मुख्यमन्त्रीका दावेदार अाराेप-प्रत्याराेपमा


१९ माघ २०७४, शुक्रबार
mukhya mantri

हेटौंडा, माघ १९ : प्रदेश ३ को मुख्यमन्त्रीमा एमालेभित्र राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच मुख्य भिडन्त हुने देखिएको छ । प्रदेशसभाको पहिलो बैठकका लागि हेटौंडा पुगेका यी दुईले आफ्ना पक्षमा माहोल बनाउन सांसदहरूबीच लबिइङ तीव्र पारेका छन् । उनीहरू एकअर्काप्रति आरोप–प्रत्यारोपमा समेत उत्रिएका छन्।   आजको कान्तिपुर दैनिकमा खबर छ।mukhya mantri

एमालेबाटै रामेश्वर फुयाल र पशुपति चौलागाईं पनि मुख्यमन्त्रीका आकांक्षी छन् । तर, उनीहरूको सम्भावना कमजोर देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले पाण्डे र शाक्यमध्ये एकको नाममा सहमति जुटाउन प्रयास गरे पनि सम्भव नभएपछि प्रदेश संसदीय दललाई नेता चयन गर्ने जिम्मेवारी दिइएको छ ।

पाण्डेका अनुसार आगामी २५ या २६ गते काठमाडौंमा दलको नेता छान्न चुनाव हुनेछ । राष्ट्रिय सभा निर्वाचनमा मत हाल्न सबै सांसद राजधानी जाने भएकाले त्यहीँ नेता चुनिने उनले बताए । शाक्यले भने निर्वाचनभन्दा सर्वसम्मत गराउनमै जोड दिइरहेकी छन् । यसका लागि उनले पार्टी अध्यक्ष ओली, पूर्वप्रधानमन्त्री माधव नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालसमेतलाई दबाब दिँदै आएकी छन् ।

चुनाव भए आफू बाहिरिन सक्ने भय शाक्यमा देखिन्छ भने पाण्डे आफू नै चुनिनेमा ढुक्क छन् । यद्यपि शाक्य निर्वाचनमै गए पनि आफू पछि नहट्ने बताउँछिन् ।

यस प्रदेशमा एमालेको एकल बहुमत भएकाले सभामुख निर्वाचनलगत्तै मुख्यमन्त्री चयन हुने सम्भावना छ । एमाले सभामुखको निर्वाचनअघि नै दलको नेता चयन गर्ने पक्षमा छ । यहाँ कुल १ सय १० सांसदमध्ये एमालेका मात्रै ५८ जना छन् । बिहीबारको संसद् बैठकले सभामुख छान्न माघ २७ गतेको मिति तय गरिसकेको छ ।

मुख्यमन्त्रीका प्रतिस्पर्धी पाण्डे र शाक्य आफू वरिष्ठ रहेको भन्दै सांसद आकर्षित गर्ने प्रयासमा छन् । यी दुवै यसअघि पूर्वप्रधानमन्त्री नेपाल पक्षीय हुन् ।

पाण्डे मुख्यमन्त्री बन्न नेपाल पक्ष छाडेर संस्थापन पक्षतिर लागेका छन् । उनको यो कदमलाई शाक्यले अराजकता भनी टिप्पणी गरिन् । ‘दलको नेताका लागि अराजकता सिर्जना भएको छ,’ उनले भनिन्, ‘यो राम्रो होइन । यसले नराम्रो चलखेल सुरु हुने देखेको छु ।’ आफूले प्रदेश संयोजक भएर यस क्षेत्रमा दिनरात काम गरेको र निर्वाचनमा समेत राम्रो परिणाम आएको भन्दै उनले नेताहरूलाई यसको मूल्यांकन गर्न आग्रह गरिन् ।
पाण्डेले माओवादीसँग पार्टी एकीकरण हुनै लागेकाले अब एमालेभित्र कुनै गुट नरहेको दाबी गरे । ‘दलको नेतामा प्रतिस्पर्धा गर्नुपर्छ भन्दा यति असहिष्णु हुनेले कसरी प्रदेशको मुख्यमन्त्री चलाउन सक्छ रु’ उनले प्रश्न गरे, ‘शाक्य स्थायी समितिबाट टीका लगाउन चाहनुहुन्थ्यो । म सुरुदेखि चुनाव हुनुपर्छ भन्दै आएको छु । अब स्थायी समितिको निर्देशनअनुसारै हुन्छ । टीका लगाउने काम हुन्न ।’
दुवैले एकअर्काभन्दा पार्टीभित्र आफू नै वरिष्ठ रहेको दाबी गरेका छन् । पाण्डेले पार्टीमा ०४८ सालदेखि निरन्तर चारपटक चुनाव जित्ने नेता केपी ओली, झलनाथ खनाल र आफू मात्रै रहेको भन्दै शाक्यभन्दा अघिबाट काम गरेको दाबी गरे । पाण्डे स्थानीय विकासमन्त्री र पार्टीका प्रमुख सचेतकसमेत भइसकेका छन् । उनी संसद्मा निरन्तर कार्यव्यवस्था समितिको सदस्य थिए ।
शाक्य संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा एक–एक पटक सांसद बनेकी छन् । महिला बालबालिका तथा समाज कल्याण र उद्योगमन्त्रीसमेत भइसकेकी उनी ०२८ सालदेखि राजनीतिमा आएकी हुन् । सातवटा प्रदेशमध्ये एउटामा महिला मुख्यमन्त्री हुनुपर्ने भन्दै उनले आफ्नो पक्षमा सर्वसम्मतिका लागि प्रयास गरिरहेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७