विपीको त्यो कांग्रेस र देउवाका यी कांग्रेसी


१९ माघ २०७४, शुक्रबार
Rajesh Rai

शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनु ५ दिनअघि नेपाली कांग्रेस राजनीति इतिहासका जानकार हरि अधिकारीले लेखेका थिए, ‘शेरबहादुर देउवाका लागि मात्र होइन, सम्भवतः वयोवृद्ध प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेसका लागि पनि उनको यो सत्तारोहण अस्तित्व रक्षाको अन्तिम मौका हो ।’ देउवा २३ जेठ २०७४ मा मुलुकको ४० औं प्रधानमन्त्रीको रुपमा निर्वाचित हुँदै गर्दा धेरै कांग्रेसका शुभेच्छुकहरुले यसैगरी लेखेका थिए । चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित हुँदै गर्दा देउवालाई इतिहास सच्याउने अवसर प्राप्त भएको भन्दै देउवालाई सही बाटो हिंड्न सुल्झाएका थिए । मुखमा ‘आलो रगत’ बोकेर सिंहदरबार छिरेका देउवासँग बदनाम इतिहास सच्याउन अवसर थियो, यसपालि । ‘आलो रगत’ यस कारण भनिएको होकी, लोकमानसिंह कार्कीलाई बचाउनका लागि उनले गरेको अफसल प्रयास, प्रहरी प्रमुख छान्ने बेला उनले गरेको कर्म, प्रधानन्यायाधीशलाई महाअभियोगका लागि गरेका असफल प्रयास, नियुक्तिका काण्डहरु त्यतिबेलाका उनका ताजा कर्महरु थिए ।

Rajesh Rai

अब देउवा विदाइको अवस्थामा छन् । अब नेपाली राजनीतिमा केही अकल्पनीय घटना घटेन भने सम्भवतः केही साताभित्र उनी बिदा हुनेछन् । यो प्रश्न उठ्छ, ‘के शेरबहादुर देउवाले बदनाम इतिहास सच्याएर जाँदैछन् ?’ सबै कोणबाट यसको उत्तर बिल्कुल नकारात्मक आउँछ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका प्रेस सल्लाहकार समेत रहिसकेका बाह«खरीका सम्पादक प्रतिक प्रधानले लेखेका छन्, ‘शेरबहादुर देउवा सरकारले अन्तिम समयमा जे–जस्तो काम गर्दैछ, त्यसले नेपाली कांग्रेसलाई फेरि सरकारमा फर्कन कति व्यवधान उत्पन्न गर्छ भन्ने चेत आएको देखिएन । भ्रष्ट सर र म्याडमहरूलाई नेपाली कांग्रेसको भविष्यको कुनै चिन्ता नहुनु अस्वाभाविक पनि हैन । तर, पुस्तौं यही दलमा लागेर बिताएका नेताले समेत अहिले देखाएको ताण्डवले आउँदा चुनावमा क्रमशः भारतीय कांग्रेस बन्ने सम्भावना बढेर गयो भनेर बोल्न सकेका छैनन् ।’ आजको निष्कर्ष यही हो, ‘शेरबहादुर देउवाले आफ्नो बदनाम विगत त सच्याएनन् नै बरु कांग्रेसलाई फेरि सरकारमा फर्कन लागि व्यवधान हुने गरी काम गरिरहेका छन् ।’ शक्ति र सत्तामा छँदा राजनीतिलाई भ्रष्ट र विकृत बनाएका देउवाको यसअघिको सत्तारोहण ०५९ मा थियो । संसद् विघटन गरेर प्रजातन्त्र राजालाई बुझाएपछि सत्ताबाट हटेका थिए उनी । देउवा २३ जेठ २०७४ मा चौंथो पटक प्रधानमन्त्री बने । यसअघि राजाले अक्षम घोषणा गरेर हटाइएका देउवा अब सम्भवतः केही सातामा जनताको मनबाट हट्दै छन् ।

ती देउवा :– देउवा यसअघि तीन पटक कसरी प्रधानमन्त्री भए ? उनी प्रधानमन्त्री भएका बेला मुलुकले के–के भोग्नु पर्‍यो ? विगत असाध्यै धमिलो छ, अमिलो लाग्छ । उनको विगतलाई हेरेर भन्दा देउवा प्रधानमन्त्री हुँदै गर्दा नेपालीहरुले एउटै कामना गरेका थिए, ‘फेरि देउवाको पालामा दुर्भाग्यपूर्ण इतिहास नदोहोरियोस्, थप विकृति नजन्मियोस् ।’ देउवाले के गरेनन् ? वा उनको पालामा के भएन ? यहाँ त्यो लेख्दा निकै लामो हुन्छ । यति भन्न सकिएला, सत्ताको लागि नेपालको संसदमा किनबेचको संस्कृति उनलै भित्र्याए । केवल सत्ताका लागि कांग्रेस फुटाए । दरबारलाई प्रजातन्त्र बुझाए । सत्ताका लागि विदेशीहरुलाई हस्तक्षेपको लागि आमन्त्रण गर्ने पनि उनै हुन् ।

स्वार्थका लागि स्वातन्त्र न्यायालयमाथि आक्रमणको नेतृत्वकर्ता पनि उनै हुन् । बाहिरबाट हेर्दा शेरबहादुर देउवा विपी कोइरालाले बनाएको पार्टी नेपाली कांग्रेसको सभापति हुन् । तर, यो केवल सायरी मात्रै हो । सच्चाई यो हो, सत्ताको लागि जे पनि गर्न बिपीको पार्टीमा आएका नेता हुन् । तर, यतिका समयपछि पनि उनैै देउवा किन पार्टी प्रमुख हुन्छन्, किन प्रधानमन्त्री हुँदैछन् ? हामीकहाँको लोकतन्त्र कस्तो छ ? हामी कस्तो समाजमा बाँचिरहेका छौं, त्यो अर्को ‘डिस्कोर्स’ को बिषय होला । तर, यो आलेखमा देउवा र कांग्रेसको मात्रै चर्चा गरिएको छ ।

२५ फागुन ०७२, देउवा कांग्रेसको सभापति निर्वाचत हुँदै गर्दा उनीप्रति अवश्य पनि कार्यकर्ताहरुको धेरै अपेक्षा थियो । कोइराला विरासतको कांग्रेसमा देउवामा आउँदै गर्दा एउटा परिवारबाट कांग्रेस निस्किएको विश्लेषण हुँदै थियो । तर, यस अवधिमा जे गतिबिधि भए, जे गरिए कांग्रेसकै नेताहरुले भन्न थालेका छन्, कांग्रेस बूढानीलकण्ठ दरबारभित्र छिर्‍यो । कांग्रेसको लोकतन्त्र बूढानीलकण्ठ दरबारभित्र कैद भएर बस्न अभिशप्त छ । यी देउवा तिनै देउवा हुन् जसले गिरिजाप्रसाद कोइरालाले कांग्रेसलाई कोइरालाकरण गरेको भन्दै पार्टी फुटाए । तर, सभापति भएको बर्ष दिन बित्दा मात्रै कांग्रेसको लोकतन्त्र बूढानीलकण्ठ दरबारभित्र छिरेको निष्कर्षमा पुगेका छन्, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ।

यसबिचमा कांग्रेसका नेताहरुका अनुसार पत्नी आरजु राणाले खुलेआम दलाली गरिन् । गर्छिन् । मोलतोल तोक्छिन् । उनलाई भाइहरु भूषण राणा, प्रदीप राणा तथा प्रमोद राणाले यो मोलमोलाइमा सहयोग गरे । पार्टीभित्रको योगदान, मूल्य मान्यता र आर्दश विस्तारै मिथक बनिरहेको अनुभूति कांग्रेस कार्यकर्ताहरुले गरे । ‘ओपन सेक्रेट’ जस्तै छ । मन्त्रिको नियुक्ति, राजदूत नियुक्ति, प्रहरी महानिरीक्षक नियुक्ति, सरुवा–बढुवा यी सबैमा बूढानीलकण्ठ दरबारले गरेको सिधा हस्तक्षेपको फेहरिस्त हेर्दा जोकोही कांग्रेसीलाई सभापति देउवाको कार्यकर्ता भएकोमा हिनताबोध भएको हुनुपर्छ ।

यी देउवा :– जतिबेला दुई बामपन्थी दलहरु नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले चुनावी तालमेलको घोषणा गरे । ठिक त्यतिबेला हामीकहाँ पनि लोकतन्त्रको बहस असाध्यै भयो । अथवा उछालियो । गठबन्धन लगत्तै लोकतन्त्रमाथि गम्भिर खतरा भएको भन्दै बामपन्थी इतरका नेता मात्रै होइन लेखक, बिश्लेषक, सम्पादक र स्तम्भकारहरुले यतिधेरै आलेख लेखे, त्यो अहिले पनि आइकाइभमा हेरे हुन्छ ।

कांग्रेस लोकतन्त्रको रक्षा एजेण्डासहित जनताको बीचमा गयो । एमाले र माओवादीले जिते मुलुकमा सर्वसत्तावाद आउने औंल्याए । तर, जनताले कांग्रेसको कुरा पत्याएनन् । वाम गठबन्धनले निर्वाचनमा बहुमत पायो । हामीले भनेको लोकतन्त्र अथवा संविधान अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाऊ सरकारमा सीमित भयो । लोकतन्त्रको सबैभन्दा ठूलो सौन्दर्य नै बहुसंख्यक जनताद्धारा छानिएका प्रतिनिधिहरुको सम्मति अनुसार शासन व्यवस्था चलाउनु हो । लोकतन्त्र रक्षाको एजेण्डा लिएर चुनावमा गएका कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि जे गरिरहेका छन्, त्यो लोकतन्त्रको मूल्य–मान्यता र आर्दशसँग विलकुल मेल खाँदैन । लोकतान्त्रिक मूल्य–मान्यता र आर्दशको धज्जी उडाइएको छ ।

जनताले अस्वीकृत गरेपछि शेरबहादुरले जनताद्धारा अनुमोदितहरुलाई कुर्सी हस्तान्तरणका लागि सहज बनाउनु पथ्र्यो । संविधानको आफू अनुकूल व्याख्या गरेर कुर्सी त छाडेनन् नै । अहिले सरकारमा बसेर जे गरिरहेका छन्, के यसले लोकतन्त्रको रक्षा गरिरहेको छ ? पछिल्लो समयमा देउवा सरकारले गरेका निर्णयहरु छताछुल्ल छ । केवल आफ्नो तुच्छ स्वार्थका निम्ति देशको सुरक्षा, अर्थतन्त्र र संरचनालाई समेत दीर्घकालसम्म असर गर्ने गरी धमाधम निर्णय गरिरहेका छन् । आफू अनुकूलकालाई राज्यकोषबाट पैसा खर्च गर्ने र धमाधम नियुक्ति दिइरहेका छन् । देउवाले के गरे ? के गरेनन् ? यो निकै लामो फेहरिस्त छ । निष्कर्ष यति हो, उनका कुनै पनि काम लोकतन्त्रको मूल्य–मान्यता र आर्दशसँग मेल खाँदैनन् ।’ देउवाले यस्ता काम गरिरहेका छन्, जो प्रश्नका लागि पनि लायक छैनन् । वास्तवमा यो सबै संस्कारविहीन र लज्जाविहीन राजनीति हो ।

खोई कांग्रेस ?
गगन थापाको भाषामा ‘कांग्रेस र कांग्रेसी’ एउटै होइन । म उनको परिभाषाप्रति सहमत छु । ‘कांग्रेस’ कांग्रेस एउटा विचार, सिद्धान्त र पहिचान हो । तर, कांग्रेसी पार्टीको तत्कालीन नेतृत्व निर्णय र अनुशासनले बाँधिएकाहरु ‘कांग्रेसी’ हुन् । कांग्रेसको इतिहास निकै लामो छ । कांग्रेसीहरु भन्छन्, ‘राणाको निरंकुशताविरुद्ध लड्यौँ, पञ्चायतविरुद्ध भिड्यौँ । राजाको निरंकुशताविरुद्ध लड्यौं ।’ विपी, गणेशमान, कृष्णप्रसाद भट्टराईलाई सम्झेर कांग्रेसीहरु गर्व गर्छन् । हो !  परिर्वतनका आन्दोलनहरुमा कांग्रेसको योगदान छ । इतिहासका अनेक कालखण्डमा कांग्रेसलाई नेपाली जनताले अवसर दिएकै हुन् । ती नेताहरु इतिहासमा श्रद्धेय छन् । त्यही इतिहासको विरासत बोकेर कांग्रेस आज यहाँ छ ।

शेरबहादुर देउवाले आज जे गरिरहेका छन्, त्यो नयाँ होइन । तर, विपी, गणेशमान, कृष्णप्रसाद भट्टराईका विरासत बोकेका कांग्रेसहरुले समेत किन आज देउवामाथि प्रश्न उठाइरहेका छैनन् ? त्यो चाहिं आजको प्रश्न हो । लोकतान्त्रिक मूल्य, मान्यता र कानुनी राज्य कांग्रेसको आर्दश हो । तर, कांग्रेसले यो भुलिरहेको बेला कांग्रेस कहाँ छ ? नेपाली कांग्रेस एउटा मूल्य, मान्यता र आर्दशको राजनीति गरेको पार्टी थियो । तर, अहिले कहाँ गयो त्यो मूल्य–मान्यता र आर्दश ? कांग्रेसी कार्यकर्ताहरुले समेत सोधीरहेका छन्, कस्को कांग्रेस, कस्तो कांग्रेस ? कांग्रेसलाई बचाउन कार्यकर्ताहरुले देउवालाई यो प्रश्न सोध्न अबेर भइसक्याे । तर, सोध्ने हिम्मत समेत गरीरहेका छैनन् । निर्वाचनपछि यो बहसमा उत्रिएका विश्वप्रकाश शर्माहरु पनि पद पाएपछि ‘देउवा महान्’ भन्ने कित्तामा करिब करिब पुगेका छन् । कांग्रेसका लागि विश्वप्रकाश जस्ता कांग्रेसीहरुको त्यो कित्तामा पुग्नु कम्तै वियोगको कुरो हो र ?

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज जे गरिरहेका छन्, त्यो कांग्रेस भन्दै आएको लोकतान्त्रिक मूल्य, मान्यता र आर्दशसँग मेल खाँदैन । आज देउवाले जे कदम उठाइरहेका छन्, देउवाको विगतसँग तुलना गर्दा त्यो अनपेक्षित होइन । तर, देउवाले कांग्रेसको आर्दश विपरीत जे गरिरहेका छन्, कांग्रेसीहरुले किन प्रश्न उठाएका छैनन् । त्यो चाहिं नयाँ हो । के कांग्रेस सकिएर कांग्रेसी मात्रै बाँकी रहेको हो ?

लेखकलाई पछ्याउनुहोस्
twitter.com/Rajsh55

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७