कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?


१४ कार्तिक २०७७, शुक्रबार
teku hospital scaled

काठमाडौं, १४ कार्तिक । देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन् । तैपनि अस्पतालहरूले संक्रमितलाई ‘बेड खाली छैन’ भन्दै फिर्ता पठाइरहेका छन् । जनस्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहँदा स्वास्थ्य मन्त्रालय भने मूकदर्शक छ ।

अस्पतालहरूले कोभिड संक्रमितका लागि छुट्याएका बेडको दैनिक अपडेट स्वास्थ्य मन्त्रालयलाई बुझाउँछन् । जसमा प्रायः आधाजति बेड खाली देखिन्छन् । फेरि पनि बिरामीलाई किन फिर्ता पठाइन्छ त ? व्यवस्थापन, अनुगमन र कारबाहीको जिम्मेवारी बोकेको स्वास्थ्य मन्त्रालय उल्टै लाचारी प्रकट गर्छ ।

‘अस्पतालहरूले मन्त्रालयलाई बुझाएको दैनिक रिपोर्ट हेर्दा बिरामीभन्दा केही संख्यामा बेड खाली देखिन्छन् । प्रभावकारी सफ्टवेयरको व्यवस्था नहुँदा अस्पतालहरूले बेडसंख्या लुकाउने गरेका पनि हुन सक्छन्,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘मन्त्रालयले अस्पतालहरूको अनुगमन गर्न नसक्दा यस्तो समस्या आएको हो ।’

स्वास्थ्य मन्त्रालयबाट प्राप्त बिहीबारसम्मको तथ्यांकअनुसार काठमाडौंमा कोभिड उपचार हुनेमध्ये दुईवटामा मात्रै क्षमताअनुसार चाप छ । टेकु अस्पतालका ५८ बेडमध्ये ५१ मा बिरामी छन् । त्यस्तै, स्टार अस्पतालका २१ बेडमध्ये सबै बेडमा बिरामी छन् ।

बाँकी सबै अस्पतालमा प्रशस्त मात्रामा बेड खाली छन् । शिक्षण अस्पतालमा १३२ बेडमध्ये १०२ मा, वीर अस्पतालमा ४६० मध्ये जम्मा १०१ मा र सशस्त्र प्रहरी अस्पतालमा २०० मध्ये १११ मा संक्रमितको उपचार भइरहेको छ ।

आर्मी अस्पतालमा कोभिड उपचारका लागि १०० बेड छन्, तर जम्मा ४६ बिरामी भर्ना भएका छन् । नेपाल प्रहरी अस्पतालमा कोभिड उपचारका लागि ४१४ बेड रहेकोमा जम्मा १५५ संक्रमितको उपचार भइरहेको छ ।

धुलिखेल अस्पतालमा १०० मध्ये ४९ बेड खाली छन् । ग्रान्डी अस्पतालमा ५० मध्ये २४, ह्याम्स अस्पतालका ७० मध्ये ५५ र मेघा अस्पतालमा १०० मध्ये २० बेडमा मात्रै संक्रमितको उपचार भइरहेको छ । यसरी कोभिड उपचार हुनेमध्ये राजधानीका १२ अस्पतालमा १९ सय ५५ आइसोलेसन बेड छन् । आधाभन्दा धेरै अर्थात् एक हजार ६९ बेड अहिले पनि खाली छन्, तर बिरामीले भर्ना पाएका छैनन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार देशभरका स्वास्थ्य संस्थामा २० हजार १७८ वटा आइसोलेसन बेड छन् । बिहीबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ पुग्दा ३१ हजार आठ सय ९८ संक्रमित अस्पतालबाहिरै रहेको सरकारी तथ्यांकले देखाउँछ । जम्मा सात हजार ५४ मात्रै स्वास्थ्य संस्थाको बेडमा छन् । यसरी देशभर १३ हजार १२४ आइसोलेसन बेड खाली छन् । तर, आपत पर्दा बिरामीले उपचार पाएका छैनन् ।

तथ्यांकमा बेड खाली देखिने, तर संक्रमितले भर्ना नपाउने विषयमा स्वास्थ्य मन्त्रालयले पटक–पटक छलफल गरेको प्रवक्ता गौतमले बताए । ‘पछिल्लो पटक सबै अस्पतालका निर्देशकहरूलाई बोलाएर समेत निर्देशन दिइएको हो । उनीहरूले अस्पतालमा कर्मचारी अभाव, व्यवस्थापनमा समस्याजस्ता बहाना देखाएर पन्छिने गरेका छन् । जसले गर्दा समस्या अझै उस्तै छ,’ उनले भने । क्षमताअनुसार बिरामी भर्ना नगर्ने अस्पतालमाथि मन्त्रालयले कारबाही समेत गर्न नसकेको प्रवक्ता गौतमको भनाइ छ ।

चिकित्सकहरूका अनुसार दैनिक संक्रमितको संख्या बढ्न थालेपछि आइसियू र भेन्टिलेटरको माग पनि बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको उपचारका लागि देशभर नौ सय ५९ आइसियू र चार सय १५ भेन्टिलेटर छन् । बिहीबार तीन सय चार जना आइसियू र ७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

विशेषगरी उपत्यकामा आइसियू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने संक्रमितको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकाका अस्पतालमा दुई सय ४१ आइसियू र एक सय सातवटा भेन्टिलेटरको क्षमता छ । सरकारी अस्पतालमा एक सय २४ र निजीमा एक सय १७ आइसियू छन् । अस्पतालहरूले आइसियू र भेन्टिलेटरमा चाप धेरै रहेकाले बिरामीले चाहने बित्तिकै भर्ना सम्भव नहुने बताइरहेका छन् ।

काठमाडौंको सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रशासन प्रमुख रूपनारायण खतिवडाले सबै बेड भरिएको दाबी गरे । तर, स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा भने सातवटा आइसोलेसन बेड र एक भेन्टिलेटर खाली रहेको उल्लेख छ ।

त्यस्तै, शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले अहिले सबै बेड भरिएको बताए । तर, अस्पतालले स्वास्थ्य मन्त्रालयलाई बिहीबार अपडेट गराएको तथ्यांकमा भने ३० आइसोलेसन बेड र एक भेन्टिलेटर खाली रहेको उल्लेख छ ।

‘हामीले मन्त्रालयलाई तथ्यांक पठाउँदा शंकास्पदको संख्या समावेश नगरेका कारण बेड खाली देखिएका हुन् । कोभिड आशंका गरिएका र पुष्टि भएका केसहरूसमेत रिपोर्ट नआउँदासम्म राखेका कारण बेड भरिएका छन्,’ उनले भने ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्यका अनुसार बिहीबार आइसियूका १५ बेडमा बिरामी छन् । तीनवटा बेड संक्रमितको नियमित डायलाइसिसका लागि राखिएको छ । आइसोलेसनका बेड भने खाली रहेकाले सामान्य अवस्थाका संक्रमितलाई सजिलै भर्ना गर्न सकिने डा. शाक्यले बताए ।

वीर अस्पतालमा भने बिहीबार साँझसम्म दुईवटा आइसियू बेड खाली छन् । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले आइसियू पाउन निकै कठिन भएको बताए । ‘अचेल आइसियू–भेन्टिलेटर एक मिनेट पनि खाली हुँदैनन् । आइसियूबाहेकका बिरामी भने सजिलै भर्ना गर्न सकिन्छ,’ उनले भने । स्वास्थ्य मन्त्रालयले वीरलाई हालै मात्र कोभिड अस्पतालका रूपमा सूचीकृत गरेकाले धेरै संक्रमित भर्ना भएका छैनन् ।

Covid.jpg .2020 10 30

ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माले अस्पताल कोभिड मात्रै नभएर अन्य सबै बेड समेत बिरामीले भरिएको बताए । ‘बिरामी आएपछि मानवताको नाताले पनि उपचार गर्नुपर्छ, जसले गर्दा अस्पतालमा बेड खाली छैनन् । हामी आफैँले पनि बेड नपाउने अवस्था आएको छ,’ उनले भने ।

पछिल्लो २४ घन्टामा नौ हजार सात सय ६९ नमुना परीक्षण गर्दा दुई हजार तीन सय ६४ जनामा संक्रमण देखिएको छ । यो अवधिमा १७ संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, तीन हजार ३८ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म संक्रमण देखिएका एक लाख ६४ हजार सात १८ जनामध्ये एक लाख २४ हजार आठ सय ६२ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७