४४ जिल्ला कोरोना संक्रमणको रेडजोनमा

प्रदेश–१ का तीन, प्रदेश–२ का सबै आठ, बागमतीका सात, गण्डकीका सात, लुम्बिनीका १०, कर्णालीका तीन र सुदूरपश्चिमका सात जिल्ला रेड जोनमा


२५ आश्विन २०७७, आईतवार
corona2020 10 03 06 57 38 1

काठमाडौं, २५ असोज । शनिबार अहिलेसम्मकै सबैभन्दा बढी अर्थात् पाँच हजार आठ जनामा कोरोना संक्रमण पुष्टि भयो । योसँगै देशभर कोरोना संक्रमितको संख्या एक लाख पाँच हजार ६८४ पुगेको छ । यसमध्ये आधा संक्रमित रेड जोनमा रहेका जिल्लाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार सयभन्दा बढी संक्रमित रहेका जिल्लालाई रेड जोनका रूपमा छुट्याएको छ । यसरी हेर्दा ४४ जिल्ला रेड जोनमा छन् । यी जिल्लामा मात्रै २४ असोजसम्म संक्रमितको संख्या ६१ हजार ५६ पुगेको छ । तर, तीमध्ये धेरैलाई भने निको भइसकेको छ ।

प्रदेशगत हिसाबले धेरै संक्रमित हुनेमा पहिलो बागमती, दोस्रोमा प्रदेश २, तेस्रोमा लुम्बिनी, चौथोमा प्रदेश १, पाँचौँमा सुदूरपश्चिम, छैटौँमा गण्डकी र सातौँमा कर्णाली प्रदेश छ । प्रदेश १ का १४ जिल्लामध्ये तीन जिल्ला रेड जोनमा छन् ।

यी तीन जिल्लामा शनिबारसम्म संक्रमितको संख्या नौ हजार एक सय ७७ छ । प्रदेश २ का आठवटै जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या १६ हजार एक सय १८ पुगेको छ ।

बागमती प्रदेशका १३ मध्ये सात जिल्ला रेड जोनमा छन् । यी जिल्लामा ४३ हजार सात सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी, गण्डकी प्रदेशका ११ मध्ये सात जिल्ला रेड जोनमा छन्, जहाँ शनिबारसम्म संक्रमितको संख्या चार हजार नौ सय चार छ । गण्डकी प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङमा अहिले सक्रिय संक्रमित छैनन् ।

लुम्बिनी प्रदेशका १२ मध्ये रेड जोनमा रहेका १० जिल्लामा शनिबारसम्म १२ हजार आठ सय १५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा १० मध्ये तीन जिल्ला मात्रै रेड जोनमा छन् । ती जिल्लामा तीन हजार चार सय ९५ जनामा संक्रमण देखिएको छ । यसबाहेक नौमध्ये सात जिल्ला रेड जोनमा रहेको सुदूरपश्चिममा शनिबारसम्म सात हजार ६ सय २३ जनामा संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार संक्रमित एक लाख पाँच हजार ६ सय ८४ मध्ये अहिलेसम्म ७४ हजार दुई सय ५२ जनालाई निको भइसकेको छ । अहिले देशभर ३० हजार आठ सय १८ सक्रिय संक्रमित छन् । तीमध्ये तीन सय १८ जना संक्रमित आइसियूमा र ७५ जना भेन्टिलेटरमा छन् । अहिलेसम्म कोरोनाबाट ६ सय १४ जनाको ज्यान गएको छ ।

उपत्यकामा एकै दिन २६ सय ७२ मा कोरोना
कोरोना भाइरसको संक्रमण देशका अन्य जिल्लाको भन्दा काठमाडौं उपत्यकामा तीव्र देखिएको छ । शनिबार दुई हजार ६ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मको सर्वाधिक संख्या हो ।

शनिबार भेटिएका संक्रमितमध्ये काठमाडौंमा दुई हजार एक सय, ललितपुरमा तीन सय ६९ र भक्तपुरमा दुई सय तीनजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौंमा संक्रमितको संख्या ३२ हजार पाँच सय ६१ पुगेको छ । त्यस्तै, ललितपुरमा चार हजार चार सय ८८ र भक्तपुरमा तीन हजार तीन सय २४ पुगेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७