टेकुको आइसोलेसनबाट भागेका कोरोना आशंका गरिएका व्यक्ति बिराटनगरमा


२२ फाल्गुन २०७६, बिहीबार
teku aspital

काठमाडौं, २२ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेका कोरोना संक्रमित आशंका गरिएका एक बिरामी विराटनगर पुगेका छन् ।

कोरियाबाट आएका उनमा कोरोनाको आशंमापछि टेकु अस्पतालको आइसोलेसनमा राखिएको भए पनि उनी झ्यालबाट हामफेर भागेका थिए । उनले बोक्दै आएको मोबाइल ट्रयाक गर्दा विराटनगर पुगेको खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ ।

सुनसरीको इटहरी घर भएका उनी गए राति (बुधबार) साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिएका छन् ।

उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए । चेकजाँचका क्रममा अस्पतालले उनलाई भर्ना गरेपछि गए राति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी तीव्र पारिएको थियो । सम्भावित ठाउँमा उनलाई खोजी गर्दा फेला नपरेपछि प्रहरीले मोबाइल ट्रयाक गरेर उनको लोकेसन पत्ता लगाएको हो ।

उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । केही पहिले सोही अस्पतालबाट एक साउदी अरबका नागरिक पनि फरार भएका थिए । पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ ।

यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ ।
यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला पर्न सकेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइरहेको अस्पतालले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७