भारतोलनमा नेपाललाई तीन स्वर्ण र एक रजत पदक


२४ मंसिर २०७७, बुधबार
272df7412fc2cca85cda0f20fcbaa50a w1000 h500 cp

कास्की, २४ मंसिर । वर्ल्ड पावर लिफ्टिङ (भारतोलन) च्याम्पियनसीप पुरुष तथा महिला–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ ।

वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन तथा एमेच्योर पावर लिफ्टिङ फेडेरेशन इन्डियाको आयोजनामा भारतको अमरावतीमा यही डिसेम्बर ५ देखि ८ सम्म भएको २१औं संस्करणको प्रतियोगितामा सिनियरतर्फ नेपालका हसन गुरुङले ८२.५ केजीमा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यसैगरी जुनियरतर्फ आशिष आलेमगरले ११० केजीमा र श्रुति कार्कीले ५६ केजीमा स्वर्ण पदक जित्न सफल भएको एशियन पावर लिफ्टिङ फेडेरेशनका उपाध्यक्ष एवं नेपाली टोलीका प्रशिक्षक जीवन गिरीले जानकारी दिए ।

सिनियरतर्फ १०० केजीमा नेपालका राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा नेपालबाट पाँच खेलाडी र दुई अफिसियल सहभागी भएका थिए । सहभागी पाँच खेलाडीमा चार पोखराका र एक महिला सुर्खेतको हुन् ।

प्रतियोगितामा सहभागी हुन जानुअघि नेपाल पावर लिफ्टिङ एशोसिएशनले पोखरामा पत्रकार सम्मेलन आयोजना गरेर कोरोना कहरका कारण विगत लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएको अवस्थामा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको जनाएको थियो । एशोसिएशनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७