बुटवलमा निषेधित क्षेत्रमै प्रदर्शन, कांग्रेसले गर्‍यो रुपन्देही बन्द


१८ आश्विन २०७७, आईतवार
120412245 363108598147242 7021156010781674489 n

बुटवल, १८ असोज । प्रदेश-५ राजधानी दाङको भालुवाङ (राप्ति उपत्यका क्षेत्र) सार्ने प्रस्तावको विरोधमा बुटवलमा दुई दर्जन व्यवसायिक संस्थाहरुले निषेधित क्षेत्रमै संयुक्त रुपमा प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी चार दिनका लागि निषेधित क्षेत्र घोषणा गरेको ठाउँमै प्रदर्शन उनीहरुले प्रदर्शन गरेका छन् । रुपन्देहीलाई राजधानी कायम गर्न माग गर्दै भएको प्रदर्शनमा उद्योगी, व्यवसायी र सर्वसाधारणले विरोध प्रदर्शन गरेका हुन् ।

बुटवल राजमार्ग चौराहाबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले रुपन्देहीमा प्रदेश सरकारका पूर्वाधारका लागि भएको करोडौं लगानी खेर जानेगरी कोरोना महामारीको असहज परिस्थितिको मौका छोपेर मुख्यमन्त्री शंकर पोखरेलको स्वार्थमा राजधानी दाङ सार्ने प्रयास भएको भन्दै आन्दोलन चर्काउने चेतावनी दिए ।

पर्याप्त पूर्वाधार बनिसकेकाले रुपन्देही नै प्रदेश राजधानी उपयुक्त रहेको भन्दै सांसंदहरुलाई प्रस्तावको विपक्षमा मतदान गर्न उनीहरुले आग्रह गरेका छन् ।

कोणसभामा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, नेपाल उद्योग परिसंघका प्रदेश ५ अध्यक्ष एजाज आलम, रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष माधव पौडेल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष समुन्द्र जिसी, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी लगायतले प्रदेश सभा र प्रदेश सरकारलाई रुपन्देहीका व्यवसायिक संस्थाहरुले आफ्ना कार्यालय भवन दिएर सहयोग गरेको तर सरकारले जनभावना विपरीत अघि आरोप लगाए ।

व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा सोमबार प्रदेश पाँचमा पर्ने साविक लुम्बिनी अञ्चलका ६ जिल्ला बन्दको आहृवान गरेको छ । व्यवसायीले संयुक्त संघर्ष समिति बनाएर प्रदर्शन गरेका हुन् ।

प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी राख्न प्रदेश सभामा शुक्रबार प्रस्ताव पेस गरेपछि उद्योगी व्यवसायी र रुपन्देही कांग्रेस आन्दोलित भएको हो । बन्दका कारण गाडीहरु चलेका छैनन् भने पसलहरु पनि खुलेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७