सातामा १४ अर्बको कारोबार, बुलिस प्रवृत्ति कमजोर बन्दै


२५ आश्विन २०७७, आईतवार
Nepal Stock

काठमाडौं, २५ असोज । गत साता सेयर बजारसूचक नेप्से परिसूचक १८ अंकले बढे पनि बुलिस (बढ्दो) प्रवृत्ति कमजोर बनिरहेको छ ।

सातामा कारोबार रकम पनि करिब २८ प्रतिशतले बढेर १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बजारमा रहेका सेयरहरूको सम्पत्ति (कुल बजार पुँजीकरण) २१ खर्ब १८ अर्ब रुपैयाँ भएको छ ।

एक वर्षको अन्तरालमा नेप्से दोस्रो पटक बजार बन्द हुँदा कायम बिन्दुका आधारमा १ हजार ६ सय बिन्दुमा आइपुगेको छ । नेप्सेले १ हजार ६ सय २० को प्रतिरोध सामना गरिरहेको छ । यो बलियो प्रतिरोध साबित भइरहेको छ ।
एक साताको उच्च, न्यून र बन्द बिन्दुका आधारमा निकालिएको पिभट विश्लेषणले आगामी साता नेप्से बढेमा १ हजार ६ सय ३ मा प्रतिरोध र घटेमा १ हजार ५ सय ७३ मा पहिलो टेवा पाउनेछ ।

नेप्सेको मैनबत्ती चित्रमा इंगल्फिङ बियरिस आकृति बनाएको छ । अन्तिम २ दिनमा पहिलो दिन सेतो र अन्तिम दिन कालो मैनबत्ती बनेको छ । सेतो मैनबत्तीको पूरै शरीर ढाकेर कालो मैनबत्ती बनेको हो । यसले बजार बियरिस प्रवृत्तिमा जाने संकेत गर्छ । यो मध्यम संकेत हो ।

बुलिस प्रवृत्तिमा धक्का लागेको र बियरिस प्रवृत्तिले बल पाइरहेको यसले जनाउँछ । आइतबारसमेत बजार सुरु हुँदाको तुलनामा घटेर केही तल कालो मैनबत्ती बनेमा थ्री आउटसाइड बियरिस प्रवृत्ति बन्नेछ । यसले भने केही दिन बजार घट्ने सुनिश्चित गर्नेछ ।

सातामा जलविद्युत् समूहले सबैभन्दा धेरै ८ दशमलव ५४ प्रतिशत अर्थात् १ सय १० अंक वृद्धि भएको छ । साताको अन्तिम दिन वित्त कम्पनीमा उछाल देखिए पनि समग्रमा यो क्षेत्र ७ प्रतिशतले बढेको छ । सातामा जीवन बिमा, निर्जीवन बिमा, लघुवित्त र सामूहिक लगानी कोषको समूहगत परिसूचक मात्रै बढेको छ ।

जलविद्युत् कम्पनीको मूल्यलाई लिएर लगानीकर्ता विभाजित हुन थालेका छन् । यी कम्पनीको वृद्धिमा यही कारण पनि ब्रेक लागेको छ । अन्तिम दिन यो समूहगत परिसूचक घटेको हो ।

अधिकांश कम्पनी सञ्चित नोक्सानमै रहेको र तुलनात्मक रूपमा ठूला मानिने वाणिज्य बैंकहरूको मूल्य हाराहारी पुगेकाले पनि थप मूल्य बढेर लगानी गर्न नचाहने लगानीकर्ताको संख्या बढिरहेको छ ।

यद्यपि, यो क्षेत्रमा लगानी भने घटिसकेको छैन । अन्तिम दिन समेत बजारमा जलविद्युत् कम्पनीहरूको ९२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७