पाँच करोड जरिवाना नतिरी फरार क्यापिटल मर्चेन्टका संचालक खड्का पक्राउ


१५ माघ २०७४, सोमबार

काठमाडौं : बैकिङ कसूरमा फरार अभियुक्तहरु पक्राउ पर्ने क्रम जारी छ । बैंकिङ कसुर मुद्दामा ५ करोड जरिवाना तिर्नुपर्ने फैसलापछि फरार भएका क्यापिटल मर्चेन्ट फाईनान्सका संचालक विमल खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले आइतबार पक्राउ गरेको छ ।Nepal Police logo

पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ को फैसलाले खड्कालाई रु।५ करोड ७५ लाख जरिवाना र ३ बर्ष कैद हुने ठहर गरेको थियो । उक्त कैद बेरुजु रही फरार रहेका उनलाई सीआइबीले चितवनबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चितवनमा पठाइएको सीआइबीले जनाएको छ ।

२०६५ पुस ३ गते बिमल खड्काले आफू सञ्चालक भएको सात्विक डेभलपर्सको नाउँमा दर्ता रहेको काठमाडौको साङ्ला गा.वि.स. वडा नं. ९ समेतको जग्गाहरु धितो राखी रु. पाँच ५ करोड ७५ लाख कर्जा निकासा गरी आफैंले उपयोग गरेको र कर्जा दुरुपयोग गरी क्यापिटल मर्चेन्ट फाईनान्सका निपेक्षकर्ता र लगानीकर्ता समेतलाई हानी नोक्सानी पु¥याएका थिए ।

ब्यूरोले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ठगी गर्ने अरुण कुमार मराठा, नवराज खत्री, तुलसाकुमारी धमला, भाइकृष्ण खड्का र किरणकेशर नेपाललालाई यसअघि नै पक्राउ गरिसकेको छ ।

अदालतले मराठालाई ६ बर्ष कैद र रु। १३ करोड ३० लाख जरिवाना तोकेको छ । खत्रीलाई ३ बर्ष कैद र रु ६ करोड ५० लाख जरिवाना तिर्नुपर्ने फैसला गरेको छ । तुलसाकुमारी धमलालाई ३ बर्ष कैद र २ करोड २० लाख जरिवाना तोकेको छ भने भाइकृष्ण खड्का ३ बर्ष कैद र रु।३ करोड ५० लाख जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।

किरणकेशर नेपाललाई ३ बर्ष कैद र रु। ९ करोड ४१ लाख ३७ हजार जरिवाना तिर्नुपर्ने फैसला गरेको थियो । ब्यूरोले फैसला कार्यान्वयनको उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७