‘कोरोनाबाट विदेशमा २६६ नेपालीको मृत्यु, ९२ प्रतिशत कोरोनामुक्त’


१८ आश्विन २०७७, आईतवार
korona

काठमाडौं, १८ असोज । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त भएका छन् ।

सङ्अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिार साँझसम्म ३९ हजार ५२८ नेपाली कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यस साता दक्षिण अफ्रिकामा रहेका एक नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना सङ्क्रमणका कारण विदेशमा हालसम्म १८ देशका २६६ नेपालीको ज्यान गएको छ ।

यस साता स्पेन, भारत, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको एनआरएन कोभिड -१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।

यस्तै नेपालमा मात्र ८४ हजार ५७० जना कोरोना भाइरसबाट सङ्क्रमित तथा ६२ हजार ७४० जना कोरोनामुक्त भएका छन् । यो कुल सङ्क्रमितको ७४ दशमलव २ प्रतिशत हो । हालसम्म नेपालमा ५२८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये एक लाख २४ हजार ९८ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये ९८ हजार ६५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।

सङ्घको स्वास्थ्य समितिले सार्वजनिकस्थलमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको जनाएको छ । डा. सापकोटाले कोरोना सङ्क्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नाको अर्को विकल्प नभएको हुँदा सबैलाई मास्क प्रयोग गर्न र हात धुन आग्रह गरेका छन् । उनले कोरोना सङ्क्रमणको आशङ्का लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७