विजय राम मृत्यु प्रकरण : हजारौं प्रदर्शनकारीद्वारा प्रहरी कार्यालय घेराउ


१३ भाद्र २०७७, शनिबार
gaur

गौर, १३ भदौं । रौतहटमा प्रहरी हिरासतमा रहेका एक दलित युवकको मृत्यु भएपछि स्थानीयले शुरु गरेको आन्दोलनले थप विशाल रुप लिएको छ ।

प्रहरीको ज्यादती बढेको भन्दै बिहीबार हजारौंको संख्यामा सडकमा उत्रिएका स्थानीयले शुक्रबार पनि इलाका प्रहरी कार्यालय गरुडा घेराउ गरेका छन । इलाका प्रहरी कार्यालय गरुडाको तत्कालीन नायब प्रहरी उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोसहित दोषी प्रहरीलाई गिरफ्तार गर्न र रौतहटका प्रहरी उपरीक्षक (एसपी) रविराज खड्कालाई निलम्बन गरी कारवाही अगाडि बढाउनुपर्ने उनीहरुको माग छ ।

हत्या गरिएको निरन्जन राम र हिरासतमा मारिएका विजय रामलाई शहीद घोषणा गरी मृतक परिवारलाई क्षतिपूर्ति एवं निरन्जन रामको हत्याका वास्तविक हत्यारालाई कडा कार्यवाहीको प्रदर्शनकारीको माग छ ।

आर्थिक चलखेल गरेर प्रहरीले निर्दोष रहेका विजय रामलाई पक्राउ गरेर हिरासतमा यातना दिएर मारेको भन्दै डिएसपीलाई गिरफ्तार नगरे आन्दोलन थप चर्काउने उनीहरूले चेतावनी दिएका छन् ।

गत श्रावण ३२ गते गरुडा नगरपालिका–८, जिंगडियाको निरन्जन रामको हत्या गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको थियो । जसमध्ये एक विजय रामलाई पक्राउ गरेकै दिनदेखि निरन्तर यातना दिंदा अस्वस्थ भएपछि बीरगञ्जस्थित नेशनल मेडिकल कलेज उपचारका लागि पठाइएको थियो । उपचाररत विजय रामको शरीरमा अत्यधिक चोट पटक लागेकाले मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७