रुकुम घटनाका योजनाकार वडाध्यक्ष मल्ल आफै : गृह प्रतिवेदन (हेर्नुस् प्रेस विज्ञप्ती)

घटनास्थल अर्कै बताएर प्रहरीलाई समेत अन्योलमा पारिदिए


१ असार २०७७, सोमबार
griha

काठमाडौं, १ असार । ६ जनाको ज्यान जाने गरी पश्चिम रुकुममा भएको सामुहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लाको मुख्य भूमिका रहेको खुलेको छ ।

मल्लले युवतीको घरमा आएका नवराज विक र उनका साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला गर्नुका साथै प्रहरीलाई समेत गलत सूचना दिएर अलमलमा पारेको पाइएको छ । घटनाको छानविन गर्न गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वमा बनेको टोलीको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार ठहर गरिएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि वडाध्यक्ष मल्लले नै आपराधिक कार्यको नेतृत्व गरेको गृहको अनुसन्धानमा पाइएको छ ।

उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको पाइएको छ । त्यसपछि ९८४८९६९७३३ नम्बरको मोबाइलबाट उनले मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई भेला पारेको खुलेको छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा पनि फोन गरे । विवाद हुन लागेको भन्दै सूचना पनि दिए तर, स्थान भने उल्टो बताई दिए । अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘वडाध्यक्षले फोनमा ढुंगेखानीमा घटना भएको भनेर टिपाएका थिए, त्यसैले प्रहरी त्यता गयो । उनले औल जिउलामा युवाहरुलाई छेक्ने योजना बनाएका रहेछन् ।’

वडाध्यक्षले गलत सूचना दिएका कारण प्रहरी समयमा घटनास्थलमा पुग्न नसकेको अनुसन्धानमा खुलेको छ । एक अनुसन्धान अधिकृत भन्छन्, ‘गाउँलेलाई भेला गरेर धेरै टाढा पुगिसकेका पीडितलाई पिछा गरेर ढुंगामुढा प्रहार गरी नवराज विक, टीकाराम सुनार, गणेश बुढासहित ६ जनालाई हत्या गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।’

वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भएको छ ।

मैले कसैलाई कुटेको छैन : मल्ल

हाल प्रहरी नियन्त्रणमा रहेका वडाध्यक्ष मल्लले भने आफूले नै गलत सूचना पाएको प्रहरी समक्ष बयान दिएका छन् । उनले घटना भएको दिन आफू क्वारेन्टिनको अवलोकनमा रहेको दावी गर्दै भनेका छन्, ‘नगरपालिकाका स्वयमसेवकहरु पनि क्वारेन्टिन अवलोकन गर्न आएकाले उनीहरुलाई पनि केटाहरु आएको जानकारी गराइ नियन्त्रणमा लिनुपर्छ भनी म गाउँतिर गएको हो ।’

आफू गाउँमा पुग्दा केटाहरुलाई नदेखेको बताएका छन् । तर खोज्दै जाँदा घटनास्थल भएको स्थानमा एक जना कार्की थरका केटालाई प्रेमबहादुर मल्ल र डिल्ली मल्लले नियन्त्रणमा लिएको देखेको बताएका छन् । उनले भनेका छन्, ‘अरु केटाहरु म भन्दा अगाडि नदी बगरतिर गइसकेका रहेछन्, मैले कसैलाई कुटपिट गरेको छैन ।’
हेर्नुस् घटनाबारे गृह मन्त्रालयले प्रेस विज्ञप्ति

p
p1
p2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७