१३ प्रहरीसहित धनकुटामा १९ जनामा कोरोना संक्रमण


१३ भाद्र २०७७, शनिबार
korona

धनकुटा, १३ भदौं । धनकुटामा १३ जना प्रहरीसहित १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनकुटाबाट ९५ जनाको पिसिआर परीक्षणका लागि पठाएकोमा ४५ जनाको रिपोर्ट आएको छ । जसमध्ये १३ जना प्रहरी र अन्य ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईंले जानकारी दिए ।

संक्रमण देखिएका सबै पुरुष प्रहरी जवान हुन् । उनीहरू एक महिनाको अवधिमा विभिन्न स्थानबाट सरुवा भएर धनकुटा आएका थिए । उनीहरू अहिले क्वारेन्टिनमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।

कोरोना पोजेटिभ देखिएका अन्यमा चारजना नेपाल टेलिकम धनकुटाका कर्मचारीहरू, एक जना बैंकका कर्मचारी र एक जना व्यापारी हुन् । योसहित धनकुटामा कोरोना संक्रमितको संख्या ३९ जना पुगेको छ भने १७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७