काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपमा ११ जना घाइते
काठमाडौं । काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीचको झडपमा परी ११ जना घाइते भएका छन् । बुधबार साँझे साढे सात बजे महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको थियो ।
झडपमा ६ जना फुटपाथ व्यवसायी र पाँच जना नगर प्रहरी घाइते भएका छन् । धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका छन् । ‘बाटोमा फुटपाथ राख्न पाइँदैन भनेर नगर प्रहरी हटाउन गएको थियो,’ उनले भने, ’तर उहाँहरूले अटेर गर्नुभयो । सोही क्रममा झडप हुँदा नगर प्रहरी समेत घाइते भएका छन् ।’ घाइते प्रहरीहरूको वीर अस्पतालमा उपचार भइरहेको छ ।
स्वरोजगार व्यवसायी संघकी माया गुरूङले नगर प्रहरीको टोलीले फुटपाथ व्यवसायीसँग धरपकड गरेको बताइन् । ‘नगर प्रहरीको ठूलो टोली आएको थियो,’ उनले भनिन्, ‘जबरजस्ती गरेपछि प्रतिकारमा उत्रिँदा लाठिचार्ज भयो र घाइते भएको हो ।’ घाइते फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको उनले जानकारी दिइन् ।