कमलादीमा सुन र हतियार फालेर भागेको स्कारपियो निर्माणाधीन घर कम्पाउण्डमा फेला


१५ श्रावण २०७७, बिहीबार
gold kamaladi

काठमाडौं, १५ साउन । प्रहरीले काठमाडौंको कमलादीमा आधा किलो सुनसहित १५ किलो पहेंलो धातु र दुई थान पेस्तोल फालेर भागेको भनिएको स्कार्पियो गाडी ललितपुरको नख्खीपोटमा फेला परेको छ ।

मंगलबार काठमाडौंको कमलपोखरीमा स्कर्पियो चेकजाँचका बा ६ च ५५१९ नम्बरको स्कार्पियो गाडी भागेको थियो । प्रहरीले पिछा गरेपछि कमलादीमा १५ किलो सुन जस्तै पहेंलो धातु र दुई थान पेस्तोल फालेर सो स्कर्पियो भागेको सुन अप्रेसनमा खटिएका प्रहरीको दावी छ । गाडीसँगै फरार देवानसिंह पटेल, मिदेश सकिया र सञ्जय पटेललाई प्रहरीले पूर्वीनवलपरासीबाट बिहीबार बिहान पक्राउ गरेको थियो ।

व्यक्ति पक्राउ गरे पनि गाडी भने सम्पर्कमा नआएका कारण प्रहरीले खोजी कार्य अगाडि बढाएको थियो । सोही क्रममा बिहीबार दिउँसो प्रहरीले नख्खीपोटमा गाडी फेला पारेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । नख्खीपोटस्थित एक निर्माणाधीन घरको कम्पाउन्डभित्र त्रिपालले छोपेको अवस्थामा उक्त गाडी फेला परेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

सुन अप्रेसन शंकास्पद र पेचिलो बन्दै
काठमाडौं कमलादीस्थित नविल बैंक मोडबाट गत मंगलबार काठमाडौं प्रहरीले बरामद गरेको साढे १४ किलो चाँदी, आधा किलो सुन र २ थान पेस्तोलको अनुसन्धान थप जटिल र शंकास्पद बन्दै गएको छ ।

दरबारमार्ग वृतका डीएसपी रन्जन दाहाल नेतृवत्को टोलीले गरेको सो अप्रेसनको घटनास्थल नै परिवर्तन गरिएको खुलासा भएको छ । घटनास्थल सुन्धारा भए पनि काठमाडौँ प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा क्राइम सिन परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले जानकारी दिएका छन् ।

महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिपक थापाको नेतृत्वमा छानविन समिति गठन गरेको छ । घटना अनुसन्धानको जिम्मा काठमाडौं प्रहरीबाट खोसेर अपराध महाशाखालाई दिइएको छ ।

‘सिसिटिभी फुटेज विष्लेषण गर्दा घटनास्थल परिवर्तन गरिएको देखियो,’ महानगरीय प्रहरी कार्यालयका ती अधिकृतले भने । काठमाडौं प्रहरी प्रमुख ज्ञवालीले पत्रकार सम्मेलन गरेर कमलादीस्थित नविल बैंक मोडबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरिएको बताएका थिए । तर, ज्ञवालीले दावी गरेको ठाउँमा नविल बैंक नै नभएको अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७