कोरोनाबाट बाबुको मृत्यु भएपछि कुरुवा बसेको छोरा बेपत्ता, चार दिनपछि प्रशासनले उठायो शव


१३ भाद्र २०७७, शनिबार
korona death 2

विराटनगर, १३ भदौं । कोरोना संक्रमणबाट विराटनगरको निजी अस्पतालमा मृत्यु भएका एक पुरुषको शव आज (शनिबार) चार दिनपछि प्रशासनले उठाएको छ ।

विराटनगरको न्यूरो अस्पतालमा मंगलबार मृत्यु भएका ६१ वर्षीय पुरुषको शव आज शव गृहबाट लगिएको हो । उनको मृत्युपछि परिवारका सदस्य सम्पर्कमा नरहेको र प्रशासनसँग समन्वय नगरेपछि चार दिनपछि शव उठेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालका निर्देशक ई. रञ्जितराज बस्नेतले मृतकका छोरो कुरुवा बसेको र बुबाको मृत्युपछि उनी पनि बेपत्ता भएपछि आफूहरुले नै शव गृहमा शव व्यवस्थापन गरेको जानकारी दिएका छन् ।

महोत्तरीको ती मृतकको शव लिन प्रशासनले समेत चासो नदिएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला आफैंले एम्बुलेन्सको व्यवस्थापन गरी आज त्यसतर्फ पठाई दिएका हुन् ।

शव न्यूरो अस्पतालकै कोभिड–१९ मेनेजमेन्ट एण्ड रेस्पोन्स टिमका सदस्यले राखेका हुन् । प्राटोकलअनुसार नेपाली सेनाले शव उठाउँछ । प्रजिअ निरौलाका अनुसार महोत्तरीमै सदगत गर्ने गरी शव पठाइएको हो ।

अस्पतालले ती पुरुषको उपचारमा लागेको दुई लाख २५ हजार र फार्मेसीतर्फको ७० हजार खर्च समेत छुट गरिदिएको जनाएको छ । गत साउन ३१ गते उनलाई अस्पताल भर्ना गरिएको थियो । उनका टाउकाको नसा सुकेर लकुवा लागेको थियो । पछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७