कांग्रेसका पाँच केन्द्रीय सदस्यसहित १७ जनालाई कोरोना, केन्द्रीय कार्य समितिको बैठक नै स्थगित


१८ आश्विन २०७७, आईतवार
congress 1

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसका थप तीन केन्द्रीय सदस्यमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएका तीनसहित पाँच केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएको नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पाँच केन्द्रीय सदस्यसहित १७ जनालाई संक्रमण पुष्टि भएको हो । शनिबार अर्जुननरसिंह केसी, गगन थापा, कल्पना चौधरी र शम्भुलाल श्रेष्ठको रिपोर्ट पोजेटिभ आएको थियो । जंगीलाल रायलाई पनि संक्रमण पुष्टि भएको छ । यस्तै बाहिर स्वाब दिएकामध्ये रमेश रिजाललाई पनि संक्रमण पुष्टि भएको छ ।

पाँच केन्द्रीय सदस्यसहित ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ ।

१४औं महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेसले भोलि सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । बैठकका लागि केन्द्रीय सदस्यहरुको पीसीआर टेष्ट गरिएको थियो ।

योसँगै कांग्रेसले पार्टी कार्यालय ५ दिनका लागि बन्द गरेको छ भने सोमबार बोलाइएको बैठक स्थगित गरेको छ । २५ गते अपराहृन २ बैठक तोकिएको प्रवक्ता शर्माले बताए ।

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेसले केन्द्रीय कार्यालय पनि आज आइतबारदेखि २२ गतेसम्मका लागि बन्द गरेको छ । आज आइतबार बस्ने भनिएको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक पनि स्थगित भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७