्रदेश सरकारले राखेका मागहरू पूरा गर्न आग्रह गरे ।
उनले काँग्रेस महासमिति बैठकसम्म अधिकार सम्पन्न बनाउने गरी कानून आएन भने महासमितिको बैठकबाट निर्णय गरेर काँग्रेसले सिंहदरबार घेर्ने बताए । उनले प्रदेश सरकारले आफ्नो अधिकार मागेकाले अधिकार दिन कन्जुस्याइँ नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरे ।
महामन्त्री शर्माले रुस-युक्रेनको सेनामा अवैधानिक रूपले नेपालीहरूलाई पुर्याउनेहरुलाई कारबाही गर्नुपर्ने बताए । उनले युद्धमा मृत्यु नेपालीहरूको शव गनेर बसेर मात्रै राज्यको कर्तव्य पूरा नहुने भन्दै त्यहाँका राजदूतलाई कुरा गरेर वा सम्बन्धित निकायहरूसँग कुरा गरेर यस विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरे । उनले त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कार्यकारी निर्देशकको विषय चर्चामा रहेको भन्दै राजनीतिक भागबण्डा नभई योग्य व्यक्तिको नियुक्ति हुनुपर्ने बताए ।